यो सतीले सरापेको मुलुक हैन, यो मती नभएका नेताहरुको सटर बनेको छ । उनीहरु यही सटरमा राजनीतिक दल नामका पसलहरु चलाएर संविधानसभाको हटिया चलाइरहेका छन् । अहिले उनीहरुको उत्पादन हो, संविधान । यो सटरमा उनीहरु कथाले मागेअनुसारकै अभिनय गरेर संविधान नामक उत्पादन बेच्ने अभिनय गरिरहेका छन् । यो नाटक ह्याप्पी एन्डिंगखाले नाटक नै हैन, सेक्सपियरियन स्याड एन्डिंग नाटक हो । यसबाट शान्त सुखायको कल्पना गर्नु नै बेकार छ । जब स्थिति नै यस्तो छ, तैपनि हामी भन्न छाडिरहेका छैनौ, यो सतीले सरापेको मुलुक हो । उनीहरुको सराप लागेर यहाँ कसैको पनि विवेक रहदैन, राम्रो गर्ने कसैको पनि भलो हुँदैन ।
धारामा पानी नआएको वर्षौ भयो तर पनि महिनावारी न्युनतम महसुल तिरेको तिरैछिन् मेरी छिमेकी दिदी । शायद दिक्क लागेर हनुपर्छ, उनले एक विहान मुखै खोलेर भनिन्, भाइले पनि त धाराको मिटर राखेवापत् पैसा त तिर्नुभएकै होला ।
मैले भने, हो दिदी । के गर्नु ?, तिर्नै पर्यो ।
उनले थपिन्, के गर्नु यो सतीले सरापेको मुलुक यस्तै हो ।
उनले सतीलाई दोष दिएकोमा मेरो मनलाई चित्त बुझिरहेको थिएन । मैले भने, दिदी बाटो बढ्दा मेरो घर गयो, कम्पाउन्ड गयो । तर, पनि म त्यो भत्केको घरको कर र बाटाले खाएको कम्पाउन्डको मालपोत तिरिरहेकै छु । आफूले मालपोत तिरिरहेको कम्पाउन्डनेर जोडी आएर अंगालो हाल्दै चप्पाचुप्पी गर्छन् , आफू लाजले अर्कोतिर मुन्टो फर्काउनुपर्छ, फर्कारहेकै छु । त्यतिबेला त मेरो पनि मन चसक्क हुन्छ । अनि भनौ भनौं जस्तो पनि लाग्छ, यो सतीले सरापेको मुलुक हो, यहाँ यस्तै हुन्छ ।
दिदीले बिचैमा प्रश्न तेस्र्याइन्, त्यसो भए भन्न मन लागेको कुरा किन नभन्नु भएको त ? आखिर त्यसैका लागि त लोकतन्त्र आएको छ नि ।
मैले भने, भनेर के गर्नु दिदी । धान खाने मुसो चोट पाउँने विरालो जस्तो लाग्छ । आखिर यो सब हामी नै गरिरहेकाछौं । नजानेर हैन, जानी जानी गरिरहेकाछौं । नियत खराव भइभइ गरिरहेकाछौं । तर, हामी त्यसको दोष आफूलाई हैन, उनै विचरी सतीलाई दिइरहेका छौं । यसमा उनको के दोष ?
दिदीले मुख अमिलो पार्दै सोधिन्, थेगोजस्तै गरेर सबै भन्छन् यो सतीले सरापेको देश हो , यहाँ राम्रो गर्नेको यस्तै हुन्छ । मैले पनि सुनेकै भरमा भन्दै आएको वर्षौ भयो ।
तपाईलाई त थाहा पनि होला, आखिर यी सती भनेकी चाँहि को हुन् नि भाइ ?
दिदीलाई सोधें, हजुरसँग समय छ ? छ भने चिया पनि खाउँ एकछिन कुरा पनि गरौं । मैले सुने जानेको कुरा भनिदिउँदा नि दिदी ।
उनले हुन्छ भन्ने संकेत दिएपछि चिया पकाउँदै मैले सतीको बारेमा केही कुरा भन्न थालें । दिदीलाई पनि शायद सुन्नु थियो, ध्यान दिएरै सुन्न थालिन् ।
दिदी, हुन त हाम्रो इतिहास नै पो कहाँ चोखो छ र ? बिटुल्याइएको गाथा जस्तो छ हाम्रो इतिहास । कोही भन्छन्,सती भनेकी काजी भीम मल्ल कि पत्नी हुन् त कोही भन्छन्, भीमसेन थापाकी पत्नी । तर, जसले जे भने पनि दुबैको अवस्था एउटै थियो । दुबैले राम्रो काम गर्दागर्दै पनि दरवारको षडयन्त्रले अनाहकमा आफ्ना देशभक्त श्रीमान् गुमाएका थिए । त्यो पनि अत्यन्त पाशविक तरिकाले । त्यसपछि के हुन्थ्यो र ? त्यतिबेलाको चलनअनुसार उनीहरुलाई जिउँदै सोलामा चढाएर सती बनाइयो । जानुअघि विलापमा उनीहरुले भने रे, यो नेपालमा कसैको पनि विवेक नरहोस् । राम्रो गर्ने कसैको पनि भलो नहोस् ।
भावुक हुँदै दिदीले भनिन्, विचरा त्यस्तो पो रहेछ हैं । आखिर सराप त दिएकै रहेछन् नि त भाइ । सत्यवादी भएकाले उनीहरुले दिएको सराप नै लागेर यस्तो भएको होला । नदिएको भए पनि त हुन्थ्यो नि ?
मैले भने, कुरो त्यसो हैन दिदी । खोई दिएको पनि कसैले देखेको हैन, सुनेको पनि छैन । न इतिहासमा नै यो कुरा प्रष्टसँग लेखिएकै छ । एउटा चित्त बुझाउने वहाना मात्र हो दिदी । ल ठीकै छ, दिएकै रहेछन् भने पनि उनीहरुको आत्माको शान्तिका लागि पनि हाम्रो मती सुध्रे हुन्थ्यो नि हैन र दिदी ?
दीदीलाई पनि हो जस्तो लागेछ क्या रे शायद । अवदेखि सतीले सरापेको देश भन्दिन भन्दै जानु पर्यो भाइ भनिन् । दिदीलाई तल गेटसम्म छोड्ने ब्ेलामा मैले थपें, बरु विवेकहीन, स्वार्थी, लम्पट र दुष्ट मती भएकाहरुको देश भने हुन्छ दिदी । जो माथि पुग्छन्, तल झर्नु नै पर्दैन जस्तो गरे जे पनि गर्छन् । आखिर एक दिन सबैले मर्नुपर्छ भन्ने मात्र ज्ञान भए पनि त यति दूरावस्था हुँदैनथ्यो मुलुकको ?
दिदी हो मा हो मिलाउँदै विदा भइन् । आफ्नो पनि कुरा सुनिदिने कोही मान्छे भेटेकोमा सन्तोषले छात्ति फुलाउँदै म पनि घरतिरै उक्लिएँ ।
…………………………………….
यो त एउटा सामान्य दृष्टान्त मात्र हो, सतीले सरापेको मुलुक भनेर सतीलाई नै लान्छाना लगाउने हाम्रो मूर्खताको । हामी जानेर नजानेर गलत कार्य गर्छौ । अनि त्यसको तर्कसंगत कारण खोज्नेभन्दा पनि आफूलाई ओभरस्मार्ट देखाउँदै ठाउँ कुठाउँ प्वाक्क भनिहाल्छौं, यो सतीले सरापेको देश हो । यहाँ कसैको विवेक हुँदैन । यहाँ राम्रो गर्ने कसैको पनि भलो हुदैन । हुन पनि हो, अपवादलाई छोडेर यो मुलुकमा त्यस्तै भएको छ । धारामा पानी आउँदैन, सतीले सरापेको मुलुक । घरमा बिजुली आउँदैन , सतीले सरापेको मुलुक ।
कार्यालयमा नजाराना नदिई फाइल नै चल्दैन, सतीले सरापेको मुलुक । लुट्न पाइएन भनेर पेटेलपम्प बन्द हुन्छ, सतीले सरापेको मुलुक । पशुजस्तो मान्छे कोचेर मार्न पाइएन भनेर सिन्डीकेटवालाहरु हड्ताल गर्छन्, सतीले सरापेको मुलुक । राज्यको चौथो अंगलाई चुत्थो अंग बनाउन पाइएन, सतीले सरापेको मुलुक । एप्रोन लगाएर विरामी लुट्न पाइएन, सतीले सरापेको मुलुक । न्यायमूर्ती भएर वलात्कारीको पक्षमा न्यायको तराजु ढल्काउँछन्, सतीले सरापेको मुलुक । कालो कोट लगाएर बलात्कारीको पक्षमा वकालत गर्छन्, सतीले सरापेको मुलुक । यसरी सूची बनाउने हो भने सानैमा पेट बोकाएर एवर्सन गराउने अनि महान आख्यान लेखेर मदन पुरस्कार पड्काउने अमर न्यौपान नै चाहिन्छ यहाँ । आफ्नै हाडनाता नातेदारसँग विवाह गरेर दुनियाँलाई पुरस्कार लेनदेन गर्ने फौबन्जारी नई नै चाहिन्छ यहाँ । अनि उनलाई चोख्याउन पुग्ने को को छैनन्, उनीहरु नै बन्नुपर्छ यहाँ ।
…………………………………..
प्रश्न हाम्रो विवेकहिनता, स्वार्थलोलुपकता, अकर्णमन्यता, वेविचार र नालायकीपनको हो, कुनै सतीको सरापको हैन र हुँदै हैन । सती नामका ती विचरा त यसै पनि पीडित थिए र जिउँदै जल्नुअघि पीडामा बर्बराइरहेका थिए, यो देशमा कसैको पनि भलो नहोस्, कसैको पनि विवेक नहोस् । अनि हामी आज पनि आफ्नो स्वार्थ बचाउका लागि तिनहिरुलाई अपजस दिएर भनिरहेका छौं, यो सतीले सरापेको मुलुक हो । यहाँ कसैको पनि विवेक नरहोस् । कसैको पनि भलो नहोस् ।
यो सतीको सराप अहिले मुलुकमा थेगो जस्तै भएको छ । जताजतै मौलाए पनि यसको खेतीपाती खासगरी राजनीतिमा अलि बढी नै फापेको छ । मुलुकमा दलहरु सिसा फुटेझैं फुटेका छन्, नफुटेकाजस्ता देखिनेहरुका पनि मन वादल झै फाटेका छन् । नेताहरुको विश्वसनियता यति तल झरेको छ कि अब उठाएर माथि पुर्याउन लगभग असम्भव छ । जे बोल्छन्, त्यो गर्दैनन् । जब इमान जमान र बोलीको नै भर नभएकाहरुलाई राज्यको पहिलो अंग र दोस्रो अंगको जिम्मा दिनुपरेको छ भने त्यस्ताबाट के अपेक्षा गर्ने ? जम्माजम्मी उनीहरुलाई एउटा काम दिइएको छ, संविधान बनाउने र मुलुकलाई ट्याकमा डाहोर्याउने । यति कामका लागि तलव तोकिएको छ, भत्ता तोकिएको छ , झण्डादेखि डण्डासम्मको व्यवस्था गरिएको छ । तर, पनि उनीहरु त्यो गरिरहेका छैनन् । आखिर किन गरिरहेका छैनन् त ? के यो पनि सतीको सरापकै कारणले हो ? के सतीकै सरापका कारण उनीहरुमा विवेक नरहेको हो ? सतीले सरापेकै कारण हरेक पार्टीमा रहेका राम्राहरुको भलो नभएको हो त ?
हो मुलुकको अवस्था यस्तै हो, विवेक नरहेको पनि हो, राम्रो गर्नेको भलो नभएको पनि हो । तर, त्यसको कारण सतीको सराप हैन, हाम्रो खराव नियत, असक्षमता स्वार्थलोलुपता र यस्तै यस्तै दूर्गुणहरु हुन् । अब त यस्तो लाग्छ, यिनीहरुलाई संविधान नै चाहिएको छैन । किन चाहियो संविधान ? चारजना बस्यो, आफूखुशी जे मन लाग्यो त्यही निर्णय गर्न पाइएकै छ । चुनाव हारेकालाई मन्त्री बनाउन पाइएकै छ । मन्त्री बनाएर कमिसन खान पाइएकै छ । प्रहरीको पहरा र कोटमा सांसदको तक्मा छँदैछ । राज्यको चौथो अंगमा अनुहार देखाउन र बर्बराउन पाइएकै छ । यति सहकाल लागेको बेला संविधान बनाएर आफैंलाई बाध्न किन चाहन्थे र यिनीहरु ?
खासमा संविधानसभा भनेको पनि यी दल र नेताहरुको व्यापार नै हो । यो व्यापार चलाउनका लागि पनि उनीहरुको यो सटर रहिरहनुपर्छ । जसरी एउटा प्राध्यापक पेन्सन नहुञ्जेल विश्वविद्यालय जान्छ, त्यसरी नै यी नेता र सांसद भनाउँदाहरुलाई पनि त कही जानुपर्ने हुन्छ । कहाँ जान्छस् ? र , के गर्छस् ? भन्ने प्रश्नको उत्तर दिनुपर्छ । त्यसैले उनीहरु आफ्ना लागि दुई क को उत्तर दिन पनि यसलाई जोगाइरहन्छन् । यस क्रममा जनतालाई मूर्ख बनाउन एकले अर्कालाई दोष दिन्छन्, गाली गर्छन्, तथानाम भन्छन् । तर, यो सबै नाटकको प्लट र पात्रहरुको चरित्रअनुसार नै भैरहेको छ । प्रचण्ड, सुशील, ओली आदि इत्यादि यसमा अरु पनि नाम जोड्न सकिन्छ, यी सबै त्यो व्यापार जोगाउने व्यापारी मात्र हुन् ।
समयक्रममा यो सब नाटकको पटाक्षेप भैरहेको छ । तैपति हामी भन्न छोडेका छैनौं, यो सतीले सरापेको देश हो । यहाँ कसैको पनि विवेक रहदैन, यहाँ राम्रो गर्ने कसैको पनि भलो हुँदैन । यसो भनेर फेरि पनि हामी हाम्रा नालायक नेताहरुको वचाउ नै गरिरहेका छौं । यसो गर्दा फेरि पनि हामी तिनै जिउँदै जलाइएका अवलाहरुलाई सराप दिएको भनेर अप्जसको भार।ी बोकाइरहेका छौं । कित दिने यस्तो अव्जस ? बढी भएन र ?
भो अति भो, त्यसैले अब त भन्न छोडौं, यो सतीले सरापेको मुलुक हो । यहाँ कसैको पनि विवेक नरहोस् । यहाँ राम्रो गर्ने कसैको पनि भलो नहोस् । आगे उनीहरु नै जानुन् ।














प्रतिक्रिया