पछिल्लो जनगणनाअनुसार नेपालको जनसंख्या पौने तीन करोड छ । त्यसमध्ये बालिग मताधिकार पाएकाहरूको संख्या डेढ करोडभन्दा केही कम छ । संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले पाएको मतले सवा करोडभन्दा पनि केही कम जनसंख्याको प्रतिनिधित्व गर्छ । त्यसमध्ये पनि एकीकृत नेकपा माओवादीले केही लाख मतदाताको मात्र प्रतिनिधित्व गर्छ । तर उसले सिंगै देश र यो देशमा भएका पौने तीन करोड जनसंख्याको भाग्य र भविष्यको जिम्मा आफ्नो काँधमा मात्र रहेको जसरी अभिव्यक्ति दिने गरेको छ ।
आफूले भने जस्तो संविधान नबने देश ध्वस्त हुने, सारा जनतको भविष्य चकनाचुर हुने भनाइ एमाओवादीका नेताले दिने गरेका छन् । सबै जनताको ठेक्का आफ्नो ठान्ने एमाओवादी आफू भने एकीकृत छैन । साढे दुई वर्षअघि मोहन वैद्य झन्डै झन्डै आधा नेता–कार्यकर्ता लिएर प्रचण्ड माओवादीबाट अलग भएका थिए । वैद्यले ती नेता–कार्यकर्तालाई घर न घाटको बनाए । वैद्यले न सडकमा संघर्षको आगो बाल्न सके, न संविधानसभाको बाटो रोजे । अलपत्र अवस्थामै रहेका वैद्यलाई छाडेर केही साता अघि विप्लव अर्को झुन्ड बोकेर बाहिरिए ।
वैद्यलाई छोड्ने क्रममा विप्लवले तत्कालै हतियार बोकेर छापामार युद्ध सुरु गर्ने, केही वर्षभित्रै राज्यसत्ता कब्जा गर्ने जस्ता गुड्डी हाँकेका छन् । तर न विप्लवले भने जस्तो हतियारबाकेर राज्यसत्ता कब्जा गर्न अब सम्भव छैन । २१ औं सताब्दीका सचेत जनता हिंसाको बाटो रोज्नेहरूका भूलभूलैयामा पक्कै पर्ने छैनन् । उनीहरूले माओवादीको दश वर्षे कथित जनयुद्धले जनतालाई दिएको घाउ र त्यसमा टेकेर प्रचण्ड–बाबुरामहरूले गरेको राज्यदोहनको वास्तविकता बुझिसकेका छन् । त्यसैले माओवादीले अब जनताको नाम लिएर जनता ढाँट्ने दिन सकिएको छ ।
यही बीचमा संविधानसभा स्वीकार गरेको एकीकृत माओवादीले आफूले भनेको जस्तो संविधान नबने संविधानसभाबाटै बाहिरिने घुर्की देखाउने गरेको छ । कोही संविधानसभाबाट बाहिरिन्छु भनेर घुर्की देखाउने, कोही संविधानसभाबाट बन्ने संविधान स्वीकार गर्दैनौं भनेर सडकको धम्की देखाउने अनि कोही बन्दुक बोकेर राज्यसत्ता कब्जा गर्छौं भनेर तर्साउने ती यी तीनैथरि माओवादीको भित्री स्वार्थ एउटै हो, ‘देश लुट्नु, जनता लुट्नु ।’ त्यसैले यी थरिथरि माओवादीको धम्कीबाट विचलित हुने भन्दै बालिग मताधिकारको ८० प्रतिशतभन्दा बढी प्रतिनिधित्व गर्ने नेकपा (एमाले), नेपाली कांग्रेस, राप्रपा, नेकपा (माले) लगायतका दलले प्रक्रियामा गएर संविधानसभाबाटै चाँडोभन्दा चाँडो संविधान बनाउनेतिर आफ्नो सम्पूर्ण ध्यान लगाउनुपर्छ । यी बहुरुपी माओवादीलाई मनाउनतिर लाग्ने हो भने यो संविधानसभाले पनि संविधान बनाउन सक्दैन । किनभने उनीहरू संविधानसभाबाट संविधान बनाउन नै चाहँदैनन् ।
(कावासोती, नवलपरासी)














प्रतिक्रिया