काठमाडौं, २२ मंसिर । कांग्रेसले बागलुङ क्षेत्र नं १ का निर्वाचित सभासद् हरिबहादुर खड्काको आइतबार राति निधन भएकोमा शोक प्रकट गरेको छ ।
खड्काको निधनबाट पार्टी तथा सिङ्गो लोकतान्त्रिक आन्दोलनको अभियानमा नै अपूरणीय क्षति पुग्न गएको आज जारी विज्ञप्तिमा उल्लेख छ ।
दुःखको यस घडीमा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा कांग्रेसले समवेदना प्रकट गरेको छ ।
खड्काप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा पार्थिव शरीरलाई राखिएको थियो ।
बागलुङ जिल्ला कालिका नगरपालिका–१ निवासी ५० वर्षीय खड्का मङ्सिर १७ गते बागलुङ पैंयूपाटामा आयोजित धार्मिक कार्यक्रममा जाने क्रममा सवारी दुर्घटनामा गम्भीर घाइते भएका थिए ।
यसैबीच कांग्रेसले सभासद खड्काको निधनमा शोक मनाउन भोलि एक दिन केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ ।
आज बसेको आकस्मिक केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको झण्डा भोलि एक दिन आधा झुकाउने निर्णय पनि गरेको छ ।
यसैबीच, दुर्घटनाको छानविन गर्न कांग्रेसले प्रवक्ता दिलेन्द्र बडूको संयोजकत्वमा तीन सदस्सीय छानविन समिति गठन गरेको छ ।
समितिका सदस्यहरुमा रोमी गौचन थकाली र कमल पंगेनी सदस्य छन् ।
त्यसै गरी कांग्रेसले भोलिका लागि बोलाइको केन्द्रीय समितिको बैठक स्थगित गरेको छ । बैठक अर्को दिन बस्ने जनाइएको छ ।















प्रतिक्रिया