सोलुखुम्बु, २९ मंसिर । सोलुखुम्बुको खुम्जुङस्थित गोक्यो उपत्यकामा करिब ७० जना पर्यटक ६ फिट बाक्लो हिमपातमा फसेका छन् ।
भ्रमणका लागि गोक्यो आसपास पुगेका पर्यटहरू हिजो नै फर्कन लागेको भए पनि बाक्लो हिमपातका कारण फर्कन नसकेको त्यहाँ रहेको पथप्रदर्शक सार्के तामाङले जानकारी दिनुभयो । तामाङका अनुसार अहिले त्यहाँ ६ फिटभन्दा बाक्लो हिमपात भएका कारण कोही पनि घरबाट बाहिर निस्कन नसक्ने अवस्था छ । आइतबार बिहान फर्कने पहल भएको भए पनि बाटोमा अत्याधिक हिमपातका कारण बाटोसमेत पुरिएकाले असम्भव भएको हो ।
पर्यटकहरू गोक्यो ताल आसपासमा रहेका होटलहरूमा रहेकाले ज्यानको खतरा नभएको भए पनि अत्यधिक चिसोका कारण उनीहरू समस्यामा छन् । हिमपात अत्याधिक भएकाले अझै केही दिन बाटो खुल्ने सम्भावना नभएको कारण पर्यटकहरू त्यहीँ फसेको पथप्रर्दशक तामाङको भनाइ छ । गोक्यो भ्यालीमा करिब ७० जना पर्यटक हिजोदेखि नै अलपत्रमा परेको जानकारी आए पनि प्रहरी त्यहाँ पुग्न कठिन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।
सोमबार मौसम सफा भएमा त्यहाँ प्रहरी टोली पठाउने पनि प्रहरी निरीक्षक खड्काले बताउनुभयो । मौसम धुम्मिएको कारण शनिबार र आइतबार त्यहाँ हेलिकोप्टरसमेत जान सकेको छैन ।प्रहरी निरीक्षक खड्काका अनुसार नाम्चेमा नै करिब दुई फिट हिउँ परेका कारण बाहिर निस्कन सक्ने अवस्था छैन भने खुम्जुङमा करिब चार फिट हिउँ परेको छ । रासस















प्रतिक्रिया