पहिलोपटक उनीसँग मेरो परिचय मेरो मित्रका माध्यमबाट भएको थियो । स्कूले विद्यार्थी भएतापनि साथीले परिचय गराई दिएपछि हाम्रो भेटले निरन्तरता पाउँदै गयो । छोटो उमेरमा हामीबीच नजिकता बढेपछि मलाई अरु कुरा भन्दा मेरो नयाँ प्रिय मित्रको चाहनाले बढी सताउन थालेको थियो । अनि बिस्तारै उनलाई नभेटेसम्म मननै मान्दैन्थ्यो । र, म आफूलाई उनी बिना एक्लो हुँदै गएको अनुभव गर्न थालेको थिएँ । हामीबीचको नजिकता बढ्दै गएपछि उनलाई एकपटक नभेटी बाँच्न नै गाह्रो हुँदै जान थाल्यो । मेरो पढाईको प्रसङ्गलाई लिएर बुवाआमाले मलाई गाली गर्दा अनि कहिलेकाँही कुनै कारणवश नरमाइलो र नियास्रो लाग्दा म उनको सामिप्यता खोजी रहेको हुन्थो । र, उनको समीप आएपछि एक प्रकारको आनन्द लाग्ने गर्दथ्यो । तर म भर्खर १३ वर्षको भएको हुनाले उनीसँगको मेरो भेट न त मेरो आमाबुवाले मनपराउनु हुन्थ्यो, न त मेरो आफन्तजनले नै रुचाउने थिए । अझ भनौं, मलाई चिनेजानेका र छरछिमेकीहरुले पनि उनीसँग मलाई देखेको खण्डमा मलाई नै कराउने वा मेरो बुवाआमालाई भनिदिन सक्ने डर सँधै लागि रहन्थ्यो । त्यसैले म उनलाई चाहँदाचाहँदै पनि भेट्न पाउँदैन थिएँ । तर उनीप्रतिको चाहना बढ्दै गएपछि उनलाई भेटेर फर्केको केही समयपछि मेरो चाहनाले उनलाई खोज्न थाल्थ्यो । र, म उनलाई भेट्न आतुर हुँदै जाने गर्थेँ । सानै उमेरमा बसेको प्रेम भएर होला, मेरो मन उनलाई भेट्न मात्र तड्पी रहन्थ्यो । हामीबीचको भेटघाट बढ्दै गएपछि एक महिनामा नै मलाई लाग्न थाल्यो, मानौं हामी एकअर्काका लागि नै बनेका हौं । उनी मेरो लागि सबैभन्दा प्रिय बन्दै जान थालिन ।
जाडोयामको बेला म रुघाखाकीले गर्दा थलो परेँ । ज्वरो पनि आएको थियो । त्यसैले डाक्टरसहित मेरा आमाबुवाबाट पनि मलाई कमसेकम एक हप्तासम्म कतै नगएर घरमा नै आराम गर्ने उर्दी लगाइएको थियो । अनि म घरमा नै कैदी भएर बस्न बाध्य भएँ । यो उर्दीले गर्दा म स्कूल जान नसक्नाले उनलाई भेट्न पनि सकिन । हाम्रो दैनिक भेटघाटमा नै तगारो लाग्यो । मलाई नै थाहा छ, उनलाई नभेटीकन बस्न कति गाहे छ भनेर । म एकदमै चिन्तित हुन थालेँ । हाम्रो भेटका लागि दिन गन्न थालेँ । उनीसँग भेट्न नपाउने पाबन्दीले गर्दा म उनीप्रति झन् आक्रोशित हुन थालेँ । मनमस्तिष्कमा उनको मात्र सम्झना आइरहन्थ्यो । मलाई ज्वरोभन्दा पनि उनलाई भेट्न नपाएकोमा चिन्ता लागेको थियो । आफ्नो प्रियजनलाई भेट्न नपाउँदाको यो विछोडको घडी कत्तिको गाह्रो हुन्छ भन्ने कुरा मलाई भन्दा अरु कसैलाई थाहा थिएन । उनलाई नभेटीकन बस्नुपर्ने यो कठोर समयमा म उनलाई नै सम्झी बस्ने गर्थेँ । ईश्वरको कृपाले म एकहप्तामा नै तङ्ग्रिएर रुघाखोकी र ज्वरोबाट मुक्त भएँ । मेरो उनीप्रतिको प्रेम त्यो पनि यस्तो कलिलो उमेरमा । त्यसमाथि हाम्रो कठोर रुढीबादी समाजका लागि अपच्यनै थियो । मलाई थाहा छ, यो सम्बन्ध मेरो मुमाबुवाको इच्छाविपरितको सम्बन्ध हो भनेर । तर, हाम्रो सम्बन्धलाई सजिलै न त म बिर्सन सक्थेँ, न उनीसँग सम्बन्धविच्छेद नै गर्न सक्थेँ । बिरामीबाट तङ्ग्रिएपछि हामी फेरी भेट्न थाल्यौँ । धेरै अन्तरालपछि भेटिएकोले हाम्रो भेट एकदिनमा नै दुई–तीनपटक हुन थाल्यो । हाम्रो भेटले हामीबीच नजिकता बढाउँदै जान थाल्यो । मेरो ओठबाट शुरु भएर हाम्रो भेट मेरो मुटुसम्म पुग्न थाल्यो । उनीप्रतिको नजिकता पनि बढ्दै जान थाल्यो र मलाई अब उनीसँग भेट्ने चाहनामात्र बढ्दै जान थाल्यो । मलाई लाग्यो, हामी दुई एकअर्काका लागि बनेका हौं । अनि सबथोक बिर्सेर हाम्रो मिलनको मात्र कल्पना गर्न थाल्थेँ ।
हामीबीच दिउँसोमात्र भेट हुने गर्दथ्यो, त्यो पनि स्कुल चलेको बेला । तर हामीबीच आत्मीयता बढ्दै जान थालेपछि मैले उनलाई साँझपख पनि भेट्ने व्यवस्था मिलाउन थालेँ । यो साँझपखको भेटको कार्यक्रम मेरा आमाबुवाले मिलाइदिनु भएकोमा म उहाँहरुप्रति आभारी छु । मलाई बेलुका खाना खाएपछि यसो पार्कतिर एक चक्कर लगाउँदा खाना पनि पच्ने र स्वास्थ्य पनि राम्रो हुने सल्लाह दिनु भएपछि मैले त्यसलाई एक आज्ञाकारी छोरा भएर पालन गरी दिएको थिएँ । अनि यसरी अब हाम्रो भेट दिउँसो स्कुलमा र साँझ पार्कको एकान्त ठाँउमा पनि हुन थालेपछि दिनको दुईपटक उनलाई भेट्न पाउँदा मन त्यसै प्रफुल्ल हुने गर्दथ्यो ।
तर फेरी जाडोयामको आगमनसँगै हाम्रो भेटमाथि तगारो लाग्न थाल्यो । हामीबीच कहिले मेरो आमाबुवा त कहिले मेरो स्वास्थ्यले बाँधा हाल्दै गएको थियो भने अब जाडोको आगमनसँगै स्वास्थ्यको नाममा गरिदै आएको साँझको पार्क डुलाई पनि रोकियो । किन हो कुन्नी ! मेरो परिवार, मेरा नातागोता अनि मेरा छिमेकीमात्र मेरो उनीसँगको भेटका विरुद्ध थिए, त्यसमा मौसम पनि खलनायकको रुपमा उभियो । मलाई थाहा छ, मेरो कलिलो उमेर भन्ठानेर सबै मलाई उनीसँग भेटेको रुचाउँदैननु तर म के गरुँ । साथीले एकपटक परिचय गराएपछि उनी झन्झनर मेरो नजिक आउँदै गइन र झन्झन् म उनलाई भेट्न रुचाउन थाले । शायद माया यसैलाई भनिदो रहेछ ।
तर यसरी स्कुलमा मात्र भेट्ने बानी रहँदै आएकोमा अचानक साँझ पनि भेट्न थालेपछि उनीप्रतिको चाहना झन्झन् बढ्न थाल्यो । जाडोको थालनीसँगै साँझको भेटमा तगारो लागेपछि मलाई राती निन्द्रानै लाग्न छोड्यो । राती सुत्न खोज्दा पनि उनलाई नभेटेको पछुतोले मनलाई नै स्थिर राख्न नसकेपछि सजिलै निद्रा पनि लाग्न छोड्यो । मेरो यो दुःखको कथा मेरा आमाबुवालाई म कसरी सम्झाउँ ? उनलाई नभेटेसम्म निन्द्रानै लाग्न छोड्यो । म कति रात उनको यादमा नसुती तड्पिरहुँ ? एकदिन मैले आँटै गरेर उनलाई घरमा निम्त्याउने विचार गरेँ । अनि त्यो रात पनि आयो । घरका सबै सुतिसकेपछि मैले मेरो कोठाका सबै भ्mयालहरु बन्द गरेर पर्दा लगाएँ । अनि कोठाको ढोका लगाएँ । ढोकामा भित्रबाट बन्द गर्ने चुकुल थिएन । त्यसै ढप्काएर बन्द गर्नु पर्दथ्यो । राम्ररी बन्द गरेँ । अनि कोठामा हामी दुईमात्र छौं भन्ने निश्चिन्त भएपछि मैले उनलाई आफूसामु राखेर ओठबाट स्पर्श गर्दै मुटुसम्म पु¥याएर धित मरुञ्जेल माया गर्न थालेँ । मेरै कोठामा उनीसँग भएको भेटबाट मैले कति आनन्द र सन्तुष्टि पाएँ भनेर म बयान गर्नै सक्दिन । यो मेरो जीवनको ठूलो जित थियो । मैले उनलाई कोठामा भित्र्याउने जुन साहस गरेको थिएँ त्यो पूरा भएकोमा मलाई आफैमाथि गर्व भएको थियो । माया गर्नेहरु डराउँदैनन् भन्ने सुनेको थिएँ, आज त्यो आफै भोगिरहेको थिएँ । त्यसैले म भित्रैबाट गद्गद् भएको थिएँ ।
तर अचानक ढोका खुल्यो । कोठाभित्र एउटा प्रतिबिम्ब आएर मेरो नजिकै उभियो । मैले आफूअगाडि आमा उभिएको पाएँ । उहाँका राताराता आँखाले मलाई नै हेरिरहेको थियो । उहाँका ओठहरु शब्दको गोली छोड्न तयार भएर थर्थराई रहेका थिए । म एकदमै डराइरहेको थिएँ । उहाँले मलाई एकटक हेरेपछि कराउन थाल्नु भयो ।
“तलाई लाज लाग्दनै ! तेरो दाइ र दिदीले कहिल्यै नगरेको काम ! न त तेरो बुवाले नै यस्तो गर्नुभयो । थुक्क ! हाम्रो परिवारमा नभएको काम गर्न तलाई लाज भएन ? कमसेकम खानदानको त लाज लाग्नुपर्ने तँ लाई ! के भन्छ छरछिमेकले – गंगाको छोरो त बिर्गियो ? समाजले थाहा पाए के भन्लान । ओठ निचरे अझै दूध आउला जस्तो छ । यस्तो उमेरमा नै यो बानी । हरे ! घरमा नै ल्याएर राख्न तलाई घरपरिवारको समेत डर लागेन ।”
म चुपचाप आमाको गाली सुन्दै थिएँ । आमा भित्र पसेर मेरो अगाडि उभिँदासम्म मेरा ओठ उनीसँग जोडिएको आमाले प्रष्टै देख्नुभएको थियो । अनि हतारहतार मैले उनलाई ओठबाट अलग्याई दिएँ । आमाको गालीका शब्दहरु निरन्तर म सुनिरहेको थिएँ ।
“
कहाँबाट सिकिस यस्तो कुरा ? कस्ले सिकायो तँलाई ? यो कलिलो उमेरमा यस्तो नराम्रो बानी कहाँबाट टिपिस तैँले ? हैन किन बोल्दैनस् । ”
म मौन नै थिएँ । आमाको शब्दवाणबाट म घाइते हुँदै गएको थिएँ । निशब्द । तर आमा निरन्तर कराइ रहनु भएको थियो– “यस्तो कलिलो उमेरमा कहाँबाट टिपिस तैले यस्तो नराम्रो बानी । तँलाई थाहा छैन ? चुरोट पिउनु स्वास्थ्यको लागि हानीकारक हो भनेर । चुरोट पिउनाले मुखको रोग हुन्छ । घाँटीको रोग हुन्छ । फोक्सोको रोग हुन्छ । अबुर्द रोग हुन्छ । चुरोट पाउनेलाई खाना रुच्दैन । जिउ गल्दै जान्छ र सास गन्हाउँछ ।”
यसरी अचानक मेरो आमाको अगाडि मेरो पहिलो प्रेमको रहस्य खुलेको थियो । म मेरो पहिलो प्रेम (चुरोट) प्रति यसरी गहिरिँदै गएको थिएँ कि मलाई उनीबाहेक अरु केही पनि मन लाग्न छोडिसकेको थियो । त्यसबेलादेखि लागेको बानीलाई मैले आजसम्म पनि छोड्न सकिन । आज म ४५ वर्षको मात्र भएको छु । तर उमेरले म ६०–७० नाघेको देखिन्छु । कसैको अगाडि बोल्दा मानिसहरु गन्धले गर्दा मुन्टो फर्काउने गर्छन् । म रोगी र पिलन्धरे भएको छु । म एक्लो भएर बाँच्न बाध्य भएको छु । यो सबथोक हुनुको कारण हो, मेरो पहिलो प्रेम (चुरोट) को प्रतिफल । आज मैले मेरो पहिलो प्रेमको ऋण आफ्नो शरीरलाई समर्पित गरेर चुक्ता गर्दैछु ।
(यो कथा लेखेको धेरै नै अगाडि हो । २०३३–०३४ तिर । सम्भवतः पहिलोपटक गुथेको कथा हो कि ! । तर नेपालीमा छापिएको भने थिएन । पहिलोपटक क्यानडाको टोरोन्टोबाट प्रकाशित सौगातको पहिलो अंकमा (जनवरी २००५) अंग्रेजीमा प्रकाशित भएको थियोः लेखक)














प्रतिक्रिया