वीरगन्ज, २ पुस । पर्साका महिला विस्तारै सौन्दर्य पेसातर्फ आकर्षित हुन थालेका छन् ।
वीरगन्ज उपमहानगरपालिका वडा नम्बर–१६ शिवनगरमा सौन्दर्य अथवा ब्युटिपार्लरको पसल सञ्चालन गरेर बसेकी साकिरा खातुनलाई भ्याइनभ्याई छ ।
पसलमा शृङ्गारका लागि आउने महिलाको भीडका कारण उनलाई भ्याइनभ्याई भएको हो ।
त्यसरी नै वीरगन्जको माईस्थानमा ब्युटिपार्लर खोलेर बसेकी अर्की सकुन्तला थापालाई पनि यस्तै फुर्सद छैन । उनको पसलमा पनि महिलाको बिहानैदेखि भीड लाग्ने गर्दछ ।
थोरै लगानीमा राम्रो कमाइ गर्न सकिने भएकाले सीप सिकेर आफूले यसलाई व्यवसाय बनाएको स्थानीय ब्युटिपार्लर सञ्चालिका सकुन्तला थापाको भनाइ छ ।
उनले महिनामा सबै गरेर पाँचदेखि आठ हजारसम्म राम्रोसँग कमाइ हुने गरेको बताइन् ।
चाडपर्व र विवाहको समयमा आफूले बढी कमाउने गरेको पनि उनको तर्क छ । उनले आफूले महिलालाई सौन्दर्यसम्बन्धी सीप पनि दिने गरेको जानकारी दिइन् ।
सौन्दर्यको पेसा सञ्चालन गर्दा बढी स्वावलम्बी तथा आत्मनिर्भर बन्न सकिने अवस्था देखेकाले आफूले तीन महिनादेखि यस विषयमा तालिम लिइरहेको बारा ककडी गाविस वडा नम्बर–४ घर भई वीरगन्जमा बस्दै आएकी युवती शान्ति खरेलले बताइन् ।
पर्सामा महिलालाई यो पेसा सिकाउने सङ्घसंस्थाको उल्लेख्य रहेको छ । यस्तै एउटा संस्थाकी सञ्चालिका रेखा घिमिरेले हालसम्म चार हजार महिलालाई आफूले यस्तो सीप दिइसकेको जानकारी दिइन् ।















प्रतिक्रिया