नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च कतारको अधिवेशन यहि १९ डिसेम्बरका दिन हुँदैछ । नयाँ नेतृत्वका लागि उपाध्यक्ष चानक पोखरेलले अध्यक्ष पदको लागि उम्मेदवारी दिएका छन् । दोहाको सबैभन्दा ठूलो वैचारिक संस्थामा चुनावी माहौलले थप तीव्रता पाएकोछ । यसै सन्दर्भमा मञ्चका उपाध्यक्ष तथा अध्यक्ष पदका उम्मेद्वार पोखरेलसँगको कुराकानी:
मञ्चको अधिवेशन कत्तिको लाग्दैछ ?
तयारी करिब अन्तिम चरणमा पुगिसकेको छ । कार्यक्रममा अतिथिहरुलाई आमन्त्रण गरिसकेका छौं र उहाँहरु आउने निधो पनि भइसकेको छ । दोहाको हकमा प्रचारप्रसार तथा कार्यक्रमस्थल लगायत आधारभुत तयारी लगभग सकेको अवस्था छ । आन्तरिक रुपमा आर्थिक विषय तथा संस्थागत विषयहरुमा छलफल गरिसकेका छौं । अबिधेनका लागि लगभग सबै कार्यहरु अन्तिम चरणमा पुगिसकेका छन् ।
अधिवेशनमा को को अतिथि आउँदैछन् ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा आउने कुरा पक्का भइसकेको थियो तर संविधान निर्माणको कामले उहाँ आउन नपाउनु हुने भयो । नेपालबाट हाम्रो चौथो अधिवेशन उद्घाटन गर्नका लागी पार्टीका महासचिव ईश्वर पोखरेल कतार आइसक्नुभएको छ । नेपालबाट पार्टीका केन्द्रीय सदस्यहरु, दुबई, बहराइन र ओमनका मञ्चका प्रतिनिधिहरुलाई आमन्त्रण पठाएका थियौं, उहाँहरु पनि आउने निधो भएको छ ।
दोहाको कार्यक्रममा खाडी क्षेत्रका पदाधिकारीलाई समेट्नुको कारण केही छ ?
खासगरी भन्नुपर्दा खाडीमा सबैभन्दा बढी नेपाली कामदार भएको देश नै कतार हो, तर पनि सबैसँग समस्याहरुको प्रकृति एकै खालका छन् । यसमा हामी हाम्रो पार्टीगत विषयको साथै श्रमिक मजदुरको विषयमा आवाज उठाउने भएकोले यो मौका समस्या न्युनीकरणको लागि छलफल पनि हो । हामी यस अधिवेशनबाट खाडीका समस्याबारे एक भएर लाग्नेछौं । श्रमिक वर्गको समस्यालाई हल गर्न विभिन्न निकायसंग सहकार्य गर्नेछौं ।
मञ्चको नेतृत्वको लागि तपाईंले अध्यक्ष पदको उम्मेदवारी दिनुभएको छ, अध्यक्ष नै ताक्नुभएको, किन नि ?
कतारमा हाम्रो संस्थामा संगठित १२ सय साधारण सदस्यहरु मध्ये हाल १ सय ४४ जना मन्चका प्रतिनिधि सदस्य छन् । तसर्थ यो संख्यालाई बढाउँदै प्रवासमा आइपर्ने समस्यालाई समाधान गर्ने हो । साथै, पार्टीको आस्थालाई बचाउँदै समाज विकासका लागि व्यक्तिगत सीपलाई संस्थागत गर्नु मुख्य उद्देश्य हो । संगठनलाई थप शसक्त र मजबुत बनाउन मेरो पहल रहनेछ । मेरो विगतको अनुभवको आधारमा पनि म राम्रो प्रगति गर्न सक्छु भन्ने मेरो धारणा हो । संस्थामा हाम्रो भन्ने भावनाको विकास गराउनेछु ।
कतारमा राजनीतिक कार्यक्रम गर्न समस्या छैन ?
कुनै पनि देशको राजनीतिक पार्टीले अन्य देशमा गएर शाखा विस्तार तथा राजनीतिक गतिविधि गर्न पाउने कानुन नै छैन । समस्या त छ तर हामी राजनीतिक संस्थाको आधारमा सामाजिक कार्य गर्दै समाज विकास गर्नु नै हो । त्यसकारण हामी यहाँको कानुनलाई सम्मान गर्दै हामी हाम्रो समुदायमा मात्र सीमित रहन्छौं । एमालेका साथीहरु राजनीतिक कार्यको साथै सामाजिक कार्य पनि गर्दै जाने प्रण गर्छौं । नेपाली श्रमिकको समस्याको हकमा एमाले मात्र नभएर अन्य पार्टीका साथीहरु तथा संघसंस्थासँग पनि हामी सहकार्य गर्दै अगाडि बढीरहेको अवस्था हो ।
तपाई मञ्चको अध्यक्ष भए सबैलाई समेट्नु हुन्छ त ?
म त नेतृत्वमा मात्र जाने हो तथापी म पार्टीको कार्यकर्ता नै सम्झन्छु । यसर्थ सबै साथीहरु गोलबद्ध हुन आवश्यक छ । साथीहरुलाई मञ्चको माया गरिरहने अवस्थाको सिर्जना गर्ने काम मबाट हुनेछ । सबैको विचार, कार्य, भावना, योगदानलाई कदर गर्दै समानता र समावेशीतालाई ध्यान दिएर सबैको चित्त बुझाएर अगाडि बढ्नेछु । हामीसँग एनआरएनमा पनि कर्मठ र सहयोगी मित्रहरु सहभागी छन् । त्यसमा पनि हाम्रो संस्थाको योगदान संघलाई चुस्त र दुरुस्त राख्नु नै हो ।
प्रवासी श्रमिकको समस्या र समाधान भइरहेकोछ । तथापी तपाईसँग दीर्घकालिन समाधानको केही योजना छ ?
नेपाली श्रमिक खास नेपालबाट आउँदा नै समस्या लिएर आएका छन् यहाँ आएर मात्र समस्यामा परेका होइनन् । हामी दूतावासमार्फत नेपाल सरकारको परराष्ट्र मन्त्रालय, बैदेशिक रोजगार विभागमा यी समस्याहरुका समाधानका लागि बारम्बार घच्घचाइरहेका छौ । तालिमको समस्या रहेको कारण यहाँ आएर दुःख पाउने प्रमुख कारण हो । यसमा सरकारको ध्यान जान आवश्यक छ । साथै, शैक्षिक अभाव पनि समस्याको अर्को जड हो । श्रमिकहरुलाई मेनपावरहरुले अनावश्यक बढी पैसा लिएर ठगिरहेकोछ, यसबारे मेरो आपत्ति छ । म यस मञ्चमा रहेर सम्पूर्ण नेपालीहरुको हितमा काम गर्नेछु ।
चुनावै भए जित्नुहुन्छ ?
म एकदमै विश्वस्त छु, यो चुनाव म जित्छु । मलाई धेरै साथीहरुले सहयोग गर्नुहुनेछ, मलाई मञ्च काम गरेर देखाउने अवसर साथै एमालेको संगठन बिस्तारका लागि पनि सबैले सहयोग गर्नु जरुरी हुन्छ । म भनेको नै सबैको हितमा समर्पित हुने व्यक्ति हुँ । म धेरै ढुक्क छु । विगतको अनुभवले पनि मलाई यो विश्वास दिएको जस्तो लाग्छ । जित्ने ठूलो कुरा भन्दा पनि एमाले प्रवास संगठनलाई मजबुत गर्नु आजको आवश्यकताको विषय हो । म मेरो पदको लागि होइन, सबैको लागि चिन्तित छु ।
एमालेको नवौं राष्ट्रिय महाधिवेशन लोकतान्त्रिक पद्दतिबाट सम्पन्न भयो । तर कतारमा तपाईंहरुको यत्रो दौडधुप किन ?
नेपाल र कतारको परिवेश फरक छ । नेपालमा लोकतान्त्रिक पद्दतिबाट अधिबेशन भयो । त्यो खुसीको कुरा हो तर कतारमा हामी संयमित हुन जरुरी छ । एमाले भनेको कार्यकर्ताले बचाएको पार्टी हो । जहाँ भए पनि हामी एमाले नै हो । नवौं अधिवेशनमा हाम्रा नेताहरु मिलेर नै कार्यक्रम सम्पन्न गरे । देशका विभिन्न क्षेत्रबाट कार्यकर्ता पदाधिकारी आएका थिए । अन्तमा अधिवेशन सफल भयो । हामी अन्य देशमा के भयो भन्नेमा होइन । हामी विभाजित हुनु हुँदैन भन्ने हो । सकेसम्म सर्वसहमतिबाट जानुपर्छ भन्ने मेरो मान्यता हो । तथापि हामी विभाजित हुँदैनौं । अन्ततः हामी सबै एमाले हौं, यही संगठनमा बसेर अगाडि बढ्छौं ।
कतारमा कार्यरत नेकपा एमाले आस्थावान कामदारहरुलाई के भन्न चाहनुहुन्छ ?
हामी विभिन्न समस्याहरु भोग्दै उज्ज्वल भविष्यका लागी प्रवासिएका हौँ। कामबाट बचेको समयको सदुपयोग गर्दै नेपाली समुदायका क्रियाकलापहरुमा सहभागी हुने गर्छौँ । प्रवासी नेपाली मन्च कतार पनि एमाले संगठन विस्तार सँगै सामाजिक कामका लागि कतारमा स्थापना भएको संस्था हो । हाम्रा साथीहरु एक ठाउँमा संगठित हुने माध्यम पनि हो । तपाईहरुले देखि रहनु भएको छ मैले विगत लामो समय देखि यस संगठनमा तल्लो तह देखि नै काम गर्दै आइरहेको छु । अवश्य पनि लामो समयदेखि काम गरेको अनुभवलाई आत्मसात गर्दै भोलीका दिनहरुमा यहाँहरुसँग प्रस्तुत हुनेछु । सबैले एकपटक अवसर पाउनुपर्छ । सबैलाई मेरो अनुरोध एकपटक मेरो कामलाई हेरिदिनुहोस ।
तपाईको प्रतिद्धन्दीलाई कसरी हेर्नुहुन्छ ?
यस विषयमा मैले धेरै बोल्न मिल्दैन । उम्मेदवारी आउनु राम्रो कुरा हो, किनकी नेकपा एमालेमा धेरै जना सक्षम व्यक्तिहरु हुनुहुन्छ । तपाईँहरुले बुझ्नु भएको छ, देख्नु भएको छ । मैले मात्र के भन्न चाहे भने हामी सबै मिलेर अगाडि बढ्नुपर्छ । म सबैलाई साथमा लिएर हिँड्न चाहन्छु । आउनुस मिलेर प्रवासमा एमालेको सञ्जाल मजबुत बनाऔं ।















प्रतिक्रिया