काठमाडौं, २३ मंसिर । भारतको कोलकातामा भएको २३ औँ अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालले सोमबार १३ स्वर्णपदक हात पारेको छ ।
प्रतियोगितामा नेपालका निखिल केसी र रमिला नगरकोटीले काता र कुमुतेमा गरी दोहोरो स्वर्ण जिते ।
त्यस्तै कातातर्फ विजय बस्नेत, विशाल गोले, सुस्मिता लामा र प्रदीप थुलुङले नेपाललाई थप स्वर्णपदक दिलाएको नेपाल सोतोकान कराते डो सङ्घकी कोषाध्यक्ष ममिता श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी कुमुतेमा सरोज दाहाल, विनोद रोका, सुशान्त मोडक, सिया भण्डारी र निरजकुमार श्रेष्ठले पनि नेपाललाई स्वर्ण दिलाएका छन् ।
सोही प्रतियोगितामा नेपालले थप नौ रजत र ११ कास्यपदकसमेत प्राप्त गरे ।
कातातर्फ सिया भण्डारी, निरजकुमार श्रेष्ठ, कुसुम तामाङ र लक्ष्मी दुलालले रजत प्राप्त गरे ।
निरजकुमार श्रेष्ठ, आसिया भण्डारी र रमिला नगरकोटीले मिक्स टिम कातामा रजत हात पारे । कुमुतेतर्फ भने विकास तामाङ र रुपा नापितले रजत हात पारे ।
त्यस्तै कातातर्फ शिव केसी र विकास तामाङले कास्यपदक जिते भने कुमुतेमा शिव केसी, सुजना तामाङ, विजय क्षेत्री, कुसुम तामाङ, सुशीला मोक्तान, मनोज थापा मगर, विवश निरौला, सुमन डंगाल र विजय घलेले कास्य प्राप्त गरे ।
शारीरिक सुगठनमा विमललालले रजत जिते
भारतको मुम्बईमा जारी छैटौँ विश्व शारीरिक सुगठन प्रतियोगिताअन्तर्गत फिट्नेस फिजिक्समा नेपालका विमललाल श्रेष्ठले रजत जितेका छन् ।
उनले पुरुषतर्फ १७० सेन्टी मिटर उचाइसम्मको स्पर्धामा रजत जितेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घका महासचिव दिनेश राजभण्डारीले जानकारी दिनुभयो ।
विमललालले प्रतिस्पर्धा गरेको स्पर्धामा ७ खेलाडीले सहभागिता जनाएको बताइएको छ ।
नेपाली शारीरिक सुगठनको इतिहासमा नेपालले फिट्नेस फिजिक्समा पहिलोपल्ट सहभागिता जनाएको हो ।













प्रतिक्रिया