मुलुक औद्योगिक विकासमा वामे सरिरहेको छ । शसस्त्र द्वन्द्व, राजनितिक अस्थिरता, उर्जा संकट, संरक्षणमुखी राष्ट्रिय नीतिको अभाव, लगानी संरक्षणको सुनिश्चितताको कमी, बजारीकरणमा देखिएका आन्तरिक र वाह्य जटिलता यी र यस्ता धेरै कारणले आज मुलुक औद्योगिककरणमा पछि परेको छ । राज्यको तर्फवाट औद्योगिक क्षेत्र थप तथा विस्तारमा कुनै पहलकदमी हुन सकेको छैन । विश्व व्यापार संगठनको सदस्य मुलुकको नाताले खुला वजार अर्थतन्त्रमा देशले आफूलाई समाहित गरिसकेको छ । तर विडम्वना त्यो अहिलेसम्मको अवस्थामा प्रत्युपादक मात्र सावित भैरहेको छ । नेपालको बजार अरु देशको उत्पादनको बजारीकरण र नेपाली उपभोक्ता अरु देशको उत्पादन प्रयोग गर्न वाध्य छन् । निर्यात र आयातको बजार अनुपात तुलना गर्न लायक छैन । कूल व्यापारको ठूलो हिस्सा भारतसँग रहेको नेपालका निम्ति व्यापार घाटा कम गर्न सक्नु मात्रै पनि अहिलेको निम्ति ठूलो चुनौतीको रुपमा अगाडि तेर्सिएको छ । तेस्रो मुलुकमा नेपाली उत्पादनको निर्यात गणन योग्य छैन भने भारतमा समेत नेपाली उत्पादनले यथेष्ट वजार लिन सकेको छैन । यो अवस्थामा मुख्य चुनौती आत्मनिर्भरता नै हो, अहिले पनि देशमा माग भएको ठूलो हिस्सा भारत, चीन लगायत तेस्रो मुलुकले पूरा गरिरहेको छ ।
देश विकासको आधार मुख्यतः उपभोग्य वस्तुमाथिको परनिर्भरता नै कम गर्नु हो । त्यसका लागि नेपालमै उत्पादन गर्ने अवस्थाको निर्माण हो अर्थात औद्योगिक विकास नै हो । जुन कुरा राज्यको निम्ति प्राथमिकताको विषय वन्न सकिरहेकै छैन । उद्योग कलकारखानाको विकासमा राज्यको ध्यान पुग्न सकिरहेकै छैन । भएका उद्योग कलकारखाना समेत संचालनमा कठिनाई छ । उर्जा संकट, राजनीतिक अस्थिरता, मजदुर अभाव, उत्पादन लागत वढ्न गई प्रतिष्पर्धामै कठिनाई । यी यस्ता कारणले आज पनि उद्योग चलाउनु जोखिम मोल्ने काम मात्रै भएको छ भन्ने चिन्ताले चिर्न सकिएको छैन । राष्ट्रिय उद्योगको संरक्षण गर्ने दिशामा राज्य लाग्न सकिरहेको छैन । देशमा संचालित उद्योगलाई संरक्षण गर्नका लागि कच्चा पदार्थको आयातमा भन्सार दर कम गरेर हुन्छ या विदेशमा तयार रहेका वस्तुको आयातमा भन्सार दर वढाएर हुन्छ, त्यसतर्फ राज्यको ध्यान पुग्न सकेको छैन । जसका कारण उत्पादित वस्तुले समेत प्रतिष्पर्धा गर्न नसक्ने अवस्था विद्यमान छ । हुनतः विश्व व्यापार संगठनको सदस्य मुलुकको नाताले खुला वजार अर्थतन्त्रमा जो टिक्न सक्छ त्यही टिक्ने हो भनेर विश्लेषण गरिएको पनि पाइन्छ तर राज्यले चाहने हो भने धेरै ढंगवाट आफ्ना देशका उद्योगको संरक्षण गर्न सक्दछ । एकातर्फ औद्योगिक विकास हुन सकेको छैन भने अर्कोतर्फ भएका उद्योग समेत पूर्ण क्षमतामा चल्न सकेको छैन भने संचालनमै गर्न कठिन अवस्था समेत छ । स्वदेशी उद्योगका उत्पादनको बजारीकरणकै समस्या पनि एकातर्फ छ । नेपाली उपभोक्ताले आफ्नो देशमा उत्पादन हुने सामाग्रीको बारेमा जानकारी समेत नपाउँदा विदेशी उत्पादनको प्रयोग गर्ने कार्य भैरहेको छ र त्यसतर्फ जागरुक गराउने तथा नेपाली उत्पादनको प्रयोगमा सम्वन्धित निकायले समेत आवश्यक भूमिका खेलिदिने हो भने स्वदेशी उद्योगको संरक्षणमा त्यो प्रभावकारी कार्य हुन जानेछ ।
उत्पादनको बजारीकरणको सन्दर्भमा मेला, महोत्सव र प्रदर्शनी को विशेष महत्व रहने गर्दछ । मेलालाई स्थानीय, क्षेत्रीय, राष्ट्रिय अथवा अन्तर्राष्ट्रिय प्रकृति हेरेर नाम दिइएको हुन्छ । तर त्यसको एक मात्र उद्देश्य उत्पादनको बजारीकरण नै हो, अर्थात उत्पादनलाई उपभोक्ताको पहुँचमा पुर्याउन अवसरको निर्माण गर्नु नै हो । वस्तु उत्पादनको दरलाई हेरेर त्यसको वजार र त्यसका उपभोक्ताको बर्गीकरण गरी ती वस्तुलाई स्थानीय, क्षेत्रीय, राष्ट्रिय वा अन्तर्राष्ट्रिय मेला वा महोत्सवमा प्रदर्शन गरिएको हुन्छ वा उपभोक्तालाई जानकारी सोही ढंगवाट गराइएको हुन्छ । उद्योगका उत्पादनको प्रदर्शनी नै औद्योगिक प्रदर्शनी हो । उत्पादनको बजारीकरण सँगै वजारको अवस्था विश्लेषण गर्न समेत महोत्सव, मेला वा प्रदर्शनीको विशिष्टिकृत योगदान रहेको हुन्छ । यसलाई विभिन्न उपमा दिन सकिन्छ, मेला, प्रदर्शनी , सम्मेलन, व्यापारको घटनाहरु, आर्थिक फोरम र प्रदर्शनीले एकीकृत ढंगले व्यापार सञ्चालन गर्न परिष्कृत मञ्चको काम गरेको हुन्छ । यस्ता प्रदर्शनी उद्योगी उपभोक्ताको बीचको सिधा सम्पर्क निर्माण गराउने माध्यमका साथै उत्पादनमाथि उपभोक्ताको अधिकार स्थापित गराउने मञ्च समेत बनिरहेको छ । मेला प्रदर्शनी बजार जानकारीको एक शसक्त स्रोतको रुपमा पर्दछ । यसले ग्राहक वा उपभोक्ताहरुको राय आंकलन र बजार क्षमता निर्धारण, अनुसन्धान सञ्चालन र प्रतिस्पर्धा मुल्यांकन, नयाँ एजेन्ट र वितरक पहिचान, र संयुक्त उपक्रम र परियोजना साझेदारी सुरुवात गरेर व्यावसायिक संरचना विकास गर्न एक उत्कृष्ट अवसर प्रदान गरेको हुन्छ ।
मुलतः मेला भनेको व्यापार उद्देश्य प्राप्त गर्न को लागि एक लक्ष्य मौका हो । उत्पादकको निम्ति एक समयमा र एक ठाउमा रहेर बजार निर्माण गर्नका लागि एक लागत–प्रभावकारी साधन हो । उपभोक्तासँग सीधा सम्पर्क राख्न र एकअर्कामा उत्पादन तथा सेवा वारे जानकारी आदानप्रदान गर्ने शसक्त माध्यमको रुपमा मेला वा प्रदर्शनीको भूमिका रहेको हुन्छ । त्यतिमात्र नभई नयाँ उत्पादन परीक्षण नयाँ बजार विकास र पुराना सम्पर्क नविकरण गर्न समेत यसले टेवा पुर्याएको हुन्छ । ग्राहकहरुको प्रतिक्रिया आंकलन र बजार अपेक्षालाई निर्धारण, बजार क्षमता अनुसन्धान सञ्चालन र प्रतिस्पर्धा मूल्यांकन, नयाँ एजेन्ट र वितरक पहिचान, र संयुक्त उपक्रम र परियोजना साझेदारी सुरुवात गरेर व्यावसायिक संरचना विकास गर्न एक उत्कृष्ट अवसर हो । उपभोक्ताको लागि समेत उत्पादक समक्ष सिधा सम्पर्क निर्माण गर्ने आधार हो ।
अर्कोतर्फ आजको भुमण्डलीकृत आर्थिक एकीकृत संसारमा, व्यापार मेला र प्रदर्शनी विश्व अर्थतन्त्र बारे जान्न र आफ्नो देशको अवस्था मूल्यांकन गर्ने खुला किताव नै हो । जसको अवलोकनवाट आर्थिक अवस्थाको विश्लेषण गरी नीति तर्जुमा गर्न टेवा पुग्दछ । मेला वा प्रदर्शनी लाई परम्परागत ढर्राबाट माथि लग्दै बजारीकरणको निम्ति आवश्यक व्यवसायकै रुपमा यसलाई परिस्कृत गर्नु आवश्यक वनेको छ । विश्व व्यापारीकरणको युगमा उपभोक्तामुखी उत्पादन प्रणालीमा आधारित औद्योगिक विकासको खाँचो रहने हुँदा त्यसका लागि मेला वा प्रदर्शनीलाई एउटा आवश्यक पक्ष भित्र पार्नु पर्दछ । हाम्रो सामु कर्पोरेट संसारको चुनौती छ । यो अर्थमा व्यापार मेला वा प्रदर्शनीको खाँचो छ, नीति निर्माताहरुले पनि यसलाई वुझ्नु जरुरी छ । आजको बजार पुग्न सबैभन्दा लागत–प्रभावकारी तरिका भनेकै मेला, शो वा प्रदर्शनी नै हो । प्रदर्शकहरु र आगन्तुक दुवैका लागि पहिचान मूल्य अभिवृद्धि लाभ प्रदान रचनात्मक कार्यक्रम विकास गर्नका लागि प्रदर्शनी वा मेलालाई आवश्यकताको कार्यको रुपमा परिभाषित गर्नुपर्दछ ।
अन्तराष्ट्रिय रुपमा सन् १८५३ मा औपचारिक रुपबाटै आयरल्याण्डको डब्लिनमा अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला भएको पाइन्छ । विश्वमा अहिले उत्पादनको वजारीकरणको शसक्त माध्यमको रुपमा मेला, प्रदर्शन वा महोत्सवलाई लिने गरिएको पाइन्छ । देशभित्र स्थानीय, क्षेत्रीय वा राष्ट्रियका साथै अन्तराष्ट्रिय रुपका समेत व्यापार मेलाहरु भइनै रहेको छ ।
युगौंदेखि, व्यापार मेला प्रभावकारी व्यापार गर्दै लागि सबै भन्दा कुशल र शक्तिशाली उपकरणको रुपमा बुझेको छ । नेपालमा समेत मेला, प्रदर्शन वा महोत्सवले उत्पादनको बजारीकरणमा टेवा पुर्याएको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म मेला महोत्सव लागिरहेको हुन्छ, सहभागिताको हिसाबले त्यसलाई क्षेत्रीय, राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा वर्गीकरण गरिएको भेटिन्छ ।
मेलाको आवश्यकताको कुरा गर्दा २१ औं शताब्दीको सुरुतिर व्यापार मेलालाई महत्व दिइएको पाइन्छ । विकसित देशहरुमा यसलाई बजारीकरणको सशक्त माध्यमको रुपमा लिएको पाइन्छ । वास्तवमा व्यापार शो वा मेला अथवा प्रदर्शनीलाई संयुक्त राज्य अमेरिका, चाइना, बेलायत, क्यानडा, फ्रान्स, भारत लगायतका देशमा उच्च महत्व दिएको पाइन्छ । अहिले विश्वमा मेला र प्रदर्शनीको आकार र महत्व बढेको छ । सबैभन्दा पहिले, विश्वव्यापीकरणले गर्दा अन्तरदेशीय व्यापार साँघुरो दायरामा आएको छ । विश्व उदारीकरणले गर्दा व्यापारको शैलीमा समेत परिवर्तनको खाँचो बढेको छ । व्यापार गर्ने परम्परागत तरिका फेर्नु जरुरी बनेको छ ।
नेपालमा समेत मेला, महोत्सव र प्रदर्शनीको आयोजनाको क्रम बढेको छ । नेपालमा प्रदर्शनीको कुरा गर्दा बुटवल त्यसको पर्याय बनेको पाइन्छ । राजधानी भन्दा वाहिर पहिलो पटक प्रदर्शनी गरेर एउटा अध्याय निर्माण गरेको नेपालको मध्य विन्दुमा रहेको बुटवलको परिचय व्यापारिक केन्द्र हुदै अहिले औद्योगिक नगरीको रुपमा समेत परिचय वनाइरहेको छ । अरु शहरले यथेष्ट प्रमाणसहित दाबी नगरिरहेको अवस्थामा मेलामा एउटा इतिहास कोरेको बुटवल आफूलाई सञ्चार, शैक्षिक लगायतका अन्य क्षेत्रबाट समेत परिचय वनाउन सक्षम छ । बुटवल सम्भावनाको स्थल मात्र नभई सम्भावनालाई अवसरमा बदल्दै त्यसलाई लाभमा रुपान्तरित गर्न सक्षम छ । बुटवललाई केन्द्रमा राख्दा पर्यटकीय दृष्टिले समेत धनी नगरी भित्र पर्दछ । वातावरणीय, शैक्षिक, स्वास्थ्य, प्राकृतिक, धार्मिक, कृषि हरेक कोणवाट बुटवललाई केन्द्रमा राखेर पर्यटनको विकास गर्ने आधार रहेको छ । औद्योगिक दृष्टिले समेत बुटवलको महत्व छ तर यसका लागि औद्योगिक क्षेत्रमा लगानी बृद्धिको खाँचो छ ।
बुटवलको निम्ति मेला वा महोत्सव एउटा पर्व भन्दा कम छैन, विगतलाई विश्लेषण गर्ने हो भने मेला, महोत्सवको आवश्यकतालाई त्यसको सफलताले पुष्टि गरेको छ भनेर अथ्र्याउनु भने अलि काँचोपन देखिनेछ । यसो भनिरहँदा मेला, प्रदर्शनी र महोत्सव अर्थहीन हुन् र थिए भन्न खोजेको पनि होइन तर त्यसको उपादायतालाई पनि गम्भिरतापूर्वक विश्लेषण गरिनु जरुरी छ । दर्शकको उपस्थिति र कारोबारबाट मात्रै यसको सार्थकतालाई वुझ्नु भन्दा मेला वा महोत्सवले खासमा के कुरामा प्रभाव पार्यो भनेर सुक्ष्म विश्लेषण गरिनु जरुरी छ । दर्शक आए हेरे अनि गए यो मात्रै यसको सफलताको पाटो नहुनु पर्दछ र होइन पनि, आयोजकले कति बचाए वा कमाए यसले मात्रै पनि मेला महोत्सवको सफलतासँग खास अर्थ राख्छ भन्ने लाग्दैन, हुन सक्छ आयोजकले केही अर्थ संकलन गर्ने माध्यम यो बनेको छ तर मेला, प्रदर्शनी वा महोत्सवको खास उद्देश्य उत्पादनको बजारीकरण नै त्यसमा यसले खेलेको भूमिका र परेको प्रभाव नै खास अर्थमा मेला सफलताको कडी हो । अहिले बुटवलको मेला वा महोत्सवको आवश्यकतालाई राज्यको वुझेको मान्दा अहिले कम्तीमा प्रदर्शनीस्थलको टुंगो लागेको छ, तर त्यसको पूर्वाधार निर्माण बाँकी छ त्यसलाई चाँडो निर्माण सम्पन्न गरी मेला, महोत्सव वा प्रदर्शनीलाई एउटा व्यवसाय, जो उत्पादनको वजारीकरणको लागि आवश्यक छ भन्ने बुझेर राज्य र स्थानीय निकाय अघि वढ्नु अनिवार्य छ । मेला, महोत्सव र प्रदर्शनीको राष्ट्रिय अर्थतन्त्रलाई बलियो वनाउन विशिष्टिकृत भूमिका रहेको हुन्छ । अझ सिमावर्ती क्षेत्रमा हुने यस्ता मेला, महोत्सव र प्रदर्शनीले नेपाली उत्पादनको वजारीकरणमा ठूलो योगदान पुर्याएको हुन्छ । उपभोक्ताले आफ्नो देशको उत्पादन चिन्न, वुझ्न र प्रयोग गर्न सक्ने वातावरण यसले निर्माण गराएको हुन्छ, जसले राष्ट्रिय अर्थतन्त्रलाई बलियो पार्न भूमिका खेल्छ भने बढिरहेको व्यापार घाटा कम गर्न सहयोग पुर्याएको हुन्छ, औद्योगिक विकासका लागि मार्गदर्शन गर्ने काम समेत मेला, महोत्सव वा प्रदर्शनीले गरेको हुन्छ । तर यस्ता मेला महोत्सव वा प्रदर्शनीलाई समय सापेक्ष परिस्कृत गर्दै लैजानु आवश्यक छ । यस्ता मेला प्रदर्शनी लाई विकसित राष्ट्रहरुले जसरी महत्व दिएका छन्, त्यसैगरी नेपाल सरकारले पनि त्यसलाई विशेष महत्व दिनु जरुरी छ ।
(लेखकः बुटवल टुडे राष्टिय दैनिकका सम्पादक तथा रुपन्देही उद्योग संघका प्रेस सल्लाहकार हुन् ।)














प्रतिक्रिया