काठमाडौं, २५ मंसिर । विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनसम्बन्धी संसद्मा दर्ता भएको विधेयक पूर्वराजाको नाम छुटेकाले गृह मन्त्रालयले फिर्ता लिएको छ ।
मन्त्रालयले मंसिर ५ गते संसद्मा दर्ता गरेको उक्त विधेयक मंगलबार फिर्ता लिएको हो।
विधेयकको अनुसूची १ मा अति विशिष्ट र विशिष्टलाई अति उच्चस्तर र उच्चस्तरको सुरक्षाबारे उल्लेख गर्दै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखलाई अति उच्च स्तरको सुरक्षा उपलब्ध गराइने व्यवस्था गरिएको उल्लेख छ।
त्यस्तै पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री, मन्त्रीहरू, व्यवस्थापिका संसद्मा विपक्षी दलका नेता, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, सर्वोच्च अदालतका न्यायाधीश, राज्यमन्त्रीहरूलाई उच्चस्तरको सुरक्षा प्रदान गरिने विधेयकमा उल्लेख छ।
यी दुवै स्तरमा पूर्वराजाबारे केही उल्लेख नभएकाले विधेयक फिर्ता लगेको संसद् सचिवालयका एक अधिकारीले जानकारी दिएको समाचार आजको अन्नपूर्ण पोष्टले छापेको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमको पत्र लिएर आएका गृह मन्त्रालयका एक अधिकृतले मंगलबार विधेयक फिर्ता लगेको जानकारी संसद् सचिवालयले दिएको छ।
संविधानसभाको दोस्रो निर्वाचनमा नेपाली कांग्रेस, एमालेलगायतका दलहरूले प्राप्त गरेको मत, कात्तिक २१ देखि मंसिर १ सम्म पूर्वराजाको निजी भारत भ्रमणमा त्यहाँको नेतृत्व र अधिकारीहरूसँगको परामर्श तथा नेपालमा संविधान निर्माणका नाममा उत्पन्न हुनसक्ने राजनीतिक संकटलाई समेत ध्यान दिँदै विधेयकमा पूर्वराजाको नाम समावेश गर्न लागेको विश्लेषण संसद् सचिवालयका ती अधिकारीको छ।
मुलुकमा गणतन्त्र आएपछि राष्ट्रपतिलगायत राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरूको मर्यादाक्रम निर्धारण गर्ने क्र ममा राष्ट्रपतिदेखि सहायक सेनानीसम्म २८ तह निर्धारण गरिए पनि पूर्वराजाको मर्यादाक्रम तोकिएको छैन।
विशिष्ट व्यक्तिको सुरक्षामा खटिने सुरक्षाकर्मीको अधिकार तथा दायित्व कानुनी रूपमै स्पष्ट गर्न र उनीहरूमाथि रहेका चुनौतीका आधारमा सुरक्षा व्यवस्था व्यवस्थित, समयानुकूल, प्रभावकारी एवं पारदर्शी बनाउन विधेयक बनाइएको गृह मन्त्रालयले जनाएको छ।















प्रतिक्रिया