२९ आश्विन २०८३, बिहिबार

सभासद पुत्रीको उदाहरणीय बिहे: न दाइजो, न त उपहार

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Unique-Marriage-Nepal

लक्ष्मी काफ्ले

झापा, २४ मंसिर । मंसिर महिना विवाहको मौसम छ । विवाहको चटारोले सबैलाई छोएको छ । सर–सामान किन्नेदेखि उपहार दिनका लागि बजारमा भीडभाड हुने गर्छ । आफ्नो गच्छे अनुसार गड्धुवा दिने र त्यसका लागि मेलोमेसो मिलाउने हतारो हुने गर्छ ।

तर, झापा आन्दोलनका अगुवा तथा नेकपा एमालेका सभासद मनकुमार गौतमले त्यस्तो उपहार दिने प्रचलन तोड्दै उपहार रहित छोरीको विवाह गरेका छन् । गौतमले आफ्नी छोरीलाई उपहारको रुपमा एकसरो कपडामात्र दिएका छन् ।

आज बिर्तामोडको अग्रसेन भवनमा सम्पन्न विवाहमा उपस्थित सबै उपहारबिनै आएका थिए । उनीहरुले बेहुलाबेहुलीलाई उपहार दिएनन्, टिका लगाएर दक्षिणा मात्र दिए ।

विवाहमा पुगेका झापा क्षेत्र नम्बर २ का निर्वाचित सभासद् शुधिरकुमार शिवाकोटीलाई सभासद गौतमको यो निर्णय मन परेको छ । सधैं विवाहमा जाँदा उपहार लिएर जानुपरिरहेको सम्झना गर्दै उनी भन्छन्, ‘उपहार दिन नसक्नेहरुलाई पनि विवाहमा आउन सजिलो भएको छ । यो राम्रो प्रयास हो ।’

१७ वर्षसम्म जेलनेल व्यहोरेका सभासद गौतमको यो प्रयासलाई सकारात्मक ठान्ने अर्का सभासद् दिपक कार्कीसमेत यसको अनुसरण गर्नुपर्ने धारणा राख्छन् । यो विवाहले राम्रो सन्देश दिने उनको बुझाइ छ । आम समूदायलाई उपहार दिने परम्परा तोड्नुपर्ने उनको भनाई छ ।

कसैको विवाहमा जानुपर्दा उपहार लानैपर्ने वाध्यताले नसक्नेलाई बोझ भईरहेको हुन्छ । सक्नेले त जे पनि देलान्, तर दिन नसक्नेलाई त पीडा हुन्छ । सभासद गौतमका छिमेकीसमेत रहेका झापाका निर्माण व्यवसायी शेरबहादुर थापा सभासदको यो कदमलाई परिवर्तनको द्यौतक मान्छन् । सभासदले विवाहमा उपहार दिनु हुँदैन भनने नियम बसाल्न खोज्नु अत्यन्तै राम्रो भएको उनी बताउँछन् ।

सभासद गौतमको यो कार्य जन्तीलाई पनि मन परेछ । जन्ती आएका कनकाई नगरपालिका तेजप्रसाद भेट्वाल भन्छन्, ‘उपहारबिना भनेर निमन्त्रण दिनु नै समाज परिवर्तन गर्न सभासद लाग्नु भएको मैले बुझेको छु ।’

जो अगुवा हुन्छ, उसैले बाटो देखाउनुपर्ने हुन्छ । त्यसमा पनि संविधान निर्माणमा जुटेका व्यक्तिले त नयाँ संस्कार दिनुपर्ने हुन्छ । सभासद गौतमको यो नयाँ कदमलाई सबैले आत्मसात गर्ने पो हो कि ?