२९ आश्विन २०८३, बिहिबार

अमेरिकामा कचहरी धाउने परम्परा र एएनए विवाद

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

amricaविजय थापा
वाशिंगटन डिसी ।  अमेरिकाको दि एसोसिएसन अफ नेपलीज् इन अमेरिका (एएनए) को निर्वाचन दुई पक्षबीच सदस्यताको बिषयमा चरम विवाद भए पछि अन्तिम कार्यकारी समितिले म्यारिल्याण्ड अदालतमा पौष ९ गते हुने भनिएको चुनाब बन्द गर्न आकस्मिक प्रारम्भिक निषेधाज्ञा तथा ज्ञापनपत्र दर्ता गरेको छ ।

१९८३ मा स्थापना भएको संस्थामा आजीवन सदस्य मात्रले मतदान दिन र उम्मेदवार बन्न पाउने भन्ने एक पक्षीय निर्णयको बिरुद्धको साथै यसका सम्पूर्ण सदस्यहरुको हक र अधिकारको लागि अन्तिम कार्यकारी समिति अन्तिम अवस्था सम्म लड्ने संस्थाका अन्तरिम अध्क्षय छेवांग शेर्पा लामाले बताए ।

एएनएका वकिल जुलिएन स्पाईररका कानुनी सहायक फ्र्यांक राईलेले कानुनी रुपमा प्रक्रिया बढाएका भन्दै  हाल अमेरिकामा चाड पर्व भएकोले सुनुवाई हुने समय अदालतले तोक्ने जानकारी दिए ।

बिदेशी माटोमा नेपालीबीच कुर्सिको लागि भएको विवादमा सहमति र समझदारी नहुँदा महाभारतमा परिणत भएको उनले टिप्पणी गरे । चुनाब सम्बन्धि म्यारिल्याण्ड अदालतबाट नियुक्त भएका एएनएका संरक्षक (ट्रस्टी) डेनिएल ए लाप्लासाले १ सय ४१ जना आजीवन सदस्यको मात्र मतदाता सूची प्रकाशित गरेपछि विवाद चुलिएको हो ।

गत सेप्टेम्बर ७ तारिखमा यिनै संरक्षकले साधारण सदस्यतर्फ ५ सय ६१ तथा आजीवन सदस्यतर्फ १ सय ४१ जनाको नामावली प्रकाशित गरेका थिए । गत डिसेम्बर १७ तारिखमा आजीवन सदस्यतर्फ १ सय ४० र केवल ९ जना साधारण सदस्यको मात्र सुची निकालिएको थियो ।

उनले सदस्यता प्रमाणीकरण गर्नु पर्ने, बहीखातामा अभिलेख हुनु पर्ने तथा सपथपत्र भरेपछि मात्र मतदान दिन पाउने जानकारी गराएपछि एएनएको इतिहासमा यस्तो प्रणाली कहिल्यै नभएको भन्दै साधारण सदस्यहरुले अन्तरिम कार्यकारी समितिलाई निरन्तर दवाब सिर्जना गरेका थिए ।

एएनए सम्मेलन मार्फत वर्षौदेखि बिभिन्न पेसाका हजारौ सहभागीहरुले आफ्नो मतदाता सुचिमा नाम नपाएपछि व्यापक बिरोध गरेका थिए ।

अन्तरिम कार्यकारी समितिले २०११ र २०१४ मा निर्वाचन गर्ने मिति र तिथि तोके पनि अर्को पक्षले अदालतमा मुद्धा दायर गरेपछि निर्वाचन स्थगित हुन् पुगेको थियो ।   अन्तरिम समितिले यो निर्वाचन अप्रजातान्त्रिक र पक्षपात पूर्ण छ भन्दै एएनएका साधारण सदस्य तथा खेलाडीहरुलाई अन्याय पर्ने हुनाले मुद्धा दायर गर्न बाध्य भएको बुझिएको छ ।

२०११ मा पनि आजीवन सदस्य र साधारण सदस्यताको बिषयलाई लिएर झगडा चरम चुलीमा पुगेको थियो ।  उक्त चुनाबका लागि ५ हजार सदस्य भएका थिए भने ५० जना उम्मेदवारहरु मैदानमा उत्रेका थिए ।

स्थापना कालदेखि अधिकांश चुनाव सर्बसम्मतिबाट हुने गरेको तर सदस्यता वृद्धिसंगै सर्बसम्मत हुन् नसक्ने वातावरण भ पछि केवल सदस्यको मुद्धाको सेरोफेरोमा दुई पक्ष चार वषदेखि बिबादको भुमरीमा अल्झी रहेका छन् ।

अन्तरिम समितिका उपाध्यक्ष पासाङ लामाले भने अमेरिकामा अदालती काम सुस्त हुने र अमेरिका जस्तो व्यस्त जीवन भएको देशमा यो मुद्धा दश बर्षे जनयुद्ध जस्तै चल्ने हो कि भनि आफु चिन्तित रहेको बताए । ३२ वर्ष बिताई सकेको संस्थामा केवल आजीवन सदस्य मात्र आधिकारिक सदस्य हुन् भनि दिएको तर्क प्रजातन्त्रको उपहास गरेको बताँउदै उनले यो ठुलो षडयन्त्र भएको बताए ।

अन्तरिम अध्यक्ष छेवाङ शेर्पा लामाले पनि आजीवन सदस्य मात्र संस्थाका सदस्य हुन् भनि अलोकतांत्रिक परिपाटी जबर्जस्त लादिने कोसिस गरेको भन्दै उनले म्यारिल्याण्ड अदालतमा मात्र नभई सर्बोच्च अदालतसम्म पुग्ने चेतावनी दिए । उनले आफु आजीवन सदस्य नभएको तर आफ्नो नाम आजीवन सदस्यमा राखिएकोले त्यो पनि ठुलो षड्यन्त्र भएको बताए ।

आजीवन र साधारण सदस्यमा किन विभेद ? उनले प्रश्न गरे ।  ‘यदि यसो हो भने अमेरिकामा जन्मेको मानिसलाई नागरिकता हेर्नु नपर्ने तर २–४ बर्ष देखि नागरिक भएको मानिसलाई नागरिक हेर्नु पर्ने भन्दै यो कहाँको न्याय हो,’ शेर्पालामाले रोष प्रकट गरे ।
नेपाल बाहिर नेपालीहरुको विवाद मिलाउन अमेरिकी अदालतको पहलमा निर्वाचन गराउन लागेको नेपाली समुदायको ईतिहासमा यो पहिलो घटना हुन् पुगेको छ ।

के अमेरिकामा एएनए मात्र निर्वाचन अवधिमा विवादमा आउँछ त ?

वास्तविकता हेर्ने हो भने अमेरिकामा राष्ट्रिय स्तरका बिभिन्न संघ तथा संस्था विवादको घेरामा पर्दछन । पहिलो ,अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पटक–पटक विवादमा फस्ने र निर्वाचन समयमा चरम विवादमा आउने गर्दछ । पारिवारिक रुपमा संचालित संस्था भनि आरोप र प्रत्यारोप खेपेर बसेको छ भने दोश्रो विवादमा आई रहने संस्था नेपाली जन सम्पर्क समिति हो । बिगत लामो समयदेखि गुट र विवादमा फसेको सस्था हालसालै टेक्सास सम्मेलन समाप्त भए पनि अझ विवादको झिल्का पूर्ण रुपमा खतम हुन् सकेको छैन ।

निर्वाचन समयमा तेश्रो विवादमा अल्झने संस्था, गैर आवासीय नेपाली संघ (एनआरएनए युएसए) अमेरिका हो । यसले अमेरिकामा स्थापना कालदेखि नै चरम विवादको भुमरीमा परि कैयौ हण्डर खाएको छ

। निर्वाचनको समयमा विवादको चक्रब्युहमा फस्ने नेपाल अमेरिका पत्रकार संघ (नेजा) पनि हो  । नयाँ  नेतृत्व चयनसँगै सामुहिक रुपमा पत्रकारहरुले दिएको राजनीमाको कारण निकै विवादमा मुछियो र कांग्रेसीकरणको दोषारोपणको छाप लगाईएको  छ ।

एक संस्थामा आबद्ध सदस्यले अर्को संस्थालाई विवादमा आई रहने भनि भ्रामक प्रचार प्रसार गर्दै आरोप र प्रत्यारोप लगाई सहभागिता जनाउदैनन । अमेरिकामा रहेका क्षेत्रीय रुपमा स्थापना भएका संस्थाहरु पनि विवादमा मुसिन्छन ।
मुद्धा लड्न आन्तरिक अर्थ संकलन
श्रोत अनुसार अमेरिकामा मुद्धा खर्चिलो हुने र साधारण नेपालीहरुको कमाईले थेग्न नसक्ने हुनाले मुद्धा खेप्न गोप्य रुपमा अर्थ संकलन गरि रहेको बुझिएको छ ।

अमेरिकामा को अदालत र कचहरी धाउँछन ?

अमेरिकामा ९०  प्रतिसत भन्दा ज्यादा नेपालीहरुलाई संघ तथा संस्थासँग आबद्ध हुन् चाहदैनन । पछिल्लो आँकडा अनुसार नेपालीहरुको कुलजनसंख्याको १ प्रतिसत भन्दा कम नेपाली समुदाय संघ तथा संस्थामा सहभागी हुन्छन । उनानब्बे प्रतिसत नेपाली समुदाय यिनै झगडा र विवादको कारण अलग बस्न रुचाउदछ्न ।

केवल शेष रहेको १ प्रतिसत नेपालीहरुले यी सबै महाभारत पैदा गराउछन । अधिकांश रुपमा शिक्षित तथा विद्वान भनाउँदाहरुको कारण यस्तो परिस्थितिको उब्जेको हुन्छ किनभने उनीहरुसंग पैसा र समय हुन्छ । त्यसैले उनीहरु अड्डा ,अदालत र कचहरी धाउन सक्छन ।

अब समस्याको समाधान के त ?

प्रत्येक विवाद समाधानका लागि सरल तरीकाबाट समाधान हुन सक्छन जसको लागि मानिसहरुले आफू भित्र रहेका अमानवीय गुणलाई त्याग्दै स्वभाविक मानवीय ढाँचामा फर्कने हो भने कहिले पनि मान्छेहरूका वीचमा कुनै प्रकारको वाद–विवाद हुने गर्दैन।

यसको लागि दुवै पक्षको मेल मिलाप जरुरी हुन्छ र मेलमिलाप छिटो प्रक्रिया भएकोले समय र पैसा दुवैको वचत हुन्छ । कसैको हार हुंदैन, दुवैको जित हुन्छ । किनकि दुवै पक्षहरुलाई मान्य हुने समाधानको उपायको खोजि गरिएमा गाठो परेको विवाद सरल तरिकाले फुक्ने हुन्छ ।

अब त्यसो हो भने कसले यसको पहल गरि दिने ? आफै अग्रसर भै मार्ग खोज्ने या नागरिक समाजको मुख ताक्ने ? हामी अमेरिकामा छौ भन्ने कदापी न बिर्सौ । हाम्रो कार्यशैलीको कारण विश्वमा हाम्रो के संदेश जाला ? सहमति र समझदारी हुदा सबै चिज ठिक ,असहमति र असमझदारी बेठिक  । निचोड यहि हो । सबैमा चेतना भया  । आगे उनले जानुन  ।