२९ आश्विन २०८३, बिहिबार

अमेरिकामा शरीरको बदला १८ करोड रुपैंया पाएका नेपालीको मर्मस्पर्शी व्यथा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shree-Gurung-USA

अनुज थापा / न्युयोर्क 

– एउटा तराजुमा उनको ९ वर्षभन्दा बढीको मानसिक पीडा र अर्काे तराजुमा यति ठूलो रकम कुनको वजन बढी पाउनुहुन्छ भन्ने प्रश्नमा श्री भन्छन् – पीडा ।

– मैले आफ्नो परिवारलाई मेरो पीडाको २० प्रतिशत कुरा पनि भनिन ।

– त्यसदिन भगवान् मेरो दाहिने भएका रहेछन् ।

सन् २००५ जुन ६ तारिख

“ ३–४ वर्षअघि आत्महत्या गर्ने सोच नआएको पनि होइन् तर आँखा अगाडि आफ्नो तीन सन्तानको तस्वीर आउँथ्यो अनि म संहालिन्थें ।” आँखाभरि आँशु बनाउँदै श्री गुरुङले आफ्नो अमेरिकाको कथा सुनाइरहेका थिए । ९ वर्षभन्दा बढी समय सम्मको मानसिक पीडाबाट एकहदसम्म मुक्ति पाएका छन् श्रीले । श्री गुरुङ अर्थात श्री दोर्जे आङप्पा गुरुङ ।

श्रीको जीवनमा कहिल्यै बिर्सन नसकिने दिनहरु, दुईवटा छन् । एउटा कालो दिन, सन् २००५ जुन् ६ र अर्काे खुशीको दिन, सन् २०१४ डिसेम्बर ३ ।

जुन ६ तारिखको त्यो दिन, उनको जीवनमा नआएको भए शायद यो कथा आज लेखिन्नथ्यो होला । त्यो दिन श्री दुर्घटनामा परेका थिए । दुर्घटनाले उनको जीवनमा अर्काे मोड ल्यायो । ‘पीडा नै पीडाको मोड’ ।

उनको जीवनमा खुशीको दिन डिसेम्बर ३ तारिखमा आयो । ९ वर्षको प्रतिक्षापछि श्रीको जीवनमा ठूलो परिवर्तन आएको थियो । त्यस दिन उनलाई उनको शारिरिक र मानसिक पीडाको क्षतिपूर्ति स्वरुप दिइयो –‘१.९ मिलियन डलर’, अर्थात नेपाली रुपैंया १८ करोडभन्दा बढी ।

श्री अमेरिका आएदेखि नै कन्स्ट्र«क्सनको काम गर्थे । उनले यहाँ आएर सिकेको पहिलो काम नै यही थियो र यसमा धेरै पैसा पनि कमाइन्थ्यो । त्यस दिन पनि श्री न्युयोर्क सिटीको म्यानह्याटनमा कन्सट्रक्सनको काममा गएका थिए । उनीसँग उनका साथी घिर्मे गुरुङ पनि सँगै काम गर्दै थिए । १२ तलाको बिल्डिङमा झुण्डिएर काम गरिरहेका उनीहरु १० औं तलामा थिए । अचानक उनीहरुलाई थामिरहेको भित्ताको एउटा इट्टा उछिट्टिएर तल झर्‍यो । उनीहरु आफूलाई सम्हाल्न खोज्दै थिए तर त्यसबीचमा धेरै ढिलो भइसकेको थियो, उनीहरु १० तलाबाट खसे । खसे पश्चात उनको होस अस्पतालको बेडमा खुल्यो । अस्पतालमा उठ्दा थाहा भयो कि उनको दुबै हात भाँचिएका थिए, ढाडमा समस्या आएको थियो, दाँतहरु सबै फुस्किएका थिए र टाउकोमा पनि चोट लागेको थियो । उनको साथी घिर्मे गुरुङलाई पनि चोट लागेको थियो तर श्री जतिको गम्भीर घाइते उनी थिएनन् ।

त्यहाँ उनको उपचार हुन्छ र ९ दिनपश्चात श्री अस्पतालबाट डिस्चार्ज हुन्छन् । त्यस लगत्तै उनलाई थाहा हुन्छ कि अब जीन्दगीभर श्री काम गर्न सक्दैनन् । डाक्टरले उनलाई १५ पाउण्ड अर्थात ६ किलोभन्दा बढीको वस्तु उठाउन नसक्ने र पहिलेको काममा फर्कन नसक्ने बताउँछन् । यस कुराले उनको जीवनमा भुँइचालो जान पुग्छ । कमाउन भनेर अमेरिका आएका श्री, अब “श्री” कमाउन नसक्ने भए ।

सन् २००१ नोभेम्बर ८ मा न्युयोर्क टेकेका श्री आफ्नो परिवारको आर्थिक अवस्था सुधार्न अमेरिका छिरेका थिए । श्रीमती, दुई छोरी र एक छोरालाई नेपालै छाडेर धेरै नेपाली जस्तै उनी पनि यो सपनाको देश आएका थिए । सानी छोरी ५ महिना पनि पूरा भएकी थिइनन् जब उनी यहाँ आएका थिए । अहिले त सानी छोरी १४ वर्षकी भइसकिन् भने ठूली २१ र छोरा १९ वर्षको भइसके । अमेरिकामा धेरै कुरा गाह्रो छ र सोचे जस्तो सबै कुरा नहुने बताउँछन् श्री । “पाइलट बन्न आएकाहरु ट्याक्सी ड्राइभर भएको पनि देखेको छु ।” तर यहाँको कानुन, स्वास्थ सेवा निकै नै मन परेको बताउँछन् श्री । “पैसा कमाउनका लागि यो देश सबैभन्दा राम्रो देश हो । ”

अस्पतालको बसाई पश्चात् श्री त्यो दुर्घटना भएको ठाउँ हेर्न गए । म्यानह्याटनको १२५ रिभरसाइड ड्राइभसिटीमा उनको दुर्घटना भएको थियो । त्यहाँ पुग्ने बित्तिकै आङ सिरिङ्ग भएको श्री बताउँछन् । श्री त्यहाँ पुगेपछि थाहा भयो कि त्यस दिन उनलाई भगवान्ले हात थापिदिएका रहेछन् । त्यस दिन १० तलाबाट उनी त्यही घरसंगै जोडिएको अर्काे घरमा खसेका रहेछन् जुन् ७ तलाको थियो । यदि एक फुट पनि यता उति भएको भए उनी सिधैं तल जमिनमा खस्ने र उनको ज्यान जान सक्ने रहेछ । उनी भन्छन् –“त्यसदिन भगवान् मेरो दाहिने भएका रहेछन् । ”

पीडा नै पीडा

पैसा कमाउन अमेरिका छिरेका श्री अब काम गर्न नसक्ने भएका थिए । परिवारलाई पाल्न यहाँ आएका उनलार्ई, आफैंलाई पाल्न गाह्रो थियो । बब्लु जनरल कन्स्ट्रक्सन जहाँ पहिला उनी काम गथर्,े त्यहाँ फेरी काममा जान उनलाई सम्भव थिएन । उनले अब त्यो काम गरेको कम्पनीविरुद्ध क्षतिपूर्तिको दाबी गरे र शुरु भयो उनको लडाइँ ।

यसबीचमा उनलाई Worker’s Compensation Board अर्थात कामदार क्षतिपूर्ति बोर्डबाट हरेक हप्ता ३०० डलर हातमा पर्दथ्यो जुन पछि गएर १३३ डलरसम्म पनि झरेको थियो। (यो बोर्डले चाँहि कामदार काममा हुँदा घाइते भयो भने अर्काे काम नपाउँदा वा मुद्धाको फैसला नहुँदासम्म घाइतेलाई राहत स्वरुप केही रकम दिने गर्छ) यो पैसाले उनलाई आफैंलाई पाल्न धौधौ हुन्थ्यो, नेपाल पैसा पठाउने त धेरै परको कुरा थियो । यसबीचमा उनले काम गर्न नखोजेका पनि होइनन् तर स्वास्थ्यको अगाडि कसको के लाग्थ्यो र ? श्रीले १ दिन क्यासियरको काम पनि गरेका थिए । उनी त्यहाँ एकदिन पनि राम्ररी टिक्न सकेनन् । उनले भोलिपल्टै काम छोड्न प¥यो किनभने उनको हातले अलिकति भारी चिज पनि उठाउन सक्दैनथ्यो ।

खराब स्वास्थ्य त्यसमाथि परिवारको आर्थिक दायित्व । घरमा श्रीमती र छोराछोरीसँग कुरा हुँदा आफ्नो पीडा उनी खोल्दैनथें । “मैले आफ्नो परिवारलाई मेरो पीडाको २० प्रतिशत कुरा पनि भनिन । म चाहन्थें कि म दुःखी भए पनि मेरो परिवारलाई दुःख दिन्न । जेनतेन सरसापट गरेर भएपनि म आर्थिक जोहो गरिदिन्थें । यस कुरामा धेरै खुशी लाग्छ कि उनीहरुसँग मेरो पीडा मैले सबै साटिन । ”

अदालतमा दुःख परेको बेला केही साथीहरुले ‘यो श्री पागल हुन्छ, यसले मुद्दा जित्दैन’ भनी उडाएको देख्दा मन खिन्न भएको उनी अहिले स्मरण गर्छन् । “यस्ता कुरा केवल सुन्नु बाहेकको विकल्प पनि त थिएन ।” देब्रे हातको दुई पटक शल्यक्रिया गरेको र निरन्तर ढाड र टाउको दुखिरहने समस्या छ उनलाई । “अदालतको फैसला कुर्नु जत्तिको पीडा केही नहुने रहेछ,” श्री भन्छन् ।

खुसीको दिन अर्थात सन् २०१४ डिसेम्बर ३ तारिख

“दुःख गर्दै जाने हो र धैर्य गर्दै जाने हो सब ठीक हुन्छ ।” सन् २०१४ डिसेम्बर ३ तारिख श्रीको मुद्दाको अन्तिम किनारा हुने दिन हुन पुग्यो । त्यस दिन दुबै पक्षबीच सहमति भयो । सहमति अनुसार श्री र श्रीको साथीलाई यो ९ वर्ष भन्दा बढीको पीडाको मुल्य संयुक्त रुपमा तोकियो –२.८ मिलियन डलर । श्रीको भागमा १.९ मिलियन र उनको साथी घिर्मे गुरुङको भागमा ९ लाख डलर प¥यो ।

“मलाई त्यसदिन ढुंगामा प्वाल परेर फुल उम्रेको जस्तो अनुभव भएको थियो । भग्वानले तँ आँट ,म पु¥याउँछु भनेको साँचो रहेछ ।” त्यसदिन फैसला हुनेबित्तिकै हाल काठमाडौंमा बसिरहेकी श्रीमतीलाई फोन गरेका श्रीले त्यसपछि लामो सास फेरेको बताउँछन् । “ठूलो पीडाबाट मुक्ति मिलेपश्चातको खसी शब्दमा बयान गर्न पनि सक्दिन ।”

विक्रम सम्बत २०२४ जेठ ४ गते मुस्ताङको कागबेनी गाविसमा जन्मिएका श्री अमेरिका आउँदा ३४ वर्षका थिए र अहिले ४७ वर्षका भए । “९ वर्ष ७ महिनाको पर्खाइ पछि जित हुँदा, घरमा परिवार हर्षले २४ घण्टा सुतेनन्,” श्री खुशी हुँदै भन्छन् । बच्चाहरुसँग फोनमा कुरा गर्दा आफू निकै नै भावुक बनेको र केहीबेर गला अवरुद्ध समेत भएको थियो श्रीको ।

durga-bhurtel-USA

वकिल दुर्गा भुर्तेलको साथ

श्री गुरुङ र घिर्मे गुरुङको मुद्दा न्युयोर्कमा वकालत पेशा अपनाइरहेका दुर्गा भुर्तेलले हेरेका थिए । “दुर्गाजीले मेरो जीवनमा ठूलो अर्थ राख्नुहुन्छ, यदि उहाँको साथ नभएको भए, आज यो खुशीको दिन देख्न पाइन्नथ्यो ” । यति लामो समयसम्म मुद्दा चल्दा आफू मानसिक रुपमा विक्षिप्त हुँदा दुर्गा भुर्तेलले आफूलाई राम्रो काउन्सिलिङ गरेको कारण आफूमा आत्मविश्वास बढेको श्री बताउँछन् ।

यति लामो समयसम्म मुद्दा लम्बिनुको कारण सोध्दा उनका वकिल भुर्तेल भन्छन् – “सामान्यतः यस्तो मुद्दा ४–५ वर्षभित्र टुंगो लाग्छ तर श्रीजी र घिर्मेजी दुबैको मुद्दा एउटै भएको हुँदा दुबैको मुद्दा संयुक्त रुपमा गर्दा समय लागेको हो । त्यसमाथि उहाँहरुको मेडिकल जाँचहरुले पनि मुद्दा लम्बिएको हो ।”

अबको बाटो

श्री गुरुङले धेरैपटक न्युयोर्कको ज्याकसन हाइटको मुस्ताङ थकाली रेस्टुरेन्टमा ढिंडो खाएका छन् । तर यसपटकको ढिंडो भात उनलाई धेरै नै मीठो लागेको थियो । पानी परेपछिको आकाश खुलेझैं थियो, उनकोे मुहार । हंसिलो अनुहार र चिटिक्क परेर अन्र्तवार्ता दिन आएका श्रीको अनुहारबाट अर्कै तेज आइरहेका थियो । एउटा लामो हिंडाइपछि जब मानिसले आनन्दले थकान मार्न पाउँछ त्यसपछि उसको मुहारमा आउने क्रान्ति र स्फूर्ति नै बेग्लै हुन्छ । त्यसदिन त्यही स्फूर्तिका साथ श्री अन्र्तवार्ता दिन आएका थिए ।

Shree-Gurung-USA1

एउटा तराजुमा उनको ९ वर्षभन्दा बढीको मानसिक पीडा र अर्काे तराजुमा यति ठूलो रकम, कुनको वजन बढी पाउनुहुन्छ भन्ने प्रश्नमा श्री भन्छन् – पीडा ।

“स्वास्थ्य नै ठूलो धन हो तर अब यो धन मैले कहिले पाउने छैन । म किसानको बच्चा हुँ । घाँस दाउरा गर्न अब म सक्दिन जुन् म पहिला गर्न सक्थें । यो पीडा निकै नै गह्रुंगो छ मेरो लागि । ” उनी भन्छन् ।

श्री अमेरिकासंग अघाइसकेको बताउँछन् । उनी यहाँ धेरैको मन सञ्चो नभएको ठोकुवा गर्छन् । उनी भावुक हुदै भन्छन् – “यहाँको जीवन भनेको बिहान घाँस चर्न जाने र राति आएर सुत्ने मात्र हो । ”

श्रीले चाहे भने आफ्नो परिवारलाई पनि यहीँ बोलाउन सक्छन् । यति लामो समय भर्चुवल माध्यमबाट मात्रै आफ्नो परिवारसँग जोडिएका उनी अब भने परिवारको माया प्रत्यक्ष पाउन चाहन्छन् ।

सबै खर्चहरु कटाएर श्रीको पोल्टामा नेपाली १० करोड जति पर्ने निश्चित छ । यो भनेको चानचुने रकम पनि होइन । यस रकमले अब उनलाई बाँचुन्जेल खान पुग्छ । स्वदेशको सबैभन्दा ठूलो नोट १ हजारमा ३ वटा ‘शुन्य’ मात्र देखेका आम नेपालीलाई एक करोडमा कति वटा ‘शुन्य’ हुन्छ त्यो गन्न नै एकछिन् सोच्नुपर्ने हुन्छ । तर त्यही करोडका मालिक भएका छन्, श्री ।

क्षतिपूर्ति स्वरुप पाएको त्यो रकमले उनलाई मल्हमपटिट् त अवश्य लगाएको छ तर त्यो पीडाको खत उनको जीवनबाट कहिल्यै नमेटिने गरि गढेको छ । फोटोमा देखिएका यी हंसिला अनुहारका श्री, स्वदेशमै केहि इलम गरेर बस्ने जमर्काे गदैै छन् ।

अन्तर्वार्ताको केहि भिडियो क्लिपका लागि तलको लिंकमा क्लिक गर्नुहोस्: