२९ आश्विन २०८३, बिहिबार

दाङका गुन्डा नाइके प्रहरीको मोस्टवान्टेड सूचीमा, सिडिओ र एसपी हटाउन खुमबहादुर सक्रिय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bikash-Pun-Don-Dang

गणेश आचार्य

दाङ, २४ मंसिर । राप्ती अन्चलमा एकछत्र राज चलाइरहेका गुन्डा नाइके विकास पुनको खोजी दाङ प्रहरीले तीव्र पारेको छ ।

दाङमा खिनुप्रसाद आचार्य प्रहरी प्रमुख भएर आएपछि उनका नाममा सूचनानै जारी गरी प्रहरीले खोजी तीव्र पारेको हो । विकासका नाममा फोटोसहित सार्वजनिक सूचना जारी गरिएको यो पहिलोपटक हो । विधिन्न अपराधकर्ममा मुछिएका विकासलाई अहिले उनकै ग्याङबाट फुटेको बाबु पुनको समूहका हेमन्त कार्कीमाथि २०७० साल चैत ५ गते गोली हानेको अभियोग छ । यसअघिपनि उनिमाथि ज्यान मार्ने उद्योग,हातहतियार खरखजना, सार्वजनिक अपराध लगायतका धेरै मुद्दा लागिसकेका छन् । उनले दाङको घोराहीलाई केन्द्र बनाएर सिंगो राप्ती अन्चलमानै गुन्डागर्दी गर्दै आएका छन् । उनले विशेषगरि टेन्डर कब्जा गर्ने र व्यवसायीबाट रकम असुल्ने कार्यमा संलग्न रहेको दाङ प्रहरी बताउँछ । उनीसँगै प्रहरीले हेमन्तलाई गोली हानेको अभियोगमा उनका सहयोगी त्रिशक्ति घर्ती मगर, अम्मर रोका मगर र गणेश भनेर चिनिने जगत पुन मगरलाई पनि मोस्टवान्टेड सुचीमा राखेको छ ।

दाङ प्रहरी प्रमुख खिनुप्रसाद आचार्यले उनीहरूलाई प्रहरीले कानुनी दायरामा ल्याएरै छोड्ने बताएका छन् । उनले भने, ‘प्रहरीले अपराध नियन्त्रण गर्ने हो, विकास र उसका सहयोगीलाई पनि अदालतमा उभ्याउँछु ।’

कसको संरक्षण छ विकासलाई ?

पहिले वाइसीएल भएर माओवादीको आडमा गुन्डागर्दी थालेका उनी आजभोली काँग्रेस निकट छन् । दाङ निर्माण व्यवसायी संघका महासचिव समेत रहेका विकास अहिले काँग्रेस नेता खुमबहादुर खड्काको संरक्षणमा छन् । निर्माण व्यवसायी संघ दाङका अध्यक्ष बलिभद्र रानाको समेत उनलाई संरक्षण रहेको बताइन्छ । राना शाहिकालका मेयर हुन । उनी अहिले काँग्रेसमा प्रवेश गरेका छन् । स्थानीयस्तरमा प्रहरीसँग राम्रो हेलमेल भएका राणाले विकासलाई खुमबहादुरसँग नजिक बनाएको उनी निकटहरू बताउँछन् । अहिले कहाँ छन्, विकास ।

प्रहरीले सूचनानै जारी गरी खोजी तीव्र बनाउँदा काठमाडौ भागेका विकास आजभोलि भने दाङकै तुलसीपुर क्षेत्रमा लुकेर बसेको उनी निकटहरू बताउँछन् । विकास तुलसीपुरमा एक चल्तीका व्यवसायीको घरमा बस्ने गरेको बताइन्छ । उनका अन्य सहयोगी भने दाङकै हापुर रमना र रोल्पा बसेका छन् ।

सिडिओ र एसपीको सरूवा गराउने प्रयास

विकासलाई कानुनी रूपमा उन्मुक्ति दिनकालागि यहाँको एउटा शक्ति सिडिओ परशुराम अर्याल र एसपी खिनुप्रसाद आचार्यको सरूवा गराउने खेलमा लागेको छ । काँग्रेस दाङका एक नेताका अनुसार संविधानसभा चुनावमा काँग्रेस बनेका शाहिकालका मेयर बलिभद्र राना र नेपाल यातायात व्यवसायी महासँघका उपमहासचिव सुरेस हमाल सिडिओ र एसपीको सरूवा गराउन मरिमेटेर लागेका छन् । उनीहरू पूर्वगृहमन्त्री खुमबहादुर खड्कामार्फत सरूवाक‍ो गृहकार्य थालेका छन् । खड्काले सरूवा गराउन खोजेपनि गृह मन्त्रालय एमाले मातहत भएकाले सफल नभएको बताइएको छ । तर, खड्काको प्रयास भने जारी छ ।