१ कार्तिक २०८३, शनिबार

एसएलसीमा मात्र ग्रेडिङ अनुचित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

slcकाठमाडौं, २९ मंसिर । एसएलसी परीक्षामा मात्र ग्रेडिङ सिस्टम (अक्षराङ प्रणाली) लागू गर्नु सकारात्मक भएपनि तल्लो तहबाटै लागू हुनुपर्ने विज्ञले बताएका छन् ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले आइतबार राजधानीमा आयोजना गरेको ‘एसएलसीमा अक्षराङ प्रणाली, आवश्यकता र चुनौती’ विषय अन्तक्रिर्यामा उक्त विचार व्यक्त गरेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

शिक्षा मन्त्रालयले यो वर्षबाट देशभरिका ९९ प्राविधिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई लागू हुनेगरी एसएलसीमा ग्रेडिङ नतिजा लागू गरेको छ ।

पहिलो पटक करिब चारहजार विद्यार्थीले हजार पूर्णाङको प्राविधिक एसएलसी परीक्षा आगामी चैतमा दिंदैछन् । अर्को वर्षबाट नियमिततर्फका सबै विद्यार्थीको नतिजा अक्षराङ प्रणालीअनुसार प्राप्त गर्नेछन् ।

नयाँ व्यवस्थाअनुसार ९० देखि १०० प्रतिशत अंक प्राप्त गर्नेको मार्कसिटमा ए प्लस (विशिष्ट) उल्लेख हुनेछ ।

त्यस्तै, ८० देखि ८९ प्रतिशतलाई ए (उत्कृष्ट),  ६० देखि ७९ ल्याउनेलाई बी (धेरै राम्रो) उल्लेख गरिनेछ ।

साथै, ४० देखि ५९ अंक पाउनेले सी (राम्रो),  २५ देखि ३९ डी (कमजोर) र २५ भन्दा कम अंक ल्याउनेले ई (धेरै कमजोर) उल्लेख भएको ग्रेडिङ मार्कसिट पाउने छ ।

‘सार्क मुलुकमै ग्रेडिङ सिस्टम लागू रहेकोले नेपालमा पनि हुनु स्वभाविक हो,’ कार्यपत्र प्रस्तुत गर्दै शिक्षाविद् राजेन्द्रध्वज जोशीले भने, ‘तर हामीले एसएलसी परीक्षालाई मात्र लक्षित गरेर लागू गर्दा यसको व्यवहारिक पक्ष फितुलो हुन गएको छ । त्यसैले तल्लो तहदेखि नै ग्रेडिङ सिस्टम लागू गरेमात्र यसको जग बलियो हुन्छ ।’

त्यसनिम्ति पाठ्यक्रम भिन्नता र विविधिकरण हुन सक्नु पर्नेमा उनले जोडदिए ।