१ कार्तिक २०८३, शनिबार

शेयर माग्ने स्थानीय ‘गुण्डा’लाई तह लगाउन निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-koirala12काठमाडौं, ६ पुस । प्रधानमन्त्री सुशील कोइरालाले सिन्धुपाल्चोकका निर्माणाधीन चारसहित पाँचवटा जलविद्युत् आयोजनामा स्थानीय राजनीतिक दलका नेता तथा कार्यकर्ता तथा गुण्डाले लामो समयदेखि गरिरहेको अवरोध तत्काल खुलाउन गृह र ऊर्जा मन्त्रीलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले उपप्रधान एवं गृह मन्त्री वामदेव गौतम र ऊर्जामन्त्री राधा ज्ञवालीलाई तत्काल प्रहरी प्रशासन परिचालन गरी विद्युत् आयोजना निर्माणको काम निर्वाध रूपमा अघि बढ्ने वातावरण बनाउन निर्देशन दिएको जानकारी सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले दिएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

रिजालका अनुसार लामो समयदेखि निर्माणमा भइरहेको अवरोधले जलविद्युतो क्षेत्रमा विदेशी तथा स्वदेशी लगानीको वातावरणै बिग्रन लागेकामा प्रधानमन्त्रीले गम्भीर चिन्ता र चासो व्यक्त गर्दै गृह र ऊर्जामन्त्रीलाई तत्काल समस्या समाधान गर्न आग्रह गरेका हुन् ।

उनले स्वदेशी तथा विदेशी लगानीमा निर्माण भइरहेका कुनै पनि जलविद्युत आयोजनामा अवरोध छ भनेर आफूले फेरि सुन्नुनपरोस् भन्ने चेतावनीसमेत दिएको स्रोतले उल्लेख गरेको छ ।

उनले ४५ मेगावाटको भोटेकोसी आयोजनाका अधिकारी र स्थानीयबासीसित तत्काल वार्ता गरी शेयर विवाद मिलाएर प्रसारण लाइनको टावर पुननिर्माणको वातावरण बनाउनसमेत ऊर्जामन्त्री ज्ञवालीलाई निर्देशन दिएका छन् ।

सत्तारूढ कांग्रेस, एमाले, राप्रपा तथा विपक्षी एमाओवादीका स्थानीय जिम्मेवार नेता तथा कार्यकर्ता, स्थानीयबासी र गुण्डाका कारण निर्माणाधीन १ सय २ मेगावाटको मध्य भोटेकोसी, ५० मेगावाटको माथिल्लो बलेफी, २५ मेगावाटको माथिल्लो चाकु र ३.२ मेगावाटको गेलुङखोला जलविद्युत् आयोजनाको निर्माण कार्य अवरुद्ध भएको छ ।

निर्माण भइसकेको ४५ मेगावाटको भोटेकोसी आयोजना स्थानीय अवरोधकै कारण प्रसारण लाइनको चारवटा टावर पुननिर्माण गर्न नपाएका कारण तीन महिनाभन्दा बढी समयदेखि विद्युत् उत्पादन बन्द गर्न विवश भइरहेको छ । सिन्धुपाल्चोकको जुरेमा गएको भीषण पहिरोमा परी ती टावर ध्वस्त भएका हुन् ।

टावरको अभावमा भोटेकोसीको विद्युत् वितरण हुन नपाएका कारण आमजनताले थप एक घन्टा लोडसेडिङको समस्या भोग्नुपरिरहेको छ भने आयोजनालाई दिनहुँ ८६ लाख रुपैयाँ घाटा भइरहेको छ ।

निर्माण भइसकेको भोटेकोसीमा अमेरिकी लगानी छ भने निर्माण रोक्न बाध्य ५० मेगावाटको माथिल्लो बलेफी आयोजनामा भारतीय कम्पनी भिलबार्डाको लगानी छ ।