काठमाडौं, २७ मंसिर । देशका उच्च हिमाली भेगमा हिमपात सुरु भएको छ भने काठमाडौं उपत्यका र तराईंका जिल्लामा चिसो बढेको छ ।
चिसोका कारण देशभरको जनजाीवन प्रभावित भएको छ । प्राप्त जानकारी अनुसार, मुगुका उच्च बस्ती तथा ठाउँहरूमा शनिबार दिउँसोदेखि हिउँ पर्न थालेको छ । सदरमुकाम गमगढीलगायत दुई हजार १०० मिटरभन्दा तलका बस्तीमा पानी पर्न थालेपछि चिसोका कारण जनजीवन प्रभावित बनेको छ ।
मुगुको रारा विमानस्थल, डोल्फु, मुगु, किम्री, पुलु, माग्री गाविसका १२ बस्ती र उच्च हिमाल, पाटन र रारा ताल, मुर्माटप, चाकपाडे, सोरुकोट, डुमाना लेख र खमाले लेखमा हिउँ पर्न थालेको त्यहाँबाट स्थानीयले बताएका छन् ।
हिमपात र पानीसँगै चिसो बढेकाले जिल्ला सदरमुकाममा कमै पसल खुलेका छन् भने खुलेका पसलमा ग्राहक नआउँदा व्यापारिक कारोबार कमै भएको छ ।
वर्षाका कारण नेपालगन्ज र सुर्खेतबाट व्यापारिक तथा अन्य सामान ल्याएर आएका मालवाहक गाडी कर्णाली राजमार्गअन्तर्गत गाठी जिउला, घुच्चीलेख, नाग्ममा रोकिएको मुगु उद्योग वाणिज्य सङ्घका कावा अध्यक्ष कमल बुढाले बताउनुभयो ।
वर्षा र हिमपातपछि रारा विमानस्थलमा शनिबार कुनै पनि विमान कम्पनीले उडान नभरेको रारा नागरिक उड्डयन कार्यालय ताल्चाका प्रमुख भीमदत्त पन्तले बताउनुभयो ।
कालीकोटः वर्षासँगै परेको हिमपातका कारण कालीकोटको माथिल्लो क्षेत्रमा पर्ने गाविसको जनजीवन कष्टकर बनेको छ ।
हिमपातका कारण कालीकोटको फोइमहादेव, रांचुलि, जुविथा, चिल्खाया, छाप्रे, पांखा, ओदानकु, धौलागोह, मुम्रा, रुप्सालगायत गाविसमा चिसो बढेको छ ।
हिमपात भएपछि जिल्लाका हिमाली क्षेत्रमा लगाइएको गहुँ, जौ बालि राम्रो हुने स्थानीयले बताएका छन् । पलांता क्षेत्रका खिन, धौलागोहथिर्पु राम्नाकोट, नानिकोट, बदालकोटलगायत गाविसमा लगाइएको गहुँ बाली सुक्न लागेको समयमा आएको वर्षाले राहत गराएको स्थानीय चम्फसिंह बस्नेतले बताउनुभयो ।
















प्रतिक्रिया