काठमाडौँ, २ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान ल्याउनका लागि बहुमत संख्या आफूहरुसँग रहेको भन्दै तोकिएकै मितिमा संविधान जारी गर्ने चेतावनी दिनुभएको छ ।
बुधबार पार्टी मुख्यालयमा केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो ।
सहमति नजुटेमा बहुमतबाट भए पनि माघ ८ मै संविधान ल्याउने बताएका छन् । ‘अन्तिम समयसम्म सहमतिको प्रयास हुन्छ,’ उहाँले भन्नुभयो, ‘तर अनावाश्यक माग राखेर सहमति भन्ने अनि देशलाई रुवाण्डा बनाउन खोज्ने प्रवृत्तिसँग सहमति हुँदैन ।’
देशमा संक्रमणकाल धेरै लम्ब्याउन नहुने तर्क गर्दै उहाँले मुलुकको राजनीतिक अस्थिरताको अन्त्यका लागि पनि बहुमतीय प्रकृयाबाट भए पनि माघ ८ मा संविधान ल्याएरै छाड्ने दाबी गर्नुभयो ।
उहाँले पत्रकार सम्मेलनमा बोल्दै माघ अघि सरकार बिस्तार गर्न सकिने संकेत गर्नुभयो । उहाँले संविधान जारी गर्नैका लागि भए पनि एमाओवादी र मधेसवादी दलहरुलार्इ सरकारमा ल्याउनु आवश्यक भएको समेत बताउनुभयो ।
पत्रकार सम्मेलनमा वरिष्ठ नेता झलनाथ खनालले संविधान जारी गर्न नदिन उग्र कुरा भइरहेको भन्दै जातीयता र धर्मको नाममा अनावाश्यक कुरा उछालेर देशमा हिंसा मच्चाउने खेल भइरहेको आरोप लगाउनुभयो ।
नेता माधवकुमार नेपालले स्थायी र पोलिट्ब्यूरो निर्माणपछि एमाले मन, बचन र कर्मले नै एक भएको दावी गर्नुभयो ।















प्रतिक्रिया