काठमाडौं, २७ मंसिर । नेकपा (एमाले) को स्थायी कमिटीमा सहमतिका आधारमा तीन नेता थप भएका छन् ।
पार्टीको शनिबारको केन्द्रीय कमिटीको बैठकले वरिष्ठ नेता झलनाथ खनाल (पदेन), तेस्रो वरियाताका नेता माधवकुमार नेपाल र पुराना नेता मुकुन्द न्यौपानेलाई स्थायी कमिटीमा चयनको निर्णय गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा नेपाल र न्यौपाने स्थायी कमिटी सदस्य भएका हुन् । एमालेका पुराना नेता न्यौपाने पार्टीको नवौं महाधिवेशनमा ओलीको पक्षमा उभिएका थिए ।
योसँगै स्थायी कमिटीको संख्या १७ पुगेको छ । अध्यक्ष केपी शर्मा ओलीसहित निर्वाचित १४ पदाधिकारी स्थायी कमिटीमा स्वतः रहने छन् ।
सचिव पृथ्वीसुब्बा गुरुङका अनुसार आइतबार पोलिटब्युरो सदस्यको चयनपछि केही नेतालाई स्थायी कमिटीमा चयन गरिनेछ । त्यसमा नेताहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, प्रदीप नेपाल र छविलाल विश्वकर्मा पर्ने लगभग निश्चित भएको छ । उक्त सहमतिलाई पार्टीको केन्द्रीय निर्वाचन आयोगले प्रक्रिया पूरा गर्नेछ ।
केन्द्रीय कमिटीले अध्यक्ष ओली र नेता नेपाललाई सर्वसम्मतिका आधारमा स्थायी कमिटी र पोलिटब्युरोका नाम तय गर्न जिम्मेवारी दिएको थियो । नेताहरुको सहमतिका आधारमा ३८ पोलिटब्युरोको चयनका लागि आयोगले आइतबार कार्यक्रम तय गरेको छ । स्थायी कमिटीका सदस्य पोलिटब्युरोमा स्वतः रहनेछन् ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेता मुकुन्द न्यौपाने स्थायी कमिटीमा मनोनित भएका छन् ।
















प्रतिक्रिया