काठमाडौं, २७ मंसिर । काठमाडौं उपत्यकामा सञ्चालित अस्पताल एवम् स्वास्थ्य सेवा प्रदायक संस्थाहरूबाट निष्कासन हुने फोहरको व्यवस्थापन दिन प्रतिदिन चुनौतीपूर्ण वनदै गएको पाइएको छ ।
जोखिमयुक्त फोहर (हजार्डस बेस्ट) व्यवस्थापन जटिल भएकाले त्यस्तो भएको हो ।
राजधानीका विभिन्न भागमा सञ्चालित २५ शय्यामाथिका ६३ वटा अस्पतालबाट उत्पादन हुने फोहर व्यवस्थापन सरकार र अस्पताल सञ्चालकहरूका लागि टाउको दुखाइको विषयमात्र वनेको छैन सङ्क्रमणजन्य फोहरले मानव स्वास्थ्यमा जोखिम पनि थपेको छ ।
राजधानीका ती अस्पतालबाट दैनिक रूपमा निस्कने ९२६ मेट्रिकटन पुनःप्रयोग गर्न सकिने फोहरभन्दा पनि हरेक दिन उत्पादन हुने ५६६ मेट्रिकटन जोखिमयुक्त फोहरको उचित प्रवनध सरकार र अस्पताल सञ्चालकहरूका लागि चुनौती वनेको हो ।
अस्पतालजन्य फोहरको उपयुक्त व्यवस्थापनको व्यवस्था गर्ने उद्देश्यले विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागका निम्ति पेस नेपालनामक संस्थाले काठमाडौं उपत्यकामा सञ्चालित २५ शय्या माथिका अस्पताल र स्वास्थ्य सेवा प्रदायक संस्थामा गरेको अध्ययनअनुसार पुनः प्रयोग नहुने र क्यान्सरजस्ता घातक रोग लागेका बिरामीको उपचार गर्दा निस्कने सङ्क्रामक फोहरको तर्जुमा जटिल एवम् चुनौतीपूर्ण बनिरहेको छ ।
राजधानीका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा २५ शय्याभन्दा धेरै शय्या राखेर ६३ वटा अस्पताल सञ्चालित छन् । पेस नेपालको अध्ययनअनुसार काठमाडौँमा ४५, ललितपुरमा १३ र भक्तपुरमा पाँचवटा स्वास्थ्य सेवा प्रदायक संस्थाले सेवा प्रवाह गरिरहेका छन् ।
सरकारी स्वामित्वका ११, निजी क्षेत्रले सञ्चालन गरेका ३६ र गैरसरकारी संस्था, सहकारी र समुदायबाट संयुक्त रूपमा सञ्चालन भएका १६ अस्पतालले उत्सर्जन गर्ने फोहर विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार व्यवस्थापन हुन सकेको छैन ।
विश्व स्वास्थ्य सङ्गठनले प्रयोग भएका सुई, बिरामीको उपचारका क्रममा निस्कने पीप, रगतजस्ता फोहर, शरीरका अङ्ग, चिकित्सकीय उपकरण, रासायनिक पदार्थ, नष्ट नहुने औषधिजन्य वस्तुका भाग र रेडियो विकिरणको समुचित व्यवस्थापनमा जोड दिँदैआएको छ ।
तरल तथा ठोस फोहर छुट्याएर अस्पतालजन्य फोहर व्यवस्थापन गर्नुपर्ने प्रावधान पनि विश्व स्वास्थ्य सङ्गठनको निर्देशिकामा उल्लेख गरिएको छ ।
पच्चीसदेखि १०० शय्याका ४७ र एकसयभन्दा माथिका १६ वटा स्वास्थ्य सेवा प्रदायक संस्थाले दैनिक सात हजार ३५६ किलोग्राम पुनःप्रयोग गर्न सकिने फोहर निष्कासन गर्छन् भने एक हजार ९६४ किलोग्राम जोखिमपूर्ण फोहर विसर्जन गर्छन् ।
केन्द्रीय तथ्याङ्क विभागले गत वर्ष सार्वजनिक गरेको एक अध्ययनअनुसार आठ हजार ४०० शय्यामा सीमित अस्पतालहरू चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा नौ हजार २०५ शय्यामा विस्तारित भएका छन् ।















प्रतिक्रिया