काठमाडौं, २४ मंसिर । पछिल्लो समय बढेका अपराधले नेपाली समाज क्रूर र निर्दयी हुँदै गएको देखाएको छ ।
नजिकका आफन्तबाट नै हत्या र बलात्कारका घटना बढ्न थालेका छन् ।
काठमाडौंको डल्लुमा सोमबार दिउँसो अत्यन्तै क्रूर तरिकाले एक युवकले एक वृद्दाको हत्या गरेका छन् ।
प्रहरीका अनुसार काभ्रे घर भई डल्लु बस्दै आएका छिरिङ लामाले योजनाबद्द रुपमा पशुलाई जस्तै गरी हजुरआमा दामु तामाङको घाँटी काटेर हातमा टाउको बोकेर हिँडेका हुन् ।
उपचारका लागि काठमाडौं आएकी दामुले आफूलाई ठूला आँखा बनाएर हेर्ने गरेको र भूतजस्तै लाग्ने गरेकाले त्यसरी हत्या गरेको छिरिङले बयान दिएका छन् ।
डल्लु घटनाको २४ घन्टा नबित्दै उदयपुरमा मंगलबार बिहान यस्तै घटना भयो सामान्य विवादमा उदयपुर बेल्टारका कमानसिंह राईले बाँसको चिर्पटले टाउकोमा हानेर हजुरआमाको हत्या गरेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
प्रहरीले मोरङमा आफ्नै श्रीमान्को हत्या गर्न लगाउने देउमाया कटवाललाई सोमबार पक्राउ गरेको छ ।
सम्पत्तिको लोभमा उनले अपराधीलाई ५० हजार रुपैयाँ दिएर श्रीमानको हत्या गर्न लगाएको अनुसन्धानपछि खुलेको छ ।
मोरङमै आइतबार एक व्यक्तिले छोराछोरीलाई रुखमा झुन्ड्याएर हत्या गरेपछि आफैंले आत्महत्या गरेका थिए ।
प्रहरीका अनुसार श्रीमतीले छाडेर गएपछि मोरङ बेलबारीका तालाजुन राईले यसरी छोराछोरीको हत्या गरी आत्महत्या गरेका थिए ।
काठमाडौंमा शनिबार अर्को क्रूर हत्या भएको थियो । साथीको बिहेमा जान हिँडेकी रितु महासेठको अन्धाधुन्ध रुपमा छुरा हानेर हत्या भएको थियो ।















प्रतिक्रिया