केही बर्षदेखि बिवादित अमेरिकास्थित नेपालीहरुको ठूलो संस्था एशोसियसन अफ नेप्लीज इन अमेरिकाज (एएनए) को अन्तिम खेल जातिय दंगा नै हो भन्ने शैलीमा छर्लंग हुन थालेको छ । जुन भर्खरै यसको चुनावका निमित्त गठन भएको चुनाब आयोगले प्रकाशित गरेको मतदाताहरुको सूचीबाट प्रष्ट भएको छ । हाल एएनको अन्तरिम अध्यक्ष छेवांग शेर्पा लामा छन् । यिनी तिनै व्यक्ति हुन, जसलाई एएनए र एनआरएनबीच विवाद हुँदा मेलमिलापका लागि संयोजक बनाइएको थियो । र त्यस कार्यमा उनले प्रभावकारी भूमिका निर्वाह गरेपछि एएनएमा अचानक आइपरेको संकटलाई समेत निर्मुल पार्न यस संस्थाभित्रैकै हर्ताकर्ताहरुले उनलाई सहजकर्ताका रुपमा अग्रसर हुन निम्त्याएका थिए । दिएको जिम्मेवारी अनुसार एएनए र एनएनआरको विवाद मात्र होइन, एएनएको बिबाद समेत सुल्झाउने काममा उनी लागि परे । तर जतिजति नेपालमा जातीय ताण्डब बढ्दै गयो, त्यति त्यति नै अमेरिकाको एएनएमा पनि शेर्पालामा अमान्य हुँदै गए । र, सुरुमा उनलाई सहयोग गर्न आमन्त्रण गर्ने क्षेत्री बाहुन समुदाय नै पछि गएर उनका असहयोगी हुन पुगे । यसको प्रष्ट उदाहरण एएनएको सन् २०१३ र २०१४ को सम्मेलन हो । सन् २०१३ मा भएको न्यूयोर्कको सम्मेलनमा शेर्पा र लामाहरुकै बाहुल्यता देखिन्थ्यो भने सन् २०१४ मा भएको डिसी कन्भेन्सनमा क्षेत्री बाहुन समुदायका एएनएका सदस्यले घरघरमा फोन गरेर सम्मेलनलाई बहिस्कार गर्न आह्वान गरेको खुलासा यसअघि नै भइसकेको छ । अहिले एएनएको चुनाबको लागि प्रकाशित नामावलीको सूची हेर्दा झनै यो कुराको पुष्टि हुन्छ । एएनए चुनाव समितिको वेबसाइटमा भोटर्स सूची भनेर पहिला ७ सय २ जनाको नाम प्रकाशित थियो । तर अन्तिम सूची भनेर अहिले १ सय ४१ जनाको मात्र नाम छापिएको छ । जहाँ उनै एक जना शेर्पालामा र केही नेवार समुदायका बाहेक पूरै क्षेत्री बाहुनको नाम मात्र देखिन्छ । विदेशमा समेत एउटा शेर्पा लामालाई अगाडि देख्न नसक्ने यी खसआर्य समुदायबाट नेपालमा तपाईंले कसरी जातीय सहिष्णुताको आशा गर्नु हुन्छ ? यहाँनिर आएर मलाई हाम्रा दलित, जातिय नेता आंगछिरिंग शेर्पालाई सलाम ठोक्न मन लागेको छ । क्षेत्री बाहुनले गर्लम्मै खाएको मुलुकमा यी एक्लो शेर्पाले दलित जातिको पक्षमा लड्दा कति सास्ती खेपि रहेका होलान, बहुतै बिचारनीय छ ।
एएनए एउटा सामाजिक संस्था हो । यसको कुर्सीमा बस्नेले समय र दाम दुवै गुमाउने भन्दाबाहेक थप केही पाउने गुन्जायश नै छैन । तैपनि यसको कुर्सीका लागि मरिहत्ते गर्दै अदालतको ढोका समेत गुहारेर पद लुड्याँउन चाहने नेताहरुको स्वार्थलाई कसरी लिने ? यो घटनालाई पृष्ठभूमिमा राखेर हेर्ने हो भने नेपालको अग्रपंक्तिमा रहेर सयौ बर्ष शासन गर्ने क्षेत्री बाहुनलाई अब हामीले कसरी लिने ? कृपया एएनएलाई जातीय रंगबाट टाढै राखौं । यो संस्था अमेरिकामा रहेका सम्पूर्ण नेपालीको मुटुमा गढेको छ । यसलाई भत्काउनु, बिगार्नु भनेको पापिष्ट कार्यमात्र हो ।
यो त भयो जातीय कुरा मात्र । अब हेर्नुहोस सत्य, न्याय र प्रजातन्त्रको कुरा । भोटर्स सूचीमा प्रकाशित भएको १ सय ४१ जना महानुभाबहरु एएनएका आजीवन सदस्य भनिएको छ । बास्तवमै यी १४१ मध्ये अधिकांश सदस्यहरु स्थापनाकालदेखि नै यस संस्थासंग गाँसिएका अनुहारहरु हुन । संस्था स्थापना गर्ने, हुर्काउने, बढाउने पनि उनीहरु नै हुन । यी महानुभावहरुकोको नालीबेली खोज्ने हो भने कोही पनि कोही भन्दा कम देखिन्न । अमेरिकामै शिक्षादिक्षा पाएर सम्पन्न भएका, बिशिष्ठ विद्वान र डाक्टरहरुको हुल हो यो । तर आश्चर्य यही हुलका बिशिष्ट महानुभाहरुले नै यो सूचीमा भएकाहरुले मात्र भोट दिन पाउनुपर्छ भनेर अदालतमा अपिल गरेका छन् । एएनए स्थापना भएको ३२ वर्ष भैसक्यो । ३२ वर्षमा ३२ वटा सम्मेलन भैसके । यी सम्मेलनहरुमा हजारौँ मानिसहरुले सहभागिता जनाइसके र सम्मेलनमा भाग लिनेहरु यसका सदस्य हुनेछन् र तिनीहरुले भोट दिन पाउने अधिकार पाउनेछन् भनेर निर्णय गर्ने पनि यही लाम भित्रका अगुवाहरु हुन । अमेरिका जस्तो प्रजातान्त्रिक मुलुकमा अधिकांश जीवन गुजारेका समाजका यस्ता बिशिष्ठ हस्तीहरुको यो मनस्थितिलाई हामीले कसरी बुझ्ने ?
हरेक संस्थाका संस्थापकहरुले आफ्नो संस्था फलेको, फुलेको र झाँगिएको हेर्न चाहन्छ । तर बिडम्बना यसका अगुवाहरु भने यो संस्थालाई दूई चार जनाको खल्तीको संस्था भनेर देखाउन लडिरहनु आफैमा हास्यास्पद छ । प्रजातन्त्रको परिभाषा दिएर कहिल्यै नथाक्ने र प्रजातन्त्रकै नाममा नेता भएका विद्वानहरु पनि छन् यस भीडमा । तर, दुनियाँको हक छिनेर आफूहरु मात्र भोट दिन पाउँ भन्नु प्रजातन्त्र हो ?ककसले भोट दिँदा आफू जितिन्छ, तिनीहरु मात्र सदस्य हुन भनेर बाहिर लडाईँ झगडा मात्र हैन, अदालतसम्मै जान सक्ने कत्रो प्रजातान्त्रिक नैतिकता हो त्यो ? सम्मेलनमा भाग लिने आफ्नै दाजुभाइले मैले पनि भोट दिन पाउनुपर्छ भन्यो भने गर्ने के ?
एएनएमा देखिएको यो परिदृश्यले अमेरिकामा समेत क्षेत्री बाहुनको हुलले जातीय उदण्डता देखायो, प्रजातन्त्रको उपहास गर्यो भनेर पत्रकारहरुले लेखे भने, गर्ने के ? यसको सन्देश आमनेपाली जनमानसमा कस्तो जाला ? अमेरिकामा बस्ने नेपाली नेताहरुको त यो चरितार्थ छ भने नेपालमा बसेर खाँटीको राजनीति गर्ने नेताहरुको व्यवहारमा गुनासो गर्ने किन ?
निकै गमेर सोच्नुपर्ने भएको छ । आफूलाई विश्वकै गाउँ (अमेरिका) बासी भएको भन्दै नाक फुलाउने हामी नेपालीहरुको यो पुरातन सोच, चिन्तन र कार्यशैली कहिले बदलिएला ? पशुपतिनाथले सदबुद्धि दिउन, आइन्दा नेपाली सामाजिक संस्थामा यस्ता घिनलाग्दा खेल नहोस् ।














प्रतिक्रिया