काठमाडौँ, ६ पुस । उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमका प्रमुख सल्लाहकार रहनुभएका नेकपा एमालेकाा नेता प्रदीप नेपालले आइतबार राजीनामा दिनुभएको छ ।
मन्त्री सरहको सुबिधा पाउने गरी नियुक्त हुनुभएका नेपालले उहाँको राजीनामा भाई समिरमार्फत पठाउनु भएको थियो ।
गत साउनमा मन्त्रिपरिषद्को निर्णयबाट राज्यमन्त्रीसरहको हैसियतमा नेपाल नियुक्त हुनुभएको थियो ।
एमाले पोलिटब्युरो सदस्य नेपालले आइतबार राजीनामापत्र गृह मन्त्रालयमा पठाउनुभएको स्रोतले जानकारी दियो ।
राजीनामाको कारण खुलाइएको छैन । नेपालले सामाजिक सञ्जालबाट पनि आजैका मितिदेखि लागू हुने गरी सो पदबाट राजीनामा दिनुभएको जनाउनु भएपनि कारण भने खुलाउनुभएको छैन । उहाँ गौतमको सल्लाहकार नियुक्त हुँदा पनि निक्कै आलोचित बन्नु भएको थियो ।
उहाँ पछिल्लो समय गृहमन्त्रीसँग असन्तुष्ट बन्दै आउनु भएको थियो । माधव नेपाल निकट मानिने नेपाल एमालेको नवौँ महाधिवेशनमा ओली समुहबाट उपाध्यक्षमा प्रतिस्पर्धा गर्नुभएको थियो । बुटवलमा सम्पन्न एमालेको आठौँ माहाधिवेशनमा उहाँ नेता नेपालकै आग्रहमा ओली समुहबाट महासचिवमा प्रतिस्पर्धा गर्नुभएको थियो ।
त्यति बेला पनि उहाँले इश्वर पोख्रेलसँग चुनाव हार्नु भएको थियो । पछिल्लो समय भने उहाँ नेता माधव नेपालसँग रुष्ट बन्दै ओली नजिक बन्नु भएको थियो । गृहमन्त्री गौतम ओली समुहबाटै उपाध्यक्ष बन्नु भएको हो । नेपाल र गौतमको समान राजनीतिक हैसियत भए पनि नेपाल गौतमको सल्लाहकार बन्नु भएको थियो ।















प्रतिक्रिया