२९ आश्विन २०८३, बिहिबार

यौन दुर्व्यवहार : पुरुष हिंसा कि युवतीहरुको उत्तेजना ?

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shiva-Dhungana

शिवप्रसाद ढुंगाना

‘दाइ, अलिक उता सर्नु त’ परिचितै जस्तो आवाज आयो ।  उनीहरुतिर हेरेँ, १७/१८ वर्ष उमेरकी युवती रहिछन् । उनी म भन्दा पछि बसमा उभिएरै यात्रा गरिरहेकी थिइन् । उनको आग्रह अनुसार म एक कदम अगाडि सरेँ । सिट नपाएर म पनि उभिएको थिएँ । तर, त्यो भन्दा अगाडि सर्ने ठाउँ थिएन । उनी मसँगै टासिन आइपुगिन । मलाई लाग्यो, पछाडिबाट कसैले ठेलेछ । पछि फर्केर हेरेँ, उनीपछि अर्को एकजना उभिने ठाउँ थियो । मलाई अलि असहज लाग्यो, र म अगाडिको केटा साथीलाई ठेलेर अघि सरेँ ।

००००
‘बस्नुस न दाइ, तीन जना त अटिन्छ नि’ अपरिचित युवतीले उभिएको देखेर मलाई बस्ने अफर गरिन् । चिनेर हो कि भन्ने लागेर अनुहार हेरेँ, विलकुल अपरिचित । दुई जनाको सिटमा दुई जनै बसेका थिए । छेउमा बस्न अनुरोध गर्नु मानवियता होला भन्ने लागे पनि मैले ‘यहाँ पनि ठिकैछ तीन जना अटिन्न’ भन्ने जवाफ फर्काएँ । र, उभिएर यात्रा गर्दै थिएँ ।

पहिलो अनुरोधको २० मिनेट नबित्दै दोस्रोपटक फेरि सिटको झ्यालपट्टि बस्ने युवतीले बस्न कर गरिन् । ‘छेउमा अप्ठेरो भएबीचमै बस्नुन त’ उनले भनिन् । ग्याप छेउकी युवतीले पनि सहि थप्दै कर गरिन् । म अलमल परेर नाजवाफ भए ।

म उठेकै थिएँ । दुबैले मेरो हात तानेर उनीहरुको बिचमा बसाउन खोजे । दुई युवतीका बीचमा बस्न असहज लागेर म छेउमै बस्छु भनेर छेउमा सिटको आडमा अडिएर बसेँ । बसले हल्लाउँदा ती युवतीले सबै शरिर छोडेर मेरो आडमा निदाएको अभिनय गर्न लागिन् । उनका संवेदनशील अंग मेरो ढाडमा लगातार ठोकिन थालेपछि म उठेर उभिएँ । म उठेपछि दुवैले मलाई किन ‘लजाएको’ भन्दै गलल्ल हाँसे ।
००

यी विवरण कुनै काल्पनिक नभएर सिद्धिचरण राजमार्ग अन्तर्गत पूर्वी पहाडका जिल्लामा यात्रा गर्दा एक महिनाको अवधिमा मैले गरेका अनुभव हुन् । यी विवरण यहाँ प्रस्तुत गर्नुको कारण सार्वजनिक यातायातमा पुरुषबाट महिलामाथि बारम्बार हिंसा भएका समाचार आइरहेका समयमा हिंसाका कारक महिला नै हुन् भनेर आक्षेप लगाउन होइन कि सार्वजनिक सवारीमा यात्रा गर्दा महिलामाथि हुने गरेका हिंसाका घटना र तीनका कारण बारेका टिका टिप्पणीको तात्विक धरातल कहाँनिर छ भनेर खोतल्न हो ।

माथि प्रस्तुत घटनालाई कसैले पुरुष हिंसा भन्लान्, कसैले पुरुषप्रति देखाएको दयाभाव । तर, मेरो हेराइमा दुवै होइनन् । यी घटनालाई ती युवतीहरुको ‘उत्तेजना’ भन्न सकिन्छ । अक्सर महिलामाथि सार्वजनिक सवारीमा धेरै अभद्र व्यवहार भएका होलान् । संख्यात्मक रुपमा थोरै भए पनि महिलाका यस्ता ‘अस्वाभाविक’ व्यवहार पनि पुरुषमाथि भएका छन् । जसले पुरुषलाई हिंसा गर्न प्रेरित गरेका छन् । उल्लेखित घटनामा म आफू सामाजिक उत्तरदायित्व बोकेको व्यक्ति भएकाले आफू सतर्क थिएँ । तर नियत नै खराब राख्ने हो भने ती युवतीहरुको त्यस्तो आचरणपछि निम्तने खतरा के हुन्थ्यो सहज अनुमान गर्न सकिन्छ ।

यहाँ उठाउन खोजिएको विषय के हो भने महिला हिंसाको कारक पुरुष मात्रै हो भनेर लाग्ने गरेको अति नारीवादी आरोप शतप्रतिशत सहि होइन भन्ने नै हो । महिला हिंसा हुनुमा त्यसमा उत्प्रेरकको रुपमा महिलाले पनि काम गरेका छन् । यहाँ समस्या पुरुषमा मात्रै छ कि भन्ने भ्रम हुने गरी अति नारीवादीले आरोपित गरिरहेका छन् । तर वास्तविकता त्यस्तो होइन । महिलामाथि हुने हिंसा कम गर्न पुरुषसँगकै सहकार्यबाट मात्रै सम्भव छ । समस्या पुरुषहरुमा होइन कि पुरुष सत्ता र विगतमा यसले निर्माण गरेको सामाजिक–आर्थिक–सांस्कृतिक र मनोवैज्ञानिक संरचनामा छ । र, त्यही असर हो कि अहिले पनि कता कता ससुरा वा पुरुषले मात्रै होइन सासुले बुहारीमाथि गरिरहेको हिंसा ।

अहिले भइरहेका महिला हिंसा बिरुद्धका अभियानमा पुरुषहरुलाई गाली गरेर आत्मसन्तुष्टि लिने प्रवृत्ति बढ्दो छ । घटनाहरु पनि पुरुषकै कारणले बढि भइरहेका छन् । तर पुरुषलाई गाली गरेर विल्कुल समाधान हुन सक्दैन । त्यसको उत्तम विकल्प भनेकै पुरुष–महिला सहकार्य हो । आफुमाथि हुने हिंसाका उत्प्रेरक पनि महिला नै देखिएका छन् । यहाँ उल्लेख गरिएका विवरणले पनि त्यसैको पुष्टि गर्दछन् ।

पुरुषको विरोध मात्रै लैंगिक समानताको आधार होइन । निरपेक्ष रुपमा पुरुषको विरोधले मात्रै लैंगिक समानता खडा हुँदैन । ‘आजसम्म पुरुषले शासन गरे, हामीलाई नियन्त्रणमा राखे, हिंसा गरे अब हामीले पनि पुरुषमाथि त्यसै गर्नु पर्छ भन्ने’ अति नारीवादी चिन्तन समानताका लागि होइन, प्रतिशोध र आक्रोशमा केन्द्रित छ । जसले लैंगिक समानतामा महिला र पुरुषको दूरीलाई नजिक ल्याउँदैन झन् टाढा पु¥याउँदैछ । र, असमानताको खाल्डो पनि गहिरिँदै छ ।