१ कार्तिक २०८३, शनिबार

नक्कली संरचना ! सार्कका बेला बनाइएका बाटो भत्कन थाले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Batoकाठमाडौ, ९ पुस । १८औं सार्क सम्मेलनका बेला रातारात बनाइएका भौतिक संरचना भत्किन थालेका छन् ।

मर्मत र संरक्षण अभावमा ती संरचना भत्कन थालेका हुन् ।

सरोकारवाला निकाय महानगर, उपत्यका विकास प्राधिकरण, डिभिजन सडक कार्यालय काठमाडौंले त्यसप्रति खासै चासो दिएका छैनन् ।

अधिकांश स्थानमा राखिएका सोलार बत्ती बिग्रिसकेका छन् भने सडक बीचका बगैंचा, पर्खाल भत्कन थालेका छन् ।

नयाँ बानेश्वस्थित इन्द्रायणी फुड ल्यान्ड, माइतीघर मन्डला, नयाँ बानेश्वरलगायतका स्थानवरपर बगैंचा संरक्षणका लागि बनाइएका पर्खालहरू भत्केका छन् ।

सडक धुलाम्य छ, बत्तीमा समेत धुलैधुलो छ । महानगरका कार्यकारी अधिकृत धनबहादुर श्रेष्ठले पानी अभावले सडक सफा गर्न नसकिएको बताए ।

‘केही दिनभित्रै हामी सरसफाइ अभियान सञ्चालन गर्छौं, सरसफाइमा कमी ल्याउँदैनौं,’ उनले भने, ‘सडक धुलाम्मे भएका छन्, सडकमा हिँड्न सक्ने अवस्था छैन, त्यो थाहा हुँदा-हुँदै पनि केही गर्न सकेका छैनौं, सहरको सफाइमा हामी जतिबेला पनि खटिन्छौं ।’

रोपिएका रूखहरू पनि सुक्न थालेका छन् । कतिपय स्थानमा रूख संरक्षण गर्न बनाइएका तारबार पनि हराउन थालेका छन् ।

विभिन्न स्थानमा निर्माण गरिएका फूलका बोट पनि सुकिसकेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

नयाँ फूलका लागि टेन्डर आह्वान गरिसकेको कार्यकारी श्रेष्ठले जनाए ।

‘फूल सिजनेबल हुन्छ, अब नयाँ फूल रोप्छौं,’ उनले भने । सार्कका बेला रातदिन पानीले सफा पारेर चिल्ला बनाइएका सडक पनि फोहोर र अव्यवस्थित भएका छन् ।