२९ आश्विन २०८३, बिहिबार

सडक खोलेसँगै गाउँमा बजार विस्तार तीव्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bajura Districtबाजुरा, २४ मंसिर । बाजुरा जिल्लाका गाउँमा धमाधम सडक पुग्न थालेपछि गाउँमा बजार व्यवस्थापन हुन थालेका छन् ।

जिल्लाका ओटिचौर, कुललेवमाडौँ, पाण्डुसैन, ब्रह्मतोला र जुगाडा गाविसमा हाटबजार व्यवस्थापन गर्ने क्रम चलिरहेको छ ।

स्थानीय गाउँमा सडक पुग्दा एकातिर यातायातको सुविधा पुगेको छ भने अर्को तिर सामान सुपथ मूल्यमा आफ्नै गाउँमा खरिद गर्न पाइएको छ । यसले गर्दा गाउँमा उत्पादन भएका कृषि उपज वस्तुसमेत बजारमा पठाउन सहजता भएको आटिचौर गाविसका रणबहादुर ओलीले बताउनुभयो ।

उहाँले थप्नुभयो–“हामीले गाउँमा सामान नपाउँदा बेतालमाडौँ र आटिचौरको बजारसम्म जानुपर्ने समस्या थियो अहिले यहाँ बजार बनेपछि नुन, तेल, चामल किन्न समय बर्बाद गर्नुपर्ने समस्या टरेको छ ।”

आटिचौरको लमगाउँमा समेत हाटबजार व्यवस्थापनको तयारी भइरहेको आटिचौर गाविसका लालबहादुर खड्काले जानकारी दिनुभयो ।

जिल्लामा कृषि सडक बनेका कारण दुर्गममा निर्माण हुने योजनामा समेत सहजता आएको छ ।

सिमेन्ट, सरिया लगायतका समान ढुवानीमा सहजता हुने हुँदा सामानसमेत समयमा पुग्ने र अर्कोतिर सहुलियत रेटमा आउने भएका कारण हामीलाई सजिलो भएको आटिचौर गाविसमा रहेको दशरथ उच्चमाविका प्राचार्य कीर्तिबहादुर चन्दले बताउनुभयो ।

यसैबीच बाजुराका दक्षिणी गाविसमा धमाधम सडक काटेर सडक जोडिन लाग्दासमेत पूर्वीत्तर ११ गाविसको मुख्य बजार रहेको कोल्टीमा अहिलेसम्म सडक पुग्न नसक्दा जनताले पाउने यातायात सेवासमेत पाउन सकेका छैनन् ।

बाजुराबाट सडक नजोदिँदा गोत्री, वाई, जुकोट, साप्पाटा, जगन्नाथ गाविसका स्थानीयवासीले कालीकोटको सडक प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ ।

सडक नबन्दा त्यस क्षेत्रका ११ गाविसमा विकास निर्माणका काममा समेत महङ्गीले चुलिने र सडक सञ्जालसँग जोडिएको बारबिस र दुर्गमको बिच्छ्याँ गाविसमा समेत एकैनासको बजेट विनियोजन हुँदा काम हुनु नसकेको बिच्छ्याँ गाविसका अर्जुनबहादुर रोकायाले बताउनुभयो ।