बुटवल, २९ मंसिर । लुम्बिनी अञ्चल अस्पतालको व्यावसायिक सटरमा टेन्डर छनोटमा नपरेर पनि सटर नछाड्ने व्यवसायीलाई अस्पताल प्रशासनले बल प्रयोग गरी हटाएको छ ।
अस्पताल प्रशासनले गरेको टेन्डर प्रक्रियाबाट छनोट नभएका व्यवसायीलाई यही मङ्सिरको १६ गतेसम्म समय दिइए पनि अटेरी गरेका कारण बल प्रयोग गर्नु परेको अस्पतालले बताएको छ ।
अस्पताल प्रशासनले दिएको समयमा समेत व्यवसायीले सटर नछाडेपछि जिल्ला प्रशासनले २५ गतेसम्मका लागि तीन दिनको म्याद दिएर आफ्ना सामान सार्न गरेको आदेशमा समेत आनाकानी गरेपछि आइतबार प्रहरी परिचालन गरी ती व्यवसायीलाई हटाएको हो ।
अस्पताल प्रशासनले ७२ वटा सटरमा टेन्डर आह्वान गरेकामा ३७ व्यवसायीले सटर छाड्न आनाकानी गरेकाले छनोटमा परेका व्यवसायीलाई सटर दिनका लागि प्रहरी लगाएर बल प्रयोग गर्नु परेको लुम्बिनी अञ्चल अस्पताल बुटवलका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा नारानाथ पौडेलले बताए ।
बल प्रयोग गरेर हटाउने क्रममा अवरोध गर्ने यति मेडिकल हलका सञ्चालक मदन घिमिरे र उहाँका बुबा केशव घिमिरेलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक केदारराज पन्थले जानकारी दिए ।















प्रतिक्रिया