गौतम दाहाल
वासिंगटन डिसी । अमेरिकी राष्ट्रपति बाराक ओबामालाई नेपाल भ्रमणमा जानका लागि अमेरिकाको नेपाली समुदायका तर्फबाट लविङ्ग सुरु भएको छ। राष्ट्रपति ओबामा जनवरी २६ तारिख भारतको गणतन्त्र दिवसमा प्रमुख अतिथिको रुपमा सहभागी हुन जनवरी तेश्रो साता भारत भ्रमणमा जाँदैछन् ।
सोही क्रममा नेपालको पनि भ्रमण गर्न ओबामालाई आग्रह गर्ने उद्देश्यले अमेरिकाका नेपाली समुदायले यस्तो लविङ्ग सुरु गरेका हुन् ।
अमेरिकामा रहेका नेपाली समुदायका तर्फबाट एक प्रतिनिधि मण्डलले त्यसका लागि अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया हेर्ने विभागका अधिकारीहरुसँग विदेश मन्त्रालयमा भेटवार्ता गरेका छन् ।
भेटवार्ताका क्रममा प्रतिनिधि मण्डलका सहभागी नेपालीहरुले राष्ट्रपति ओबामाको नेपाल भ्रमणका लागि वातावरण निर्माण गरिदिन आग्रह गरेका थिए । नेपाली मूलका डेमोक्र्याटिक पार्टीका नेता एवम भर्जिनियाको लाउडन काउन्टी डेमोक्र्याटिक कमिटीका अध्यक्ष हरि शर्माको विशेष पहलमा यस्तो भेटघाट भएको हो ।
ह्वाइट हाउसमा समेत राम्रो सम्पर्क भएका शर्मासहित नेपाली जनसम्पर्क समिति, अमेरिकाका तर्फबाट अध्यक्ष आनन्द विष्ट, एनआरएन अमेरिकाका तर्फबाट अध्यक्ष खगेन्द्र जीसी र वरिष्ठ उपाध्यक्ष लोक तिवारी, नेपाल अमेरिका पत्रकार संघका तर्फबाट अध्यक्ष गौतम दाहाल र नेपाली अनलाईन न्यूज पोर्टल ग्लोब नेपाल डट कमका डाइरेक्टर भरत बराइली सहभागी थिए । 
६ सदस्यीय प्रतिनिधि मण्डलले विदेश मन्त्रालयमा कार्यवाहक निमित्त विदेश सहायकमन्त्री एरिक एम कोलिङ्ग्स, दक्षिण तथा मध्य एशिया ब्यूरोका नेपाल तथा भुटान मामिला हेर्ने डेस्क अफिसर डेभिड ड्रेईलिंगर र आउटरिच कोअर्डिनेटर एरिक एइड (पीएचडी) सँग भेट गरेको थियो । एरिक कोलिङ्ग्स विदेश मन्त्रालयमा नेपाल,भुटान,बंगलादेश,श्रीलंका र माल्दिभ्स मामिला हेर्ने अधिकारी हुन् ।
भेटवार्ताको आरम्भमा नेपाली टोलीको तर्फबाट समन्वयकर्ता हरि शर्माले प्रतिनिधि मण्डलको परिचय गराएका थिए । सोही क्रममा शर्माले राष्ट्रपति ओबामाको आसन्न भारत भ्रमणका क्रममा नेपालको पनि भ्रमणका लागि वातावरण बनाउन आफुहरुले पहल सुरु गरेको भन्दै विदेश मन्त्रालयका अधिकारीहरुलाई यसका लागि आग्रह समेत गरे ।
नेपाली प्रतिनिधि मण्डलको स्वागत गर्दै जवाफमा विदेश मन्त्रालयका अधिकारी एवं कार्यवाहक निमित्त विदेश सहायकमंत्री एरिक कोलिङ्ग्सले राष्ट्रपति ओबामाको नेपाल भ्रमणका लागि नेपाल सरकारका तर्फबाट विदेश मन्त्रालयमा प्राप्त पत्रलाई ह्वाइट हाउसमा पठाई सकेको जानकारी दिदैं यस बारे ह्वाइट हाउसका अधिकारीहरुसँग पनि सम्पर्क गर्न आग्रह गरे । 
सोही अवसरमा नेपाली जनसम्पर्क समिति, अमेरिकाका अध्यक्ष आनन्द विष्टले प्रधानमन्त्री सुशील कोइरालाले आफुहरुलाई राष्ट्रपति ओबामाको नेपाल भ्रमणका लागि अमेरिकाबाट पनि पहल गर्न पत्राचार गरेको जानकारी गराएका थिए ।
विष्टले लोकतान्त्रिक गणतन्त्रको मार्गमा अघि बढ्दै गरेको मुलुक नेपालमा दिगो शान्ति, लोकतन्त्रको संस्थागत विकास, नेपालको समग्र विकास र दुई देश बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन पनि राष्ट्रपति ओबामाको भ्रमण नेपालका लागि महत्वपूर्ण हुने भन्दै यसका लागि आफुहरुले भेटवार्ताको क्रम सुरु गरेको अवगत गराएका थिए ।
सोही अवसरमा एनआरएन अमेरिकाका अध्यक्ष खगेन्द्र जीसीले अमेरिकाको एनआरएन समुदायका बारे जानकारी दिदैं अहिले राष्ट्रपति ओबामाको भ्रमण नेपालका लागि निकै महत्वपूर्ण हुने भन्दै यसका लागि अमेरिकामा रहेका सबै नेपाली समुदाय आशावादी रहेको जानकारी गराए ।
जीसीले दोहोरो कर सम्झौता लगायतका विषयमा पनि एनआरएनको तर्फबाट विदेश मन्त्रालयका अधिकारीहरुलाई जानकारी गराएका थिए ।
सोही अवसरमा विदेश मन्त्रालयका नेपाल डेस्क हेर्ने अधिकारी डेभिड ड्रेईलिंगरले कर लगायतका अन्य विषयमा एनआरएन समुदायसंग मिलेर काम गर्न आफुहरु इच्छुक भएको बताए । 
सहभागी नेपाली टोलीका तर्फबाट एनआरएन अमेरिकाका अध्यक्ष जीसीले कार्यवाहक निमित्त विदेश सहायकमन्त्री एरिक कोलिङ्ग्सलाई उपहार स्वरुप नेपाली ढाका टोपी लगाई दिएका थिए भने सहभागी प्रतिनिधि मण्डलका सबै संगठनका तर्फबाट राष्ट्रपति ओबामालाई नेपाल भ्रमणका लागि आग्रह गरिएको पत्र समेत विदेश मन्त्रालयका नेपाल डेस्कका अधिकारी डेभिड ड्रेईलिंगरलाई हस्तान्तरण गरिएको थियो ।
यसअघि प्रधानमन्त्री सुशील कोइरालाले नेपालका लागि अमेरिकी राजदूत पिटर बोडीमार्फत राष्ट्रपति ओबामालाई नेपाल भ्रमणका लागि लिखित रुपमा औपचारिक निम्तो समेत प्रदान गरिसकेका छन् । सोही पत्र लिएर राजदूत बोडी अहिले वासिंगटन डिसी आएका छन् ।















प्रतिक्रिया