एमाले केन्द्रीय कमिटीको चौथो बैठक मंगलबार सकिएपछि भावनात्मक रूपमै अब पार्टी एक भएको दाबी नेताहरूले गरिरहेका छन् । बैठक सकिएकै दिन मंगलबार साँझ नेताहरूले गोकर्ण रिसोर्टमा रमाइलो जमघट पनि गरे । अध्यक्ष केपी ओलीकै अग्रसरता र उपप्रधानमन्त्री तथा उपाध्यक्ष वामदेव गौतमको सौजन्यमा भएको सो जमघटलाई केन्द्रीय सदस्य रवीन्द्र अधिकारी यसरी सम्झिन्छन् :
गोकर्ण रिसोर्टमा भएको जमघट कुनै विशेष तयारीका साथ गरिएको ठूलो समारोह होइन । तथापि, सानो भए पनि यो जमघट हामी सबैका लागि विशेष र अर्थपूर्ण बन्न पुग्यो । खानपिन ठूलो कुरा होइन, आपसी हार्दिकताका कारणले त्यहाँको माहोल विशेष थियो । विगतमा पनि एमालेभित्र यस्ता जमघटहरू भएका छन्, तर यसपटक मिडियामा आएकाले चर्चा पनि बढी भयो ।
एक हप्ता लामो केन्द्रीय समिति बैठक मंगलबार बेलुकी करिब ५ बजे सकिएको थियो । त्यसअघि नै अध्यक्ष कमरेड केपी ओली र अन्य नेताहरूको सल्लाहमा गोकर्ण रिसोर्टमा जम्मा हुने तय भइसकेको थियो । सबैलाई ६ बजे त्यहाँ पुग्न भनिएको थियो । हामी सबैजना आ–आफ्नो सवारीमा त्यहाँ पुग्यौँ ।
जमघटमा एमालेका पदाधिकारी, स्थायी कमिटी सदस्यहरू र पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरूको सहभागिता थियो । करिब ३० जना थियौँ होला । सबै खुसी मुद्रामा थिए ।
सुरुमा औपचारिक कार्यक्रमसमेत भयो । शीर्ष नेताहरूले छोटा–छोटा भाषण गर्नुभयो । बोल्ने क्रममा अध्यक्ष ओलीले ‘यो एकता त सुरुवात मात्र हो, अब एमाले बिजुलीको गतिमा अघि बढ्छ’ भन्दा हामी सबैले ताली ठोकेका थियौँ । पूर्वअध्यक्ष झलनाथ खनालले यो एकताबाट आफू सबैभन्दा खुसी भएको बताउनुभयो । यसबाट अरू पार्टीलाई पनि एकताको संस्कृति बसाल्न शिक्षा मिल्ने धारणा उहाँले राख्नुभएको थियो । यस्तै उपाध्यक्ष वामदेव गौतमले एमाले ऐतिहासिक बिन्दुमा आइपुगेको भन्दै योभन्दा खुसीको क्षण आफ्ना लागि अरू कुनै हुन नसक्ने बताउनुभयो ।
त्यस जमघटमा अनुपस्थित वरिष्ठ नेता माधव नेपाललाई हामी सबैले ‘मिस’ गर्यौँ । उहाँ पहिले नै तय भइसकेको पार्टीको पर्वत जिल्ला अधिवेशन उद्घाटन गर्न त्यसतर्फ जानुभएकाले सहभागी हुन सक्नुभएन । उहाँ भएको भए माहोल अझै जम्थ्यो होला ।
औपचारिक भाषणपछि खानपिन र नाचगानको क्रम सुरु भयो । खानेकुरामा खसी र कुखुराको मासुका परिकारहरू थिए । दाल, भात, तरकारी पनि थियो । पेय पदार्थमा ह्विस्की, बियर थिए । ड्रिंक्स नगर्नेहरूका लागि चिसो पेयहरू थिए । सहभागीमध्ये आधाजसो ड्रिंक्स नगर्ने हुनुहुन्थ्यो । अध्यक्ष ओली, उपाध्यक्ष विद्या भण्डारी, सचिव योगेश भट्टराईलगायतले ड्रिंक्स लिनुभएन । ओलीले ड्रिंक्स नगरे पनि खानपिन मज्जाले गर्नुभयो । उहाँ अहिले पनि मासुका परिकारहरू मीठो मानेर खानुहुन्छ ।
खानपिनसँगै जनवादी गीतहरू गाएर नाच्न थालियो । सिमली छायामा, गाउँ–गाउँबाट उठ बस्ती–बस्तीबाट उठ, शीतल पर्यो छायाजस्ता गीतहरू गाएर नाच्यौँ । मैले र योगेश भट्टराईले नाचेको फोटो मिडियामा आयो, तर त्यहाँ ननाच्ने कोही थिएन भन्दा हुन्छ । झलनाथ, वामदेव, सुरेन्द्र पाण्डेलगायतले कम्मर भाँची–भाँची नाच्नुभयो । अध्यक्ष ओलीले कम्मरै त भाँच्नुभएन, तर उभिएर यसो हल्लिनुभयो । उहाँले गीत पनि गाउनुभयो । नाचगान मात्र होइन, कविता र चुट्किला सुनाउने कामहरू पनि भए ।
६ बजे सुरु भएको जमघट राति साढे आठ बजे सकियो । त्यसपछि सबैजना छुट्टिएर आ–आफ्नो घरतिर लाग्यौँ ।

०००
यतिवेला एमालेभित्रको एकताको गहिरो अर्थ छ । अहिलेको परिवेशमा संविधान निर्माणका निम्ति दलभित्र एकताको वातावरण अपरिहार्य कुरा हो । त्यसैले यो एकता हाम्रो लागि बाध्यात्मक पनि थियो ।
मूल रूपमा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको टकराब नै एमालेभित्रको अन्तरद्वन्द्वको मूल कारण बनिरहेको थियो । तर, पछिल्लो समय नेपाल पनि पार्टीभित्र स्थायी प्रतिपक्षी बनेर बस्ने मुडमा हुनुहुन्थेन । मन नलागी–नलागी लडिरहनुभएको उहाँ पनि थकित भएर यही क्षणको प्रतीक्षामा हुनुहुन्थ्यो । अर्कोतिर पार्टीमा तलैदेखि एकताका निम्ति दबाब आइरहेको स्थिति थियो ।
यो वातावरण निर्माणमा उपाध्यक्ष वामदेव फ्याक्टरले पनि भूमिका खेल्यो । उहाँ पार्टी एक बनाउनुपर्छ भन्ने पक्षमा पहिलेदेखि नै लागिरहनुभएको हो । माधव नेपाललाई तेस्रो वरियता दिनुमा उहाँको रणनीतिले नै काम गरेको थियो ।
एमालेभित्र सिद्धान्तको त कुनै विवाद थिएन । अपवादमा बाहेक नेपालको कम्युनिस्ट आन्दोलनमा देखापर्ने विवाद र टुटफुटका घटना सिद्धान्तका कारणले हुँदैनन् । पछिल्लो अवस्था सबै पार्टीमा हेर्नुभयो भने विवादको कारण सैद्धान्तिक नभएर प्राविधिक मात्र छ । जस्तै, कांग्रेसभित्र सुशील कोइराला र शेरबहादुर देउवाबीच सिद्धान्तको कुनै विवाद छैन, तर उहाँहरू कहिल्यै मिल्न पनि सक्नुभएको छैन । एमाओवादीभित्र प्रचण्ड र बाबुराम भट्टराईको अवस्था पनि त्यही हो । ड्यास माओवादीबाट विप्लव फुट्नुमा सैद्धान्तिक कारण देखाइए पनि वास्तविकता त्यस्तो देखिँदैन । हाम्रो पार्टी पनि यसमा अपवाद रहेन । लामो समयदेखि नेताहरूको व्यक्तिगत टकराबकै कारणले पार्टी एक भएर अघि बढ्न सकेको छैन ।
पछिल्लो एकता कति दिगो हुन्छ भनेर त म भन्न सक्दिनँ, तर यसले पार्टीभित्र एक किसिमको उत्साह सञ्चार भने गरेको छ । अरू पार्टीभित्र पनि एकताको वातावरण बन्ने हो भने यसले संविधान निर्माणमा पनि सहजता ल्याउँछ भन्ने मलाई लाग्छ ।
प्रस्ततिः चिरञ्जीवि (नयाँ पत्रिका दैनिकबाट साभार)

















प्रतिक्रिया