काठमाडौं, २५ मंसिर । सत्तारूढ दल कांग्रेस, एमाले र राप्रपा तथा प्रमुख प्रतिपक्षी एमाओवादीका कारण आमजनताले दिनहुँ थप एक घन्टा लोडसेडिङको मार खेपिरहनुपरेको छ ।
सत्तारूढ र विपक्षी दलको अनावश्यक माग र जबर्जस्तीले गर्दा दिनहुँ आमजनता बढी समय लोडसेडिङको मारमा पर्दै आएका छन् ।
सिन्धुपाल्चोकस्थित ती दलका जिम्मेवार नेता तथा कार्यकर्ताले अनावश्यक माग राखी ४५ मेगावाटको भोटेकोसी आयोजनालाई जिल्लाको जुरेमा साउन १७ मा गएको भीषण पहिरामा परी ध्वस्त भएका विद्युत् टावर पुननिर्माण गर्न अवरोध पुर्याइरहेका कारण त्यसको बिजुली केन्द्रीय प्रसारणमा लाइनमा जोडिन पाएको छैन ।
अनावश्यक माग राखी आमजनतालाई अन्धकारमा पार्ने विकासविरोधी क्रियाकलाप गरिरहेका आफ्ना कार्यकर्तामाथि अनुशासनको डण्डा चलाउनुपर्ने सरकार र सत्तारूढ दल तथा प्रमुख प्रतिपक्षी रमितेमात्र बनिरहेपछि मुलुकमा स्वदेशी तथा विदेशी लगानीकर्ता निरुत्साहित हुने वातावरण बन्दै गइरहेको ऊर्जा मन्त्रालयका अधिकारी बताउँछन् ।
भोटेकोसी विदेशी लगानीमा बनेको आयोजना हो ।
हाल दैनिक ९ घन्टा हुँदै आएको लोडसेडिङ भोटेकोसीको बिजुली आएको भए दिनको ८ घन्टामात्र हुन्थ्यो ।
सत्तामा बसेका कांग्रेस, एमाले र राप्रपालें प्रमुख प्रतिपक्षी दलसित मिलेर टावर निर्माणमा अवरोध पुर्याई विकास विरोधी क्रियाकलाप प्रदर्शन गर्नु गैरजिम्मेवारीको पराकाष्ठा भएको ऊर्जाका अधिकारीले बताए ।
भोटेकोसी आयोजनाले पहिरोका कारण सुनकोसी नदीमा जमेको ताल घटै गएपछि ध्वस्त प्रसारण लाइनको टावर पुननिर्माण कार्य सुरु गरेको थियो ।
तर, कांग्रेस, एमाले, एमाओवादी र राप्रपाले भोटेकोसी आयोजनामा स्थानीयबासीले शेयर नपाएसम्म बनाउन नदिने भन्दै असोज ३ देखि टावर पुननिर्माण कार्य ठप्प पारेका छन् ।
भोटेकोसी आयोजनाले ध्वस्त सातवटा टावरमध्ये तीनवटाको पुननिर्माण कार्य थालिसकेको थियो ।
चार दलका जिम्मेवार कार्यकर्ता असोज ३ मा स्थलगत रूपमै गएर अवरोध पुर्याएपछि टावर पुननिर्माण कार्य ठप्प भएको छ ।
अवरोध नभएको भए सातवटै टावर पुननिर्माण कार्य असोजमै सम्पन्न भएर भोटेकोसीको बिजुली केन्द्रीय प्रसारण लाइनमा जोडिएर मुलुकमा लोडसेडिङ कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गथ्र्यो ।
टावर बन्न नपाएका कारण भोटेकोसी आयोजनाबाट उत्पादन हुने बिजुली केन्द्रीय प्रसारण लाइनमा जोड्न नपाएर खेर गइरहेको छ ।
बिजुली केन्द्रीय प्रसारण लाइनमा दिन नपाएका कारण भोटेकोसीले जुरेमा पहिरो गएदेखि नै बिजुली उत्पादन बन्द गरेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
‘टावर पुनर्निर्माण कार्य अवरुद्ध भई भोटेकोसी आयोजनाको बिजुली केन्द्रीय प्रसारण लाइनमा जोड्न नपाउँदा मुलुकमा दैनिक थप १ घन्टा लोडसेडिङ गरिरहनुपरेको छ’ विद्युत् प्राधिकरणको भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीले भने ।
सत्तारूढ र प्रमुख प्रतिपक्षीको बल मिच्याइँले गर्दा दिनहुँ भोटेकोसीको करिब ८६ लाख रुपैयाँबराबरको बिजुली खेर गइरहेको छ ।
सिन्धुपाल्चोकका दलहरूबीच भोटेकोसीसित कसले बढी शेयर माग्ने भन्ने प्रतिस्पर्धा चलिरहेको छ ।
कांग्रेसले भोटेकोसीमा स्थानीयबासीले १० प्रतिशत शेयर पाउनुपर्ने माग राखेको छ । भोटेकोसीमा शेयर पाउनुपर्ने माग सबभन्दा पहिले कांग्रेसले राखेको हो ।
कांग्रेसभन्दा पछाडि स्थानीयबासीलाई उचाल्न पुगेका एमाले, एमाओवादी, राप्रपा र माओवादीले भोटेकोसीमा ३५ प्रतिशत शेयर पाउनुपर्ने माग राखेका छन् ।
यी चार दल कांग्रेसभन्दा पछाडि यो अभियानमा लागेकाले बढी प्रतिशत शेयर माग गरेका हुन् ।
टावरै बनाउन नदिने विकास विरोधी अभियानमा सिन्धुपाल्चोक गृह जिल्ला भएका पाँचै दलका केन्द्रीयस्तरका नेता सक्रिय छन् ।
कांग्रेसबाट पूर्वराज्यमन्त्री एवं सभासद मोहन बस्नेत, एमालेबाट केन्द्रीय सदस्य अरुण नेपाल, एमाओवादीबाट सिन्धुपाल्चोक १ मा संविधानसभाका उम्मेदवार रहेका सरल सहयात्री पौडेल, राप्रपाका सभासद रमेश लामा, नेकपा -माओवादीका पूर्वसभासद दाबा तामाङले टावर बनाउन नदिएर भोटेकोसीको बिजुली ल्याउनै नदिने अभियानको नेतृत्व गरिरहेका छन् ।
स्थानीयस्तरमा दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा गठित पाँचै दलका कार्यकर्ता रहेको संघर्ष समितिले टावर निर्माणमा अवरोध पुर्याउँदै आएको छ ।
संघर्ष समितिलाई जिल्लाका यी शीर्ष नेताले पछाडिबाट धाप मारिरहेका छन् ।















प्रतिक्रिया