काठमाडौं, २२ मंसिर । एमाओवादीले अगुवाई गरेको २० दलीय विपक्षी गठबन्धन मोर्चामा खट्पट सुरु भएको छ ।
राष्ट्रिय सहमतिको सरकारको गृहकार्य भइरहेकै बेला संसदमा प्रतिनिधित्व गर्ने विपक्षी नेताले गठबन्धनप्रति असन्तुष्टि पोखेका हुन् ।
गठबन्धनको साझा धारणा तय गर्न आइतबार बोलाइएको बैठकमा साना ५ दल अनुपस्थित भए भने सहभागी केही नेताले समेत मोर्चाबन्दीको औचित्यमाथि प्रश्न उठाएका थिए ।
खासगरी साना दलहरुबीच भएको खटपटकै कारण आइतवार सार्वजनिक गर्ने भनिएको साझा धारणा समेत रोकिएको छ ।
‘संविधानका अन्तर्वस्तुमा छलफल हुने गरी मोर्चा बन्नुपथ्र्यो । त्यसविपरित सडक आन्दोलनमा जाने सम्मको कार्यक्रममा जान लागेपछि हामी नबस्ने भएका हौु’, मोर्चामा आवद्ध नेपाल परिवार दलका सभासद एकनाथ ढकालले भने ।
मोर्चाबन्दी गरी आन्दोलनमा जादा माघ ८ मा संविधान जारी गर्ने काममा बाधा पुग्ने ठानी अलग भएको उनले बताएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
बैठकअघि नै ढकालले आफूहरुको निर्णयबारे एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईलाई टेलिफोन गरी जानकारी दिएका थिए ।
परिवार दल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टीसहितका नेताहरु बैठकमा सहभागी भएनन् ।
मोर्चामा आवद्ध मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव पनि अनुपस्थित थिए ।
तर, पार्टीबाट उनले सभासद शिवजी यादवलाई पठाई पार्टीको धारणा राख्न लगाएका थिए ।
‘विभिन्न कारणले मोर्चाको अवधारणा सार्वजनिक हुन सकेन । मोर्चाको आवश्यकता र औचित्यबारे दलहरुबीच गहन छलफल गर्नुपर्ने भएकाले समय लागेको हो’, फोरमका सभासद यादवले भने ।
उनले आइतबारको बैठकमा १५ वटा दलको प्रतिनिधित्व रहेको जानकारी समेत दिए ।
बैठकमा नेपाली जनता दलका सभासद हरिचरण साहले साना दलहरुका अडानलाई समेट्न नसकेको भन्दै आफूहरु पनि नबस्न सक्ने चेतावनी दिएको सहभागी एक नेताले जानकारी दिए ।
संविधान निर्माणका विषयमा सत्तारुढ दल भन्दा बाहिर रही साझा अभियान र अवधारणा अघि सार्न एमाओवादीको नेतृत्वमा संसदभित्र रहेका २० दलको मोर्चा बनेको थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका केही नेतासहितले संविधान जारी गर्नु अघि राष्ट्रिय सहमतिको सरकार हुनुपर्ने अडान राखेसँगै विपक्षी गठबन्धन प्रभावित हुन लागेको हो ।
मोर्चाले आफूहरुको साझा मत बनाउन एमाओवादी नेता कृष्णबहादुर महराको संयोजकत्वमा हृदयस त्रिपाठी, रामकुमार राई, प्रेमबहादुर सिंह र रानी शर्मा तिवारी रहेको कार्यदलसमेत बनेको थियो ।
सोही कार्यदलले तयार बनाएको साझा धारणामाथि विवाद बढेको हो ।
मधेसी मोर्चामा गच्छदार
यता, ‘संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा’ले मधेसको ठूलो दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदारलाई संयोजक तोकेको छ ।
फोरम लोकतान्त्रिकको संसदीय दलमा आइतबार बसेको मोर्चाको पहिलो वैठकले गच्छदारलाई संयोजकको जिम्मेवारी दिएको हो ।
यद्यपी कति समय उनी संयोजक रहने हुन् त्यो भने तोकिएको छैन ।
जो संयोजक छ उसैको पार्टी कार्यालय वा संसदीय कार्यालयमा वैठक बस्ने निधोसमेत वैठकले गरेको छ ।
मोर्चाको अवधारणा, संगठन संचरना, कार्यविधी, सञ्चालन विधि र आचारसंहिता तयार गर्न मोर्चाआवद्ध ६ वटै पार्टीका दोस्रो तहका नेता आवद्ध कार्यदलले चक्रिय प्रणाली (आलोपालो)का आधारमा मोर्चाको नेतृत्व गर्ने प्रस्ताव गरेको थियो ।
फोरम लोकतान्त्रिकपछिको दोस्रो तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुर मोर्चाको संयोजक रहनेछन् ।
त्यसपछि फोरम नेपाल अध्यक्ष उपेन्द्र यादव अनि क्रमानुसार सद्भावना अध्यक्ष राजेन्द्र महतो, तमसपा अध्यक्ष महेन्द्र राय यादब र रामसपा अध्यक्ष शरतसंह भण्डारी संयोजक हुनेछन् ।
सद्भावना अध्यक्ष महतोका अनुसार अध्यक्षसहितको समानुपातिक प्रतिनिधित्व हुने गरी अलग्गै संयोजन समिति पनि बनाइनेछ ।
त्यसलाई जिल्ला तहमासमेत विस्तार गर्न सकिने कार्यदलको प्रस्तावलाई आइतबारको मोर्चाको वैठकले स्विकृत गरेको छ ।
वैठकमा राजकिशोर यादब नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिक र अनिल झा नेतृत्वको संघीय सद्भावनालाई पनि मोर्चामा सहभागी गराउनुपर्ने सद्भावना अध्यक्ष महतोको प्रस्तावलाई फोरम नेपालबाट सहभागी प्रमुख सचेतक शिवजीप्रसाद यादबले अस्विकार गरेका थिए ।
आइतबारको वैठकमा फोरम लोकतान्त्रिक अध्यक्ष गच्छदार, तमलोपा अध्यक्ष ठाकुर, रामसपा अध्यक्ष भण्डारी र सद्भावना अध्यक्ष महतो सहभागी भए पनि फोरम नेपालका अध्यक्ष उपेन्द्र र तमसपा अध्यक्ष महेन्द्र सहभागी थिएनन् ।
फोरमबाट प्रमुख सचेतक यादब र तमसपाबाट उपाध्यक्ष रानी शर्मा तिवारी थिए ।















प्रतिक्रिया