२९ आश्विन २०८३, बिहिबार

रामकृष्ण ढकाल र यम बराललाई भेटेपछि मोडिएको गोविन्द गुरुङको यात्रा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

govinda-Gurung

बैंकिङ र संगीत नितान्त फरक क्षेत्र हुन् । यी दुई क्षेत्रको कुनै तालमेल मिल्दैन । तर, गोबिन्द गुरुङ, जसले बैकिङ पेसासँगै संगीतको सुरतालमा हिडिरहेका छन् । गोविन्द गुरुङ पेसाले बैंकर हुन् । सिभिल बैंकका बरिष्ठ कार्यकारी अधिकृत गोविन्द भन्छन्, ‘रहर र इच्छा भए दुई फरक पाटालाई पनि अँगाल्न सकिँदोरहेछ । मेरो लागि अहिले त्यस्तै सावित भएको छ ।’

८ वर्षकै उमेरदेखि सोरठी र घाटु गाउन थालेका उनी आफूलाई गायक भन्नचाहिँ रुचाउँदैनन् । तीन एल्बम तथा ५० भन्दा बढी गीतका गायक गोविन्द भन्छन्, ‘पहिलो कुरा म बैंकर हुँ किनकि, मलाई बैंकर पेसाले बाँचेको छु । गीतसंगीत मेरो रहर र इच्छाभित्रका कुरा हुन् ।’ ०४८ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उतिर्ण गरेका गोविन्द भन्छन्, ‘संगीत मेरो पेसा नभएपनि निरन्तर लागिरहने छु । यस क्षेत्रमा लागेर रहर पूरा गर्न पाउँदा सन्तुष्टि छु ।’ गायनमा लाग्ने प्रेरणा भने कृष्ण गुरुङ, मानसिंह थुलुङ र कुबेर राईलाई मान्छन् उनी । यदि उनीहरुको प्रेरणा र हौसला नपाएको भए उनलाई आज बैकको जागिरेका रुपमा मात्र पाइन सकिन्थ्यो ।

औपचारिक वा अनौपचारिक रुपमा पनि जे भने पनि गोविन्दले बैंकिङ पेसाभन्दा अगाडि गायनै अँगालेका हुन् । त्यसैले उनी भन्छन्, ‘जेठो त गायन नै हो । तर आत्मनिर्भर बैंकिङ पेसाले बनाएको छ ।’ कुनै समय गायनलाई पेसा बनाउने सोचसमेत बनाएका गायक तथा बैंकर गोविन्द भन्छन्, ‘यदि रेडियो नेपालमा रामकृष्ण ढकाल र यम बराललाई नभेटेको भए गायनलाई पेसाकै रुपमा अँगाल्थे होला ।’ ०४८ सालमा रेडियो नेपाल जाँदा ढकाल र बराललाई गाइरहेको देखेपछि आफूलाई हिनताबोध भएर गायनलाई पेसाको रुपमा अँलाल्ने सोच ठाउँको ठाउँ खरानी भएको उनले बताए । ‘रामकृष्ण ढकाल र यम बरालले गाएको देख्दा एक्कासी मलाई हिनताबोध भएको थियो’, उनले भने, ‘त्यसपछि गायन मेरो लागि नभएर उहाँहरुलाई लागिरै’छ भनेर सानैदेखिको सोच परिवर्तन गरेँ ।’ गायनलाई पेसाको रुपमा नलिएर पनि उनी निरन्तर गीतसंगीत क्षेत्रमा छन् । हालैमात्र तेस्रो एल्बम ‘पल’ श्रोतालाई पस्केका गोविन्द भन्छन्, ‘बैंकिङ कार्यबाट निक्लेको फुर्सदलाई गीतसंगीत प्रयोग गर्दै आएको छु ।’

govinda-Gurung1

गोविन्दको ‘पल’ मा समेटिएका गीतहरु लोकप्रिय हुनेक्रममा छन् । उनी आफ्नो एल्बमप्रति सन्तुष्टि पनि छन् । गायक भन्छन्, ‘मिहिनेत गरेअनुसार पलका गीत श्रोताले मन पराइदिएका छन् ।’ बैंकको जागिरे भएकाले उनलाई रियाज गर्ने समयसमेत हुन्न । रकर्डिङ गर्नुअघि रियाज गर्नुबाहेक संगीत साधनामा समय दिन नपाएका उनी बताउँछन् । तर, उनले साधानाविनै गाएका गीतहरु कुनै पेसवर गायकको भन्द कम छैन । रामकृष्ण र यम बरालको स्वर सुनेर हिनताबोध गर्ने गोविन्दको स्वरमा श्रोताले जादू पाउन थालेका छन् । यसैको उदाहरण हो, ‘सपनीमा देखेकीलाई कहाँ पठाऊँ चिठ्ठी’ । दोस्रो एल्बम ‘परिचय’ मा समेटिएको यसै गीतले उनलाई गायकको पनि परिचय दिलाएको हो । गोविन्दको ‘वरपिपलको जोडीजस्तै सँगै रहौला है’ बोलको गीत श्रोताले अत्याधिक रुचाएका थिए ।

०५६ मा लोकगीति संग्रह ‘खुदी बजारमा’ ल्याएपछि औपचारिक रुपमा सांगीतिक क्षेत्रमा पाइला राखेका गोविन्दले ०६४ सालमा आधुनिक गीतिसंग्रह ‘परिचय’ स्रोतामाझ ल्याएका थिए । यहाँसम्म आइपुग्दा उनले गायनमै लाखौ रुपैयाँ लगानी गरिसकेका छन् । बैंकर भएकाले पनि उनले संगीतमा लागनी गरेको हिसाब किताब राख्दै आएका छन् । पहिलो एल्बम ल्याउँदा ७० हजार रुपैयाँ खर्च भएको बताउँदै उनले भने, ‘दोस्रो एल्बम परिचयमा ७ लाख ५३ हजार रुपैयाँ खर्च भएको थियो । र, यसपालि त हिसाब किताब नै भइसकेको छैन । साढे ९ लाख रुपैयाँ माथि पुग्छ होला भन्ने अनुमान छ ।’ तर, संगीतका यतिका रुपैयाँ खर्चेर पनि उनी सन्तुष्टि नै छन् । उनको तेस्रो गीतिसंग्रह ‘पल’ मा ९ ओटा गीत छन्, जसका ६ ओटा गीतको रचना र संगीत पनि उनैले गरेका हुन् । बाँकी ३ गीतको रचना निर्देशक तुलसी घिमिरे, ललिजन रावल र राजु थापाले गरेका छन् । (एमपी सुब्बा)