काठमाडौं, ९ पुस । त्रिभुवन विश्वविद्यालयले उपत्यकाका स्नातकोत्तर तह पढाइ हुने आंगिक तथा सम्बन्धन प्राप्त सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने भएको छ।
त्रिविले स्नातकोत्तर तहमा गत वर्षदेखि सेमेस्टर प्रणालीमा पढाइ सुरु गर्ने निर्णय गरे पनि पहिलो चरणमा केन्द्रीय क्याम्पस कीर्तिपुरमा रहेका केन्द्रीय विभागमा मात्र लागू गरेको थियो।
कीर्तिपुरसँगै प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा केन्द्रीय विभाग रहेको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले पनि सेमेस्टर प्रणालीमा पढाइ सुरु गरेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
कीर्तिपुरबाहिरका क्याम्पसमा पनि सेमेस्टर प्रणाली लागू गर्न भर्ना र पढाइ सञ्चालन कार्यतालिका सार्वजनिक गरिसकिएको त्रिविले जनाएको छ।
उपत्यकाका सबै क्याम्पसमा सेमेस्टर लागू गर्ने भनिएपनि यस वर्ष मानविकी संकायअन्तर्गतका सम्बन्धन प्राप्त र निजी कलेजहरूलाई अनिवार्य गरिएको छैन।
व्यवस्थापन संकायअन्तर्गत सञ्चालनमा रहेको आंगिक, सम्बन्धन र निजी क्याम्पसमा भने सेमेस्टर अनिवार्य गरिएको निमित्त रजिस्ट्रार देवराज अधिकारीले बताए।















प्रतिक्रिया