१ कार्तिक २०८३, आइतबार

त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्रको एमफिल पठनपाठन बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

TU-Offic-600x240

काठमाडौँ, ६ पुस । त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत सञ्चालित समाजशास्त्र विषयको एमफिल तहको पठनपाठन अत्यावश्यक निर्णय समयमै हुन नसकेका कारण ठप्प हुन पुगेको छ ।

त्रिविवि, मानविकी तथा सामाजिक सङ्काय डिनको कार्यालयले चार महिनादेखि एमफिल कार्यक्रमअन्तर्गत बिहानी र सन्ध्याकालीन दुई समूहमा कक्षा सञ्चालनको स्वीकृति, कार्यक्रमको छुट्टै खाता सञ्चालन र संयोजकको नियुक्तिसम्बन्धी निर्णय नगरिदिँदा पहिलोपटक सो तहका दुवै समूहका कक्षा सञ्चालन मङ्सिर २३ देखि बन्द पुगेका हुन् ।

त्रिविको एमफिल कार्यक्रममध्ये समाजशास्त्र विषयको एमफिल कार्यक्रम सबैभन्दा बढी विद्यार्थीको चाप र आकर्षक विषयका रुपमा मानिएको छ ।

विसं २०६९ देखि समाजशास्त्र÷मानवशास्त्र केन्द्रीय विभागअन्तर्गत सो तहको अध्ययन अध्यापन हँुदै आएको छ । दुई वर्षको अवधिमा ४३ जनाले सो तह अध्ययन पूरा गरिसकेका छन् ।

शैक्षिकसत्र २०७१ को कक्षा सञ्चालन भएको चार महिना बितिसक्यो । दुई समूहमा सञ्चालनको स्वीकृति अहिलेसम्म आएको छैन । यसले विद्यार्थीको वैधानिकतामाथि प्रश्न चिह्न उठेको छ ।

एमफिल कार्यक्रमका प्राध्यापकले सामूहिक रुपमा भन्नुभयो – “कार्यक्रमको संयोजक तोकिएको छैन । खाता सञ्चालनको अनुमति छैन । पहिलो सेमेस्टरको परीक्षा नजिकिसक्यो । प्राध्यापक कर्मचारीको पाँच महिनादेखिको पारिश्रमिक रोकिएको छ । विद्यार्थीलाई दिने शैक्षिक सामग्रीलगायतका सुविधा प्रभावित भएका छन् । यस्तो अवस्थामा पठनपाठन गरिरहँदा कसले जिम्मेवारी लिने ? यसैले हामीले हाम्रो नैतिक धरातल गुमेको अनुभव ग¥यौँ र कक्षा लिन गएनौँ ।” सो कार्यक्रम सुरु भएपछि सार्वजनिक विदाका दिनमा पनि कक्षा सञ्चालन हुने गरेको र हालसम्म एक दिन पनि पठनपाठनमा अवरोध नआएको उहाँहरूले जानकारी दिनुभयो ।

डिन कार्यालय नै बाधक

गत जेठ महिनाको अन्तिम साता डिन कार्यालयले एमफिल कार्यक्रमअन्तर्गत नयाँ भर्नाका लागि सूचना प्रकाशित गरेको थियो । एमफिल कार्यक्रम सञ्चालन समितिले दिएको जानकारीअनुसार समाजशास्त्रमा आवेदन दिने ५६ जना परीक्षार्थीमध्ये योग्यताक्रमका आधारमा ४० जनालाई दुई समूहमा भर्ना लिइएको थियो । भर्ना भएका विद्यार्थीमध्ये अधिकांश त्रिविअन्तर्गत समाजशास्त्रका अध्यापक रहेका थिए ।

उनीहरूले असार १७ गते संयुक्त रुपमा सन्ध्याकालीन समूहमा समेत कक्षा सञ्चालन गरी आफूहरूलाई एमफिल अध्ययन गर्ने अवसर दिन लिखित अनुरोध गरेका थिए ।

समाजशास्त्र÷मानवशास्त्र विषयको विषय समिति, केन्द्रीय विभाग र एमफिल कार्यक्रम सञ्चालन समितिको छुट्टाछुट्टै बैठकले विद्यार्थीबाट प्राप्त निवेदनका आधारमा सन्ध्याकालीन कक्षा सञ्चालन सुरु गरेको थियो ।

समाजशास्त्र÷मानवशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्रा डा ओम गुरुङले भदौको पहिलो हप्ता नै डिन कार्यालयलाई एमफिल कार्यक्रमको थप सन्ध्याकालीन कक्षा सञ्चालन गर्ने स्वीकृति दिन, संयोजक तोकिदिन र छुट्टै खाता सञ्चालनका लागि स्वीकृति दिन डिनको कार्यालयलाई पत्राचार गर्नुभएको विभागले जनाएको छ ।

तर डिन कार्यालयले हालसम्म उक्त निर्णयसम्बन्धी कुनै लिखित एवम् मौखिम जवाफ नदिएको एमफिल कार्यक्रम सञ्चालक समितिका एक प्राध्यापकले गुनासो गर्नुभयोे ।

आफ्नो नाम उल्लेख नगर्ने सर्तमा उहाँले भन्नुभयो, “हामी सामूहिक रुपमा पटक–पटक डिनलाई भेट्न गयौँ । लिखित रुपमा जानकारी गरायौँ तर उहाँले उल्टै किन दुई समूहमा भर्ना लिएकोे भनी प्रतिप्रश्न गर्नुभयो ।”

सो सङ्कायका डिन प्रा चिन्तामणि पोखरेल समाजशास्त्र विषयको एमफिल कार्यक्रममा देखिएका समस्या हल गर्न समाजशास्त्र÷मानवशास्त्र केन्द्रीय विभागलाई नै निर्देशन दिइसकेको र पठनपठान शीघ्र सञ्चालन हुने जानकारी दिनुभयो ।

समाजशास्त्र र मानवशास्त्रबीच विभेद

समाजशास्त्र-मानवशास्त्र केन्द्रीय विभागमा अध्यापन गर्दै आउनुभएका प्राध्यापकको ठम्याइ छ – शैक्षिक र प्रशासनिक हिसाबले यी दुई विषयका बीचमा गहिरो विभेद छ ।

त्रिविविको उच्च निकायले पनि यही गहिरोपनलाई अझ गहिरो बनाउन प्रश्रय दिइरहेको छ । विगतदेखि नै करिब ८०–९० प्रतिशत विद्यार्थी समाजशास्त्र र बाँकी १०–२० प्रतिशत मानवशास्त्र विषयका विद्यार्थी हुने गरेका छन् ।

विसं २०७० देखि सुरु भएको सेमेस्टर प्रणालीमा एम ए तहमा समाजशास्त्रमा ९० र मानवशास्त्र विषयमा २८ जना विद्यार्थी भर्ना भएका थिए ।

अर्काेतर्फ एमफिल कार्यक्रमको पहिलो समूहमा समाजशास्त्र र मानवशास्त्र दुवै विषयतर्फ २३/२३ जना भर्ना लिइए पनि दोस्रो वर्षमा समाजशास्त्रमा २३ र मानवशास्त्रमा १५ जना विद्यार्थी भर्ना भएका थिए ।

विसं २०७१ मा बिहान र सन्ध्याकालीन गरी समाजशास्त्रमा ४० र मानवशास्त्रमा १४ जना विद्यार्थीमात्र भर्ना भएका छन् तर समाजशास्त्र÷मानवशास्त्र केन्द्रीय विभागमा विद्यमान प्राध्यापकको आनुपातिक रुपमा ठीक उल्टो देखिन्छ ।

हाल केन्द्रीय विभागमा मानवशास्त्रतर्फ १५ र समाजशास्त्रतर्फ नौ मात्र पूर्णकालीन प्राध्यापकहरू छन् । चाखलाग्दो विषय के रहेको छ भने विभाग स्थापना भएको ३३ वर्षको अवधिमा २७ वर्ष मानवशास्त्र र छ वर्षमात्र समाजशास्त्रका प्राध्यापकले विभागीय प्रमुखको जिम्मेवारी पाएका छन् ।

त्रिविमा समाजशास्त्र÷मानवशास्त्र केन्द्रीय विभाग स्थापनाका नेतृत्वकर्ता, तत्कालीन डिन एवम् पूर्व शिक्षाध्यक्ष प्रा डा सूर्यलाल अमात्य समाजशास्त्र÷मानवशास्त्र विषयको अध्ययन अनुसन्धान विस्तार हुँदै गएको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो – यी विषयमा शैक्षिक तथा प्राज्ञिक उन्ननय गर्न त्रिविविको परम्परागत सोचमा परिमार्जन गर्ने समय आएको छ । रासस