२९ आश्विन २०८३, बिहिबार

किन यति क्रुर बन्दैछ समाज ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Suside

ईश्वर भट्टराई / मोरङ

– मंसिर २१ गते मोरङको बेलबारीमा हृदयविदारक घटना घट्यो । बेलबारी–२ का ताराजुन राईले आफ्ना दुई नाबालक छोराछोरीको हत्या गरी आफूले पनि आत्महत्या गरे ।
– मंसिर १४ गते मोरङकै केरौन–६ का ३४ वर्षीय छत्रबहादुर कटुवालको सम्पत्तिका लागि परिवारकै मिलेमतोमा विभत्स ढंगले हत्या भयो । मृतक कटुवालको शव गाउँलेले परालको कुन्युमा फेला पारेका थिए ।

– मंसिर १६ गते झापा कनकाई नगरपालिका–२ का रविन्द्र ठटालले पत्नी फूलमायाको खुकुरी प्रहार गरी हत्या गरे । पैसा नदिएको सामान्य निहुँमा आवेश आइ हत्या गरेको उनले प्रहरीसमक्ष स्वीकारे ।

– धर्मपुत्री बलात्कार गरेको आरोपमा नेपाल ट्रेड युनियन कांग्रेस मोरङका निवर्तमान अध्यक्ष गोपाल शर्मा पक्राउ परे । तीन बर्षदेखि आफ्नै घरमा बस्दै आएकी १५ बर्षीया बालिकालाई बलात्कार गरेको पोल खुलेपछि आढाइ महिनादेखि उनी फरार समेत थिए ।

माथि उल्लेखित घटना केही प्रतिनिधि मात्र हुन्, जुन हाम्रो समाजको वर्तमान अवसरलाई चित्रित गर्दछ । यस्ता घटनाले समाज अपराधतर्फ उन्मुख हुँदै गएको दर्शाउँछ । समाजमा क्रूर, अमानवीय, निर्दयी तथा भयंकर घटना श्रृंखलाबद्ध रूपमा घटिरहेका छन् ।

दैनिकजसो भइरहने हत्या, हिंसा, बलात्कार, कुटपिट, आंतक, चोरीडकैती, अपहरणलगायतका घटनाले समाज क्षतविक्षत बन्दै गइरहेको छ । यसले समाजमा के अब मानवीय संवेदना, भाइचारा, सदाचार, संस्कारिक व्यवहार हराउँदै गएको हो ? भन्ने प्रश्न उब्जाएको छ ।

हाम्रो समाज कति हिंस्रक र कति निर्दयी बन्दैछ, उल्लेखित घटनाबाट नै प्रष्ट छ । यहाँ बाबुआमाको सामान्य झगडाको निहुँमा छोराछोरीले मानसिक पीडाका साथै ज्यान नै गुमाउन बाध्य छन् । आमाबाबुबीचको घरझगडाका कारण छोराछोरीले घर छाडेर हिड्ने, डिप्रेसनलगायत मानसिक रोगको शिकार, लागूऔषध दुव्र्यसनी कुलतमा फस्ने गरेका उदाहरण प्रशस्त छन् ।

बालबालिकाका लागि पारिवारिक वातावरण नै महत्वपूर्ण मानिन्छ । स्कुलमा प्रारम्भिक शिक्षा लिएपनि बालबालिकाले घरबाट नै नैतिक शिक्षा लिन्छन् । तर, सधैंजसोको घरायसी झगडाले बालबालिकामा नकारात्मक सोचको विकास हुँदै जाने गर्दछ । यो कुनै काल्पनिक नभइ समाजमा घटिरहेको यथार्थ हो । पछिल्लो पटक बेलबारी–२ मा घटेको घटनाका सन्दर्भमा जहाँ आमाबाबुका कारण अवोध बालबालिकाले ज्यान गुमाए । पत्नी अर्कैसँग हिडेको पीडा खप्न नसकेर ३५ वर्षीय ताराजुन राईले दुई नाबालक छोराछोरीको हत्या गरी आत्महत्या गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको छ । ताराजुनले तीन वर्षीया छोरी दीपिका र ५ वर्षीय छोरा दीपेन्द्रलाई हत्या गरेपछि आफू पनि झुण्डिएका थिए । सुन्दा पनि कति निर्दयी र कठोर बाबु, आफू त बाच्न सकेनन् सकेनन् आखिरमा ती अबोध छोराछोरीको के दोष ?

यस्तै, पैसा नदिएको झोकमा आवेशमा आएर झापा कनकाई नगरपालिका–२ का रविन्द्र ठटालले पत्नी फूलमायाको खुकुरी प्रहार गरी हत्या गरे । परिवारमा यस्ता निर्दयी तथा अकल्पनीय घटना आवेशमा आएर हुने गरेको समाजसेवी बताउँछन् । गरिबी, कमजोर आत्मविश्वास र चेतनाको अभावले व्यक्तिमा बिस्तारै आपराधिक मानसिकता बढ्दै जानुले यस्तो प्रकृतिको घटना घटेको उर्लाबारीका समाजसेवी महेन्द्रजंग तामाङ बताउनुहुन्छ ।

उता मोरङकै केरौन–६ ओझा टोलका छत्रबहादुर कटुवालले सम्पत्तिको निहुँमा ज्यान गुमाए । सम्पत्तिका लागि श्रीमान् फेर्दै आएकी श्रीमती देउमायाले ५० हजारमा भाडाका व्यक्ति खोजेर हत्या गरेकी प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।

पाँचौं श्रीमान्का रूपमा छत्रबहादुरसँग विवाह गरेकी देउमायाले श्रीमान्ले वैदेशिक रोजगारीबाट पठाएको रकम सोचेअनुरूप उपभोग गर्न नपाएपछि रूष्ट बन्दै आएकी थिइन् । छत्रबहादुर ११ महिनाअघि मात्रै घर फर्किएका थिए । देउमायाले लामो समयदेखि दबाब दिएपनि छत्रबहादुरले आफ्नो नाममा रहेको सम्पत्ति नामसारी गरेका थिएनन् । सम्पत्तिमा आफ्नो अधिकार जमाउन नपाएको अनुभूति गरेकी देउमायाले दसैंअघिदेखि नै श्रीमान् हत्याको योजना बनाएकी हुन् ।

३८ वर्षीय छत्रबहादुरको मंसिर १३ गते शनिबार बेलुकी घरदेखि तीन किलोमिटरको फरकमा घरेलु हतियारले घाटीरेटी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । मोरङ प्रहरीले गत सोमबार हत्याका मुख्य योजनाकारको रूपमा पत्नी देउमायासहित हत्यामा संलग्न बयरवन–७ का प्रकाश भनिने २७ वर्षीय जयबहादुर तिम्सिना, १९ वर्षीया झुमा नेपाल, ३० वर्षीया रीता तिम्सिना, बयरवन–८ की ५० वर्षीया विष्णुमाया पौडेल र झापा महेशपुर–१ का २० वर्षीय सुरज लिम्बूलाई पक्राउ गरेको छ । यस्तै, देउमायाकी दिदी विष्णुमाया हत्याको प्रमाण नष्ट गर्न खटिएकी, देउमायाकै अर्का श्रीमान्तर्फकी छोरी झुमा हत्यारालाई पैसा बुझाउन खटिएको, देउमायाकी दिदी विष्णुमायाका ज्वाइँ जयबहादुर र सुरज हत्या गर्न खटिएका थिए । जयबहादुरकी श्रीमती रीता पनि प्रमाण नष्ट गर्न र हतियार लुकाउन खटिएको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।

छत्रबहादुरकालागि उनकै सम्पत्ति काल बन्यो । सम्पत्तिको लोभमा घटेको यो घटनाले मानिस कति निच व्यवहार गर्न पनि तयार हुँदोरहेछ भन्ने दरिलो उदाहरण बनेको छ । यो घटनाबाट समाज अशंबन्डा र दाइजोजस्ता सामाजिक कुरीतिबाट मुक्त हुन नसकेको देखिन्छ । हाम्रो समाजमा अंश तथा दाइजोको निहुँमा हुने पारिवारिक झैझगडा, कुटपिट र हत्या नौलो छैनन् ।

मानिसका जीवनशैलीमा प्रतिस्पर्धा, आत्मसन्तुष्टिको कमी, बढ्दो बेरोजगारी समस्याका कारण यस्ता घटना दोहोरिदै गएको समाजसेवी तामाङ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘सम्पत्तिको अभीष्ट पूरा गर्नकै लागि यस्ता घटना घटिरहेका छन् ।’

उता डण्डहीनताले पराकाष्ठा नाघेको हाम्रो समाजमा महिला हिंसा र ज्यादतीका घटना कहालीलाग्दो रूपमा छन् । महिलामाथि हुने बलात्कार, ज्यादती, बोक्सी, दाइजोजस्ता कुप्रथाको निहुँमा हत्या हुनुले हाम्रो समाजिक सभ्यतालाई नै उदाङ्गो पारिदिएको छ । यी र यस्ता घटनामा आफ्न्त र निकट मानिएकैको संलग्नता पाइएको छ । कतै बाबुबाट छोरीमाथि बलात्कारत कतै सामूहिक बलात्कारले समाजमा भयावह बनेको छ ।

मोरङको दर्वेसा ४ दौलतपुरमा आफ्नी १५ वर्षीय छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय रोहित विश्वकर्मा पक्राउ परे । धर्मपुत्री बलात्कार गरेको आरोपमा नेपाल ट्रेड युनियन कांग्रेस मोरङका निवर्तमान अध्यक्ष गोपाल शर्मा पक्राउ परे । मोरङकै बुधनगर ६ मा आफूले भनेजति दाइजो नल्याएको निहुँमा ३२ वर्षीय मिरादेवी शर्माले वर्षाैदेखि मानसिक तथा शारीरिक यातना भोग्दै आएकी थिइन् । १२ वर्षअघि विवाह गरेकी मीरादेवीको यातनाकै कारण कार्तिक १० गते मृत्यु भयो । उनको मृत्युपछि परिवारका आफ्न्तले घटना लुकाउन शवलाई भारतीय भूमिमा लगेर दाहसंस्कार गरेका थिए । घटना सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरेको थियो ।

समाजसेवी तामाङका अनुसार अपराधमा महिला हिंसा बढी मात्रमा भेटिएका छन् । र, यो एउटा जटिल समस्याको रूपमा देखिएको छ । नेपालको आपराधिक क्रियाकलापमा महिला हिंसा बढ्नुमा समग्र राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक कारण नै प्रमुख रहेको उहाँको भनाइ छ । उहाँका अनुसार पितृसत्तात्मक सोचबाट गुज्रिरहेको समाजमा नैतिक शिक्षा, सोचाइमा परिवर्तन ल्याउनाले हिंसामा केही कमी ल्याउन सकिन्छ ।

यसरी समाजलाई हिंस्रकको बाटोतर्फ लाने यस्ता घटनाका प्रमुख कारक आपराधिक मानसिकता या त मानसिक विचलन नै हुन् । साथै फितलो कानूनी व्यवस्था, जनचेतनाको कमी पनि घटना दोहोरिनुका कारण हुन् । अपराधिक क्रियाकलाप बढ्नुमा सरकार तथा प्रहरीप्रशासनलाई मात्र दोष थुपार्न मिल्दैन । अपराध निरूत्साहित गर्नका लागि समाजका सबै पक्ष मिलेर लाग्नुपर्दछ । सरकार तथा प्रहरीको काम भनेको आपराधिक घटना हुनसक्ने वातावरण बन्न नदिने मात्र हो । तसर्थ अपराधतर्फ उन्मुख भइरहेको समाज सुधारका लागि अब ढिला नगरौं ।