गौशाला, ३ पुस । जिल्लाको भारतसँग खुल्ला रहेको सीमा क्षेत्रबाट अहिले चौपायाको तस्करी बढेको छ ।
सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीयका अनुसार नेपाल–भारतका सुरक्षाकर्मीको सक्रियतामा केही समयदेखि निरुत्साहित भएको चौपाया तस्करी पुनः मौलाउँदै गएको छ ।
चौपाया तस्करीका लागि महोत्तरीका पश्चिमी र दक्षिणी सीमा नाका सम्सी, खैरबन्नी, रघुनाथपुर, कटैया, इटहर्वाकट्टि, बथनाहा, एकडारा, मनरा, नैन्ही, सुगा, भवानीपट्टि चर्चित रहँदै आएको छ ।
जिल्लाका भारतीय सीमा नाकाको सुरक्षामा खटिएका सशस्त्र तथा नेपाल प्रहरीेले चौपाया तस्करी नियन्त्रण प्राथमिकतामा रहेको र चौपाया तस्करी नहुने गरेको दाबी गर्दै आएपनि तस्करी रोकिएको छैन ।
भारतीय सीमा सुरक्षा बल एसएसबीले खुला सीमाका कारण नेपालबाट भारत र भारतबाट नेपाल चौपाया तस्करी पूर्ण नियन्त्रण भने हुन नसकेको जनाएको छ ।
भारतीय सीमा सुरक्षाकर्मीले एक हप्ताअघिमात्रै नेपालबाट भारत लगिएको १०० गाई, १३ गोरु र १७ राँगा सीमाक्षेत्रमै समातेको थियो ।
अहिले महोत्तरीको सम्पूर्ण भारतीय सीमा नाका भएर दैनिक दुईदेखि तीनसयसम्म चौपाया तस्करी हुने गरेको स्थानीयवासीको भनाइ छ । रासस















प्रतिक्रिया