काठमाडौं, २३ मंसिर । संविधानसभाको बैठक आजका लागि बोलाइएको छ ।
संविधानसभा व्यवस्थापिका–संसद् सचिवालयले आज दिउँसो ३ बजेका लागि संविधानसभाको बैठक बोलाइएको जानकारी दिएको छ ।
गत कात्तिक ४ गते बसेको बैठक कार्यसूचीको अभावमा अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।
संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले यही मङ्सिर १९ गते संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई समितिको प्रतिवेदन बुझाउनुभएपछि संविधानसभाको बैठकको मिति तय गरिएको थियो ।
प्रमुख दलहरूबीच संविधानका आधारभूत विषयमा सहमति हुन नसकेका कारण सम्वाद समितिले प्रतिवेदन बुझाउन नसक्दा बैठक बोलाउन समस्या पर्दै आएको थियो ।
कार्यसूचीको अभावमा बैठक बस्न नसकेको स्थितिमा सम्वाद समितिले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न बैठक बोलाइएको संविधानसभाका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।
दलहरूबीच सहमति नहुँदा संविधान निर्माणको कार्यतालिका समेत प्रभावित हुँदै आएको छ ।















प्रतिक्रिया