काठमाडौँ, ८ पुस । प्रमुख तीन राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले एमाओवादीको मंगलबार बस्ने भनिएको बैठकमा एमाओवादी अनुपस्थित भएपछि बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।
बैठक सुरु हुनु केही समयअघि नै एमाओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री सुशील कोइरालासँग बैठकमा मधेसी मोर्चालाई पनि समावेश गर्नुपर्ने माग राखी फर्कनुभएको थियो र सोहीअनुसार अपराह्न ४ बजे चारै पक्षबीच बैठक हुने भएको छ ।
काँग्रेस र एमालेका शीर्ष नेताबीच भएको उक्त बैठकमा खासै छलफल नभएको र एमाओवादीको मागबमोजिम मधेसी मोर्चासहित अपराह्न ४ बजे बैठक बस्ने एमालेका अध्यक्ष केपी शर्मा ओलीले सञ्चारकर्मीलाई जानकारी गराउनुभयो ।
एमाओवादीका नेताहरु उपस्थित नभएपछि बैठकमा काँग्रेस र एमालेका नेताबीच मात्र एमाओवादी नेतृत्वको मोर्चाले आन्दोलनको घोषणा गरेपछिको अवस्थाका बारेमा छलफल भएको थियो ।
बिहान काँग्रेस र एमालेबीच केहीबेर चलेको उक्त बैठकमा एमाओवादीले मोर्चा गठन गरी आन्दोलन घोषणा गरेर संविधान निर्माणको पक्षमा नभएको हो कि भन्नेबारेमा छलफल भएको काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सञ्चारकर्मीलाई जानकारी गराउनुभयो ।
सडक र आन्दोलनबाट संविधान बन्ने भए जनताले चुनेर बनाएको संविधानसभाको के काम भन्ने आक्रोश राख्दै उपसभापति पौडेलले भन्नुभयो, ‘उहाँहरुको नियत बुझ्न नसकेर हामी अलमलमा छौँ ।’















प्रतिक्रिया