२९ आश्विन २०८३, बिहिबार

बाबुरामको पूजाले उठाएको लम्मेतान जेलो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-puja2

डा कविताराम श्रेष्ठ

‘डा. बाबुराम भट्टराई आफ्ना पिताको चौरासी पूजामा सरिक भएको कुरालाई लिएर धेरै हल्लीखल्ली भए । मैले बुझेको- एउटा कम्युनिस्ट कुनैपनि पूजामा अलौकिक धार्मिक विश्वासका साथ नभई नातागोता, परिवार र समाजका आस्थामा सम्मान पुराउन सरिक हुने गर्दछ । डा. बाबुराम भट्टराईले यस पूजामा भएको आफ्ना सहभागिताबारेमा भनेका कुरा पनि यस्तै छन’- मैले यो कुरा केही दिन अघि फेस बुकको स्टाटसमा दिएथें ।

भौतिकबादीहरू अन्ध आस्थाबादी हुन्नन्, त्यसैले कुनै पनि अलौकिक आस्थाका धार्मिक कर्मकाण्डिय विधिमा विश्वास राख्दैनन् । कम्युनिज्म पनि मूलत: भौतिकबादमै आधारित एक आर्थिक मोडेलको राजनीतिक दर्शन भएको हुनाले कुनै पनि धर्मलाई यसले आफ्नो मार्गदर्शक मान्दैन । यसको धर्म नै सामाजिक न्यायसंगत समानताबाद हो । यही बुझेर मैले कम्युनिस्ट भएकाहरू धार्मिक कर्मकाण्डमा इश्वरमा भक्तिभाव राखेर होइन सम्बन्धित समाजका आस्थामा अस्थाबान भएर सहभागी हुन्छन् भनेको हुँ । यो सैद्धान्तिक कुरो पर्यो र सबै कम्युनिस्टहरू व्यवहारमा पनि त्यस्तै छन् भनेर म भन्न सक्दिन । नेपालका ठूलै कम्युनिस्ट नेताहरूले शंख, घण्टा, ढ्याङ्ग्रो, नमाज, गीर्जाघर गर्ने गरेका पनि देखिएका छन् । तर यो कुरो व्यबहारमा पनि डा बाबुराममा लागु हुन्छ भन्ने कुरा उनका विभिन्न संचार माध्यममा प्रकाशित स्पष्टिकरणले बुझाएको छ ।

डा बाबुरामले प्रष्टै भनेका छन्- ‘मेरो धर्ममा आस्था छैन, ब्रह्माण्डको उत्पत्तिबारेको विज्ञानलाई मान्छु तर पनि धर्ममा अस्था राख्नेहरूप्रति मेरो अनास्था छैन ।’

पिताको ८४ पूजाको अनुष्ठानमा बसेको सन्दर्भमा भनेका छन्- ‘केही अस्वाभाविक त भो तर नगर्न पनि भएन, म जेठो छोरो, फेरि ८४ बर्ष बाँच्ने जीवनको खुसीको कुरा ।’ उनले आफ्नो पूजाकर्मलाई स्वाभाविक मान्दै तर्क दिएका छन्- ‘अनुष्ठानमा बस्नै हुन्न भन्ने होइन, म गुम्बा, मस्जिद, गिर्जाघर पनि गएको छु।’

यसले पुष्टि गर्छ उनि कुनै धार्मिक धारमा गाँसिएका होइनन् सम्बन्धित समाजका आस्थामा अस्थाबान भएर सहभागी बनेका हुन् र बन्ने गर्छन् ।  पण्डित नारायण पोखरेलका सुपुत्र पण्डित दीनबन्धु पोखरेलको ‘आफैं पूजा गर्नेले मेरो बुबाको किन हत्या गर्नुभयो त अंकल ?’ भन्ने लेखमा भन्छन्- ‘ढिलै भए पनि बाबुराम अंकलको सदबुद्धि आएछ । … हत्या र हिंसाको राजनीतिले संसार जित्छु भनेर हिंडेको मान्छे आज ईश्वरको शरणमा आएको छ ।’

अनि धेरैले सामाजिक संजालहरूमा “बाबुराम अब हिन्दु धकर्मकाण्डमा लागे” भन्दै हल्लीखल्ली गरिरहेका छन्. कसैले त “उनि क्रिस्चियन नै बनि सकेका हुन्” भनेका छन् । प्रसंगले बुझाउँछ, यी सब भौतिकबादी डा. बाबुराममाथि व्यंग्य मात्र हुन् ।

डा. बाबुराम भन्छन्- “हामीले मुस्लिम समुदायको धार्मिक समारोहमा टोपी लगाउँदा हुन्छ, जनजातिको धार्मिक समारोहमा गएर फेटा बाँध्दा हुन्छ, हिन्दुहरुको संस्कारमाथि किन प्रश्न उठाउने ? … शोषण उत्पीडन र पाखण्ड गर्न भएन, सामान्य व्यक्तिगत आचरण र संस्कारमाथि प्रश्न उठाउनु उचित हुँदैन ।’ उनले प्रष्टै भने, ‘म भौतिकवादी हुँ, विज्ञानमा मेरो आस्था छँदैछ, तर, बुढाबुढी भएका बा-आमाको मन राखिदिनु अनुचित कार्य होइन ।’

उल्लेख्य चाहिं यो छ कि पण्डित दिनबन्धु पोखरेलसमेत धेरै अन्य व्यक्तिहरूले डा. बाबुरामका यस पूजालाई जनयुद्धमा भएका अवान्छनिय घटनाहरूसंग जोड्दै ठाडो आक्रोशहरू व्यक्त गरेका छन् । मेरै फेसबुकको स्टाटसमा पनि यस्ता केही अचाक्ली कमेन्टहरू आए । ती ठाडा कमेन्टहरूलाई सम्बोधन गर्ने आँट ममा आएन । तर नरम कमेन्टहरूमा भने केही बोल्न मन लागेको छ ।

तोया सापकोटाजीले लेख्नुभयो- ‘समाज भित्रै रहेर सामाजिक रूपान्तरण गर्न समय लाग्छ । वन्दुकले छिट्टै सम्भव हुन्छ, तर नटिक्न सक्छ भन्ने हामीलाई लाईराछ!!’ उहाँका कुरामा मेरो शतप्रतिशत समर्थन रह्यो । तर मैले उठाएको प्रसंग डा. बाबुरामको भौतिकबादिता र उनको पूजामा सलग्नता बारेमा सोझो सान्दर्भिक यो भएन र मैले यसै सम्मानपूर्वक अनुत्तरित छोडें । तर बन्दूकको प्रसङ्ग यो पूजालाई जनयुद्धसंगै जोड्ने मनसाय भने मैले मानेको छु ।

त्यही स्टाटसमा टि एम गौतमजीले भन्नु भाछ- ‘एउटा कम्युनिस्ट पार्टीको नेताले नातागोता परिवार र समाजको आस्थालाई सम्मान गर्नका लागि सहभागिता जनाउने कुराको बिरोध हैन, उहांको सिद्धान्तले र स्वयम उहांले आआफ्नो धर्म र संस्कारप्रति आस्था राख्नेहरुका लागि बिगतमा गरेका काम कार्बाहीप्रति हो । यसरी नै पिताको खुसीका लागि सहभागिता जनाउनेले अरुका पिताको काजक्रिया बसेकालाई हत्या गरिएको र पण्डित नारायण पोखरेलको समेत ह्त्या गरेको कारण के होला त ? हामी सोझाले नबुझेको यही हो ।’

उहाँको प्रश्नसंग मिल्ने उत्तर बाबुरामजीले उपरोक्त मिडियामै भन्नुभाको छ कि भिडन्तबाहेक अरु बेला हत्या हिसा नगर्ने लडाकुहरूलाई कडा निर्देशन थियो । तर त्यस्तो अप्रियजनित घटना भयो नै । त्यसरी नै भयो जसरी सत्ता पक्षबाट पनि भयो । युद्धमा नीति नियम नै पहिलो गोलीको शिकार हुँदो रहेछ । महाभारतको युद्धमा पनि कर्ण, अभिमन्यु, द्रोणाचार्य र पाण्डवका पुत्रहरू युद्धनीतिबाट टाढा अमानुषिक ढंगमा मारिएका थिए ।

हामीजस्तो युद्धमा असंलग्न सामान्यजनसंग यसको उत्तर हुनै सक्दैन. तर के चाहिं भन्न सकिन्छ भने ती धार्मिक प्रतिशोधका कारबाही थिएनन् । किनभने यो धर्म युद्ध नै थिएन । युद्धमा दुइ थरीले एकार्कालाई शत्रु मानी मार्ने नै हो ।

शत्रु भनेको दुवै थरीका लागि प्रत्यक्ष र अप्रत्यक्ष गरी दुइ थरीका हुन्छन् । प्रत्यक्ष शत्रु त हतियार लिएर अगाडि नै भिड्न आउँछन् । तर अप्रत्यक्ष शत्रु (अर्थात शत्रु पक्षका सुराकी, जासुस, सल्लाहकार, शरणदाता, हतियार वा आर्थिक सहयोगी आदि) छद्म भेषमा हुन्छन् । जनता माझ जनताकै आवरणमा कार्यरत हुन्छन् । त्यसैले दुवै थरीका लागि अप्रत्यक्ष शत्रु पहिचान गर्न गाह्रो पर्छ । त्यहींनेर अर्को यो पनि छ कि त्यस्ता व्यक्ति जनताको भेषमा रहेका हुँदा सामान्य जनताको लागि भने ती निर्दोष मानिएका हुन्छन् ।

युद्धमा दुवै पक्षको लागि प्रत्यक्ष शत्रुभन्दा अप्रत्यक्ष शत्रु बढी खतरनाक हुने गर्दछ र जसरी हुन्छ त्यस्लाई निमिट्यान्न पार्न दुवै पक्ष गम्भीररूपले लाग्दछन् । त्यसैले कहिलेकाहीं अप्रत्यक्ष शत्रु भएको सामान्य शंकामा पनि निरपराध व्यक्तिलाई कारबाही हुन जान्छ । कति यस्ता उदाहरण पनि छन् कि एका दुइलाई चिनी राख्न गाह्रो परेको स्थितिमा वा झन्झटिलो मानिएको मनस्थितिमा अमानुषिक ढंगमा पुरै समुदायलाई नै निर्मम नष्ट गरिए । दोरम्बाको घटना त्यही हो । अनि अलि पहिलेको पिस्करको घटना पनि त्यही हो । यसै आधारमा अड्कल काट्द छु कि जो निरपराध जस्ता देखिने व्यक्तिहरू जनयद्धकालमा मारिए उनिहरूमा त्यस्तै अप्रत्यक्ष शत्रु हुनुका किटान भए होलान्, वा त्यस्तै केही गलतफहमी भए होलान् । र, मेरो यो अड्कलै मात्र हो ।

संगै जनयुद्ध ताका गाई काटेका, शिव लिङगमा पिशाब गरेका, मठ मन्दीर भत्काएका कुराहरू पनि यसै सन्दर्भमा अरूहरूले उठाएका छन् । युद्धताका यस्ता जेजे हिन्दु आस्थामा आघात हुने कार्यहरू भए ती सबका कार्य र कारणको सम्बन्ध डा बाबुरामका व्यक्तिगत धार्मिक मान्यतासंग सरोकार राख्दैन भन्ने पनि बिचार हुन् सक्ला तर यो युद्ध हँकाइमा डा बाबुरामको पनि नेतृत्वदायी हात भएको कारणले उनका जवाफदेहिता यिनमा पनि हुन्छ भन्ने मान्यता यसमा सबल देख्छु ।

बुझ्नपर्ने यो छ कि यो जनयुद्ध एउटा कम्युनिस्ट पार्टीले हाँकेको भएपनि यसमा वैचारिक हिसाबले तालीम पाएका राजनीतिकर्मीहरू मात्र होमिएका थिएनन् । यिनका पार्टीले उठाएका कुराहरूबाट आकर्षित भई युगौदेखिका आर्थिक, सांस्कृतिक, भाषिक, धार्मिक र जातिगत रूपमा प्रताडित ठूलो संख्याका जाति जनजातिहरू पनि यसमा सामेल थिए । संगै हिन्दुसत्ताका विभेदकारी नीति र हिन्दु पण्डित, भारदार र राजाहरूका ज्यादती र दमन भोग्ने ठूलै संखायाका आदिबासी जाति, जनजाति, दलित तथा अरु नै धर्ममा आस्था राख्ने दमित पीडित जनता पनि यीनमा थिए । जनयुद्ध कालमा जो हिन्दु आस्थामाथि अबाञ्छनीय प्रहार भयो ती सबै आफ्नो ताक परेको बेलामा उनै पीडितहरूबाटै प्रतिशोधका अभिव्यक्ति भएका म बुझ्दछु ।

यस युद्धको समापन भएर शान्ति प्रक्रियामा आएपछि बल्ल आदिबासी जनजातिले आफूमाथि भएका हिन्दुबादी सत्ताका दमनहरूको खुलासा गर्न लागेका छन् । पहिले कहिल्यै सार्बजनिक नभएका अचाक्ली कुराहरू अघि आउंदैछन् । अरू कति आउने हुनन् । यहाँ हिन्दु सम्प्रदाय भित्रकै दलितहरूमा कस्तो उत्पीडन भएका थिए होलान् भन्ने बुझाउन म ब्रम्हसूत्रको शांकर भाष्य अ. १.३.३८. ले वेदमा रचित ज्ञानको अध्ययन वा अनुष्ठान गरेमा कस्ता कठोर दण्ड व्यवस्था गरेका थिए, त्यसको का प्रमाण दिन्छु ।

यदस्य स्मृते श्रवण प्रतिषेधो वेदाध्ययन प्रतिषेधस्तदर्थज्ञानानुष्ठानयोश्च प्रतिषेधः शूद्रस्य स्मर्यते ।
श्रवण प्रतिषेधास्तावत् अथास्य वेदमुपsसण्वतस्त्रपुजतुम्यां श्रोत्रप्रपूरणम् इतिः ।
पद्युह वा एतत् श्मशानं यच्छूद्रस्तस्माच्छूद्र समीपे नाध्येतव्यम् इति च अतएवाध्ययन प्रतिषेधः ।
भवति च वेदोच्चारणे जिह्वाच्छेदो धारणे शरीरभेद इति ।

(अर्थ : शुद्रलाई स्मृतिहरूले वेद सुन्ने वा अध्ययन गर्ने अधिकार दिएको छैन । शूद्र भनेको खुट्टा भएको श्माशान हो यीनीहरुको सामू वेदको अध्ययन गर्न हुन्न । शूद्रहरुको लागि श्रवण निषेध यस प्रकार छ कि उसले वेदवाक्य सुनेमा दुवै कानमा पगालेको लाहा वा सीसा भरिदिनु पर्छ । वेद उच्चारण गरे भने जीव्रो छेडिदिनु पर्छ अनि धारण नै गरे भने शरीरै ठुन्क्याई दिनुपर्छ ।)

यस्तो नीति संस्कृत भाषामा भएकाले अन्य जातिमा बोध हुने कुरै भएन र एकै जातिले यसलाई अबलम्बन गर्दै आए । हिन्दु दलीतहरूको अवस्था आज यत्ति निरीह त्यसै भएको छैन । उनिहरूमा त्यही प्रतिशोधको आगो युगौंदेखि दन्किरहेको न्यायसंगत ढंगमा बुझिदिन पर्छ भन्ने मालाई लाग्छ । जो हिन्दु आस्थामा प्रहारहरू भए त्यसैको यो नतीजा होला भन्छु । सुन्दा अप्रिय लागे पनि यो सत्यलाई मान्नै पर्छ । कालो खाए पछि कालो आची हुन्छ नै । कही कतै प्रायश्चित गर्दा पनि पाप कटनी हुन्छ भनिन्छ । मौका पर्दा प्रायश्चितै गर्न पो पर्ने छ कि ? त्यता सोच्न बुद्धिमता होला भन्ने लाग्छ । यसो भन्दा मैले जनयुद्धकालमा त्यसरी घटेका अप्रिय घटनाहरूको औचित्य पुष्टि गर्न खोजेको अर्थ लाग्ला । त्यसो कदाचित होइन । वस्तुगत न्यायसंगत कुरा मात्र गरेको हुँ ।

जे होस्, जनयुद्धको नीति पक्कै त्यस्तो धार्मिक आस्थामा आघात गर्ने थिएन । तर पनि त्यसकालमा जेजे भए युद्ध हाक्ने पार्टीले उपलव्धिको जस लिंदा ज्ञात अज्ञात सबै अप्रिय घटनाहरूको अब्जस पनि बोक्नै पर्छ । यसो एकततर्फको लागि मात्र होइन, दुवै तर्फका लागि लागु हुने कुरा हो । बुझियो युद्धमा त हुने नहुने दुवै हुँदा रहेछन् नै । हज्जारौं वर्ष पुराना कुरा समेत उप्कदा रहेछन् । युद्ध नै खराब हो भन्ने कुरा हामीले अब परेर भोगेका छौं । युद्धको बीज नै नरोप्न बुद्धिमता हुने रहेछ । युद्धबेगर पनि प्रतिद्वन्दीहरू बीच सहमतिले धेरै काम हुन् सक्थे, महँगो अनुभव हामीमा भयो । पछिलाई यो अनुभव पक्कै काम लाग्ला ।

माथि स्टाटसमा उठाएको कुरोले निक्कै लामो लहरा जेल्यो । तर भन्नु पर्ने कुरा त भन्नै पर्यो । कतैतिर आग्रह नराखी भन्दै छु- ज्यादती कसैलाई फाप्दैन । हाम्रै भूगोलमा राणाहरूका निरंकूशता फापेन । राजाको निरंकूशता फापेन । यी परिघटनाबाट सिक्नु पर्छ हामी सबैको लागि कल्याण हुनेछ ।