काठमाडौं, २२ मंसिर । इलाम साँखेजुङ–७ घर भई हाल बत्तीसपुतलीस्थित राममन्दिर नजिकै कोठा भाडामा बस्ने खिममाया शिवा (परियार) लाई दलित भएकै कारण कोठाबाट निकालिएको छ ।
सुरुमा जात नसोधिएपनि कोठा सरेको चार दिनपछि जात सोधेर शिवा जातिको भन्ने थाहा भएपछि बत्तीसपुतलीस्थित राममन्दिर नजिकै घर नं. ११९/४३ का स्थानीय ध्रुवराज लामिछानेले तत्काल कोठा छोड्न दबाब दिएका हुन् ।
पीडित खिममायाले भनिन्, ‘म सुरुमा कोठा सर्दा शिवा भनेको सिवाकोटी भन्ने बुझेर कोठा सर्न दिइयो तर पछि शिवा भनेको परियार भन्ने जानकारी भएपछि तत्कालै कोठा सर्न दबमब दिइयो र कोठा सर्न बाध्य पारियो ।’
आफूसँग घरबेटीले शिवा भनेको के थर हो ? साधेपछि त्यसको उत्तरमा शिवा भनेको परियार (दलित) हो भन्नेबित्तिकै तत्काल कोठा खोजेर सर्न दबाब दिएको खिममायाको भनाइ छ ।
पीडित खिममायाले आइतबार जातीय भेद्भाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ अनुसार आफूमाथि जातिय विभेद भएको भन्दै महानगरीय प्रहरी वृत्त गौशालामा उजुरी दिएकी छन् ।
प्रहरीको छानबिनपछि पीडक लामिछानेले ‘जातीय विभेद भएकामा माफी माग्छु । आगामी दिनमा जातीय भेदभाव तथा छुवाछूत नगर्ने र गरेमा कानुन अनुसार सजाय भोग्न तयार छु’ भनि माफी मागेरसहमति गरिएको छ ।
बत्तीसपुतलीमा चिया पसल गरेर बस्ने खिममायाले मंसिर १० गते लामिछानेको घरमा मासिक छ हजारमा दुईवटा कोठा भाडामा लिएर बसेकी थिइन् ।
खिममायाले भनिन्, ‘जात थाहा नपाउनजेल अरुलाई सात हजार भन्ने कोठा मलाई छ हजारमा दिनुभयो, तर जात थाहा पाएपछि दश दिन बसेको भाडा दिन पर्दैन बरु कोठा सर्नका लागि गाडी भाडास्वरूप तीन हजार दिन्छु भन्नुभयो घरबेटीले ।’
जातीय भोदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८ आइसकेपछि जातकै कारण कोठाबाट निकालिएकी खिममाया शिवा उदाहरण मात्र हुन् ।
‘दलित अधिकारकर्मी गणेश विकले भने, ‘पहिलो त कोठा खोज्न जाँदा नै कुन जातिको भनेर सोध्ने गरिन्छ, दोस्रो यदि जात डाँटेर बसियो भने पनि पछि थाहा पाएपछि कोठाबाट निकाल्ने घट्नाहरू बढ्दै गएको छ ।’
जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी उजुरी प्रहरीले लिन नमान्ने यही उजुरी लिए पनि सो उजुरीलाई कानुनी प्रक्रियामा अगाडि बढाउनुको सट्टा मिलापत्रमै सीमित गरिँदै आएको उनको भनाइ छ ।
मध्यबानेश्वर कोठा भाडामा बस्दै आएकी सञ्चारकर्मी कमला विश्वकर्मालाई गत भदौ ३ गते दलित भएकै कारण कोठाबाट निकालिएको थियो । त्यसबेला १० हजार जरिवानासहित घरबेटीले अबका दिनमा जातीय भेदभाव तथा छुवाछूत नगर्ने भनी माफी मागेका थिए ।
छुवाछूत ऐन, २०६८ को दफा ४ को उपदफा–२ (क) र (ख) मा कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, जात, वंश, समुदाय वा पेसाका आधारमा सो दफाबमोजिमको काम गरे वा गराएमा जातीय भेदभाव वा छुवाछूत गरेको मानिने भनी उल्लेख गरिए पनि धेरैजसो छुवाछूतका घटनालाई मिलापत्रमै सिमित गरिन्छ ।
ऐन लागू भएको तिन वर्षमा मुलुकका विभिन्न स्थानमा दलित भएकै कारण भाडा तिरेर पनि कोठा छोड्नु पर्ने, चुलो छोएको निहुँमा, पानी छाइएको निहुँमा वा अन्तरजातीय विवाह गरेका दर्जनौं दलितहरू विस्तापित हुनु परेको छ ।
पछिल्लोपटक यही मङ्सिरमा काभ्रे देवीटारकी २० वर्षिया कल्पना रिजाल विकको श्रीमानले जात थाहा पाएपछि विवाह गरेको दिनदिनमा सम्बन्धबिच्छेद गरेका छन् ।
श्रीमान सन्तोष आचार्यविरुद्ध न्यायका निम्ति पीडित विकले जिल्ला प्रहरी कार्यालय काभ्रेमा उजुरी दिएकी छन् ।















प्रतिक्रिया