काठमाडौं, ७ पुस । एमाले अध्यक्ष केपी ओलीले एमाओवादीलगायतका केही दल संविधान नबनाउने र बन्न पनि नदिने ढंगले प्रस्तुत भइरहेको दाबी गर्दै अब दुई तिहाईभन्दा बढी मतले संविधान जारी गर्ने दाबी गरे ।
सहमतिका लागि अधिकतम लचिलो हुँदा पनि एमाओवादीलगायतका दलले संविधान निर्माणभन्दा पनि मोर्चाबन्दी र आन्दोलनका कार्यक्रम तयार पार्न थालेपछि उनीहरुको नियत स्पष्ट भइसकेको ओलीले बताए ।
‘उहाँहरुको छाँटकाँट संविधान नबनाउने र बन्न पनि नदिने जस्तो छ’ अध्यक्ष ओलीले आइतबार भने, ‘सहमतिका लागि हामी तयार छौं तर कोही सहमति हुनै नदिने कसम खान्छ, त्यस्तो ढंगले अघि बढ्छ भने अब पर्खेर बस्न सकिदैन संविधानसभाको ८० प्रतिशतभन्दा बढी मतले संविधान जारी हुन्छ ।’
शनिबार भएको प्रमुख चार दलको बैठकमा आफूले मोर्चाबन्दी नगरौं, संविधान जारी गरौ भन्ने आग्रह गर्दा एमाओवादी अध्यक्ष बम्किएर हिडेको ओलीले स्पष्ट पारेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
प्रधानमन्त्री सुशील कोइरालाले सुरुमै मोर्चाबन्दी नगरौ भन्ने कुरा गरेपछि पनि त्यसैलाई समर्थन गर्दै आफूले संविधान जारी गर्ने दिशातर्फ लाग्न आग्रह गरेको ओलीले बताए ।
‘मोर्चा बनेदेखि नै मैले भन्दै आएको थिएँ, मोर्चा नबनाऔ, यसमार्फंत् आवेश उत्तेजना फैलाउने काम नगरौु’ अध्यक्ष ओलीले भने, ‘त्यही कुरा मैले नम्र भाषमा सानो स्वरमा भनेको थिएँ, तर यो कुरा सन्नेवित्तिकै प्रचण्डजी आफै बुरुक्क उफ्रर हिड्नुभयो ।’
एमाओवादी र मधेसी दलहरुका तर्फबाट आएको विचार तथा प्रस्ताव मुलुकलाई झन् समस्यामा पार्ने खालका रहेकाले त्यसमा सहमत हुन नसकिने ओलीले भनाइ थियो ।
‘सहमतिका नाममा हामी देशलाई रुवाण्डा बनाउने खालका बिषयमा सम्झौता गर्दैनौ, देशमा विखण्डन आउने खालका विचारमा सहमत हुन सक्दैनौु’ अध्यक्ष ओलीले भने ।















प्रतिक्रिया