१ कार्तिक २०८३, शनिबार

‘माघ ८ अघि सरकार परिवर्तन होइन, विस्तार मात्रै’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-Oliकाठमाडौं, २१ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओलीले माघ ८ अघि सरकार परिवर्तन नभई अहिलेकै सरकारलाई बिस्तार गर्न चाहेको बताएका छन् ।

संविधान जारी गरी त्यसको सहज कार्यान्वयनका लागि यो प्रस्ताव विपक्षी दलहरुसँग राखेको उनले स्पष्ट गरे ।

‘मेरो कुराले प्रधानमन्त्री पनि कता कता झस्किनु भएछ । अहिले सरकार परिवर्तन होइन बिस्तार गर्ने हो,’ अध्यक्ष ओलीले शनिबार भने, ‘संविधान जारी गरेर मात्र हुदैन, त्यसको सहज कार्यान्वयन हुने वातावरण पनि चाहिन्छ ।’

माघ ८ पछि भने काग्रेस एमालेको पूर्वसहमति र तत्कालिन परिस्थितिअनुसार अघि बढ्ने ओलीले उल्लेख गरे ।

सरकारको नेतृत्व लिन खोजेको हो भन्ने जिज्ञाशामा ओलीले अहिले संविधानमा मात्र ध्यान दिइरहेको जवाफ दिए ।

एमालेले राष्ट्रिय सहमतिको सरकार बनाउने भन्दै केही दिनदेखि एमाओवादी र मधेसी मोर्चामा आबद्घ दलहरुलाई सरकारमा सहभागीताका लागि प्रस्ताव गरिरहेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

ओलीले मधेसी मोर्चाका नेताहरुसंग संयुक्त र छुट्टै भेटिरहेका छन् ।

शुक्रबार मधेसी मोर्चाका सबै नेताहरुसंग आफ्नै निवासमा दिवाभोजसहितको छलफल गरेका ओलीले शनिबार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारसँग साढे दुई घण्टा एक्लै कुराकानी गरे ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईसँग पनि उनले एक्ला-एक्लै कुराकानी जारी राखेका छन् ।

अध्यक्ष ओलीले माघ ८ मा संविधान जारी नभए संविधान विरोधीको मनोबल बढ्ने र स्थिति झन् भयावह हुने आंकलन गरे ।

संविधानका पक्षधरको मनोबल उच्च राख्न र आन्दोलनका उपलब्धीहरु संस्थागत गर्न पनि संविधान समयै जारी हुनु आवश्यक रहेको ओलीको जोड थियो ।

यसका लागि संघीयतालगायतका जटिल विषयलाई थाती राखेर भए पनि संविधान जारी गर्न सकिने विकल्प उनले अघि सारे ।