१ कार्तिक २०८३, शनिबार

कुरान पढ्ने न्यायधीशले हिन्दूशास्त्रमा विद्यावारिधि गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kuraniकाठमाडौं, ५ पुस । मुस्लिम समुदायको पवित्रग्रन्थ कुरान पढेर अल्लाहको प्रार्थना गर्ने पाटन पुनरावेदन अदालतका न्यायाधीश सलाहुद्दिन अख्तर सिद्दिकीले हिन्दुशास्त्र ‘मनुस्मृति’मा विद्यावारिधि पूरा गरेका छन्।

‘शोधकार्य पूरा गरी बुझाइसकेको छु’, ५९ वर्षीय सिद्दिकीले शुक्रबार भने, ‘एकदुई दिनमै विद्यावारिधिको उपाधि लिने तयारीमा छु।’

शोधकार्य सुरु गरेको तीन वर्षपछि नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि उपाधि लिने तरखरमा छन् सिद्दिकी। आफू हिन्दुशास्त्रमा विद्यावारिधि गर्ने पहिलो मुस्लिम भएको उनले बताए ।

हिन्दु सामाजिक तथा कानुनी व्यवस्थाका पिता मानिने मनुले विश्वको प्राचीन सामाजिक तथा न्यायिक व्यवस्था विश्लेषण गर्न मनुस्मृति रचना गरेका हुन्।

यो हिन्दुको अठार स्मृतिमध्ये एक हो। यस ग्रन्थलाई मानव धर्मशास्त्र मानिन्छ।

मनुस्मृतिमा उल्लिखित व्यवस्थाका आधारमा प्राचीन परिवार व्यवस्थित भएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

मनुस्मृतिले पारिवारिक एवं सामाजिक व्यवहारका लागि दिशा प्रदान गरेको सिद्दिकीको निष्कर्ष छ।

‘न्यायाधीश भएपछि नेपाली कानुन अध्ययन गर्दा ८० प्रतिशत हिन्दुशास्त्रबाट प्रभावित पाएँ, धर्मसंस्कृतिले कसरी कानुन प्रभावित पारेको रहेछ भनेर जिज्ञासा उठ्यो’, उनी भन्छन्, ‘फेरि मनुस्मृति विश्वप्रसिद्ध ग्रन्थ पनि हो।’

उनले शोधमा मनुकालीनन पारिवारिक व्यवस्था र नेपालको पारिवारिक विवादको विश्लेषण गरेका छन्। सामाजिक सुव्यवस्थाका लागि मनुस्मृतिको रचना भएको उनले बताए।

‘आज पनि विवाह, सम्बन्धविच्छेद र अंशजस्ता विषयमा पारिवारिक विवाद बढिरहेको छ’, उनले भने, ‘यस्ता विवादका कारक तत्त्वको पहिचान र समाधानमा प्रभावकारी उपाय पत्ता लगाउन मनुस्मृति अध्ययन अपरिहार्य छ।’