१ कार्तिक २०८३, शनिबार

मुलुकको ठूलो अस्पतालकै बिरामीको बेडमा शव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bir-hospitalकाठमाडौं, २५ मंसिर । वीर अस्पतालको फिमेल मेडिकल वार्डको २१५ शैयामा उपचार गराइरहेकी एक महिलाको मंगलबार दिउँसो मृत्यु भयो । उनको शव बुझने कोही आएनन ।

अनि जुन शैयामा उपचार भएको हो, बुधबार बिहानसम्म त्यसमै थियो ।

शव रहेको वार्डमा ३० भन्दा बढी बिरामी र तिनका कुरुवा थिए । वार्डमा शव भएपछि बिरामी र कुरुवाहरु रातभरी तनाबमा थिए ।

अझ शव संगैको शैयामा रहेकी बिरामी त रातभरी सुतिनन ।

अस्पतालका अनुसार सुनसरी इटहरी घर बताउने चन्द्रकला काफ्ले उपचारको क्रममा मृत्यु भएको हो । उनी कातिक २७ मा अस्पताल भर्ना भएकी थिइन ।

अस्पताल प्रशासनको बेवास्ताले मंगलबार दिउसोदेखि बेडमै छोडेको कुरुवाहरु बताउछन । बिरामी र कुरुवाहरुमा रातभर त्रास भएपछि बुधबार बिहान शबलाई वार्ड बाहिर राखिएको छ ।

‘रातभर सुत्न सकिएन, शबको त्रासले आमालाई पल्लो बेडमा सारें,’ धादिङ्गबाट आएका राजन थापाले भने, ‘राती कोही बोले पनि तर्साएको हो कि जस्तो लाग्यो, अलिकति केहीको आवाज आए पनि त्यो वार्डका सबै बिरामी जर्‍याक जुरुक उठ्ने गरे ।’

आफनो शैया छेउको बिरामी मृत्यु भएको दुई दिनसम्म पनि अन्यत्र नलगेपछि आमा आत्तिएको उनले बताए ।

‘दिउसो बिरामी बोल्न छोडेको निकैबेर पछि यति धेरै बोल्ने बिरामी किन बोल्न छोड्यो भनेर हेर्न लगाउँदा मृत्यु भइसकेको रहेछ,’ एक कुरुवाले भने ।

बिरामीले भरिएको वार्डमा शव राखिएपछि काभेपलाञ्चोकबाट आएका लक्ष्मण कुँवर पनि रातभर सुतेनन् ।

‘मेरो श्रीमतीको अवस्था पनि निकै कमजोर भैसकेको छ, आँखै अगाडि बिरामी मरेको देख्दा र रातभर शब त्यसै राख्दा झनै डर लाग्यो,’ उनले भने ।

जन्डिसले थलिएपछि ती बिरामीलाई छिमेकीले ल्याएर अस्पताल भर्ना गरेका थिए ।

मृत्यु भइसकेपछि कोही पनि आएका छैनन् । ‘मेरा बच्चाहरु स्कुल गए कि गएनन्रटिफिन के लगे होलान्’ भनेर कराइरहने गरेको अन्य बिरामीले सुनाए ।

अस्पतालका निर्देशक स्वयम प्रकाश पण्डित यस्ता बेवारिसे शवलाई समयमै व्यवस्थापन गर्न समस्या भएको बताए ।

‘अस्पतालमा शब घर छैन,’ उनले भने, ‘हामीले प्रहरीलाई खबर गरेपनि नआएपछि व्यवस्थापन गर्न गाह्रो परेको हो ।’

पोस्मार्टम गर्नुपर्ने शव टिचिङ अस्पताल पठाउँने गरेको उनले जानकारी दिए ।

अन्य बेबारिसे शवलाई महानगरपालिकाले व्यवस्थापन गर्ने गरेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

अस्पतालमा बिरामीको मृत्यु भएको देख्दा अन्य बिरामीलाई मनोबैज्ञानिक असर पर्ने भएपनि महानगरपालिका र प्रहरी चासो नदिँदा यस्ता शब अस्पतालमै राख्न वाध्य हुन परेको उनले बताए ।