काठमाडौँ, २३ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक द्वन्द्वको चपेटामा लामो समय बिताउनु पर्दा नेपाली जनताहरुले कहालीलाग्दो गरी मानव अधिकार उलङ्घनका घटनाहरुको सामना गर्नुपरेको गुनासो गर्नुभएको छ ।
६६औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै उहाँले यस्तो गुनासो गर्नुभएको हो । ‘अहिले पनि हामी संक्रमणकालीन अवस्थामा छौं, कतिपय हाम्रा जनताहरु महिला हिंसा, बालश्रम शोषण, जातीय उत्पीडन लगायत गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगार जस्ता आधारभूत मानवीय आवश्यकताका चीजहरुबाट बञ्चित छन्,’ उहाँले विज्ञप्तिमा भन्नुभएको छ, ‘६६औं मानव अधिकार दिवसको यो अवसरमा हाम्रो देश नेपालमा नयाँ संविधान निर्माणसँगै दिगो शान्ति स्थापना गरी सम्पूर्ण रुपमा मानव अधिकारको संरक्षणको वातावरण बनाउन हामी सबैलाई पे्ररणा मिलोस् ।’
उहाँले मानव अधिकारको सन्दर्भमा विश्वभर अहिले पनि आतंकवाद प्रमुख चुनौतीको रुपमा रहेको स्मरण पनि गराउनु भएको छ । ‘विभिन्न देशहरुबीचका द्वन्द्व, कुनै पनि देश भित्रका आन्तरिक द्वन्द्व, राज्यबाट हुने अप्रजातान्त्रिक कृयाकलापका कारण सर्वसाधारण जनताहरु मानव अधिकारबाट बञ्चित हुन पुगेका छन्,’ उहाँले भन्नुभएको छ, ‘यसको ज्वलन्त उदाहरणको रुपमा राज्यको दमनको कारणले भुटानी शरणार्थीहरु हाम्रो देशको पूर्वी भागमा दयनीय जीवन बिताइरहेका छन् । अहिले बाध्य भएर तेश्रो मुलुक आप्रवासको क्रममा रहेका छन् ।’















प्रतिक्रिया