चौतारा, ६ पुस । काठमाडौँबाट सिन्धुपाल्चोक पाङ्ताङ गाविसअन्तर्गत कात्तिकेतर्फ जाँदै गरेको यात्रुबाहक बसमा खम्बाबाट झोलिएको ११ हजार भोल्टको तारबाट करेन्ट प्रवाह भई मृत्यु भएका चारैजना यात्रुको सनाखत भएको छ ।
बा२ख २७०२ नम्बरको बस बराम्ची गाविस–२ बालुवामा पुगेपछि आज अपराह्न यो दुःखद घटना भएको हो । यो घटनामा मृत्यु हुनेमा बतासे–३ की ७० वषर््ािया मनमाया भुजेल, पाङ्ताङ–८ की ४५ वर्षीया सर्किनी स्याङ्वो, गोल्चे–४ का ४५ वर्षीय रेखबहादुर स्याङ्वो र गुम्बा गाविस–६ का २५ वर्षीय कामी भन्ने विकास तामाङ भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उक्त घटनामा घाइते भएका आठ यात्रुलाई काभ्रेको धुलिखेल अस्पतालमा लगिएको छ । बसमा करिब ५५ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ । विद्युत् खम्बाको दूरी टाढा भई तार झोलिएर बसमा छोएपछि करेन्ट प्रवाह भएको बताइएको छ । रासस















प्रतिक्रिया