मुस्ताङ, २८ मंसिर । हिमपातका कारण मुस्ताङको जनजीवन कष्टकर बनेको छ । मुस्ताङको तापक्रम अहिले –२ डिग्री सेल्सियसमा झरेको छ ।
सर्वसाधारण जनता बाहिर निस्कन सकिरहेका छैनन् । सरकारी कार्यालय सुनसान भएका छन् । चिसोले सदरमुकाम जोमसोमका होटल र पसल एकदमै कम खुलेको स्थानीय कुलबहादुर थकालीले जानकारी दिनुभयो ।
बाहिर निस्केकाहरु चोकमा आगो बालेर बसिरहेका छन् । चिसोले मुस्ताङमा कुनै पनि उडान हुन सकिरहेको छैन ।
‘शनिबार रातिदेखि हिउँ पर्न त रोकिएको छ, तर चिसो झनै बढेको छ, थकालीले भन्नुभयो – ‘हामीलाई बाहिर निस्कन समस्या परिरहेको छ ।’ पानीसँगै शनिबार दिउँसो २ बजेदेखि हिमाली जिल्ला मुस्ताङका सबै भूभागमा हिमपात भएको थियो । उपल्लो मुस्ताङको चराङ, सुर्खाङ, घमी, लोमान्थाङ, छुसाङ र छोण्हुपलगायतका गाविसमा भने अझै हिउँ पग्लन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार, अन्य क्षेत्रमा हिउँ पग्लिन सुरु भए पनि उपल्लो क्षेत्रमा हिमपात जारी छ । सदरमुकाम जोमसोम, कागबेनी, मार्फालगायत तल्लो क्षेत्रमा हिउँ पग्लन सुरु भएको प्रहरी सहायक निरीक्षक खिम जिसीले जानकारी दिनुभयो ।
हिमपातका कारण जोमसोम–बेनी सडकमा सवारी साधन सञ्चालन आउन सकेका छैनन् । रासस















प्रतिक्रिया