काठमाडौँ, १९ मंसिर । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो दल आठ प्रदेश बनाउँने कुरामा सकारात्मक रहेको बताउनु भएको छ ।
प्रेस चौतारी नेपाल काठमाडौँले शुक्रबार राजधानीमा आयोजना गरेको ‘संविधान निर्माणमा देखिएका चुनौति’ विषयक अन्तरक्रियामा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । ‘आगामी संविधानमा आठ प्रदेश वनाउँने कुरामा व्यक्तिगत रुपमा म मेरो पार्टी नेकपा एमाले र नेपाली काँग्रेस पनि सहमत छ,’ उहाँले भन्नुभयो, ‘तर जातिय प्रदेश बनाउँने कुरामा जुगाँको लडाई लड्ने हो भने यसमा मञ्जुर छैन ।’
उहाँले एमाओवादी अध्यक्ष प्रचण्डप्रति संकेत गर्दै जुगाँको लडाई लड्ने हो भने प्रचण्डका मोटा जुगाँ भएको र उहाँले नै जित्ने बताउनुभयो । ‘हामीले साझा पहिचानसहित र सामथ्र्यको आधारमा प्रदेश विभाजन हुनुपर्छ भनेका छौँ, हुने पनि यही हो,’ उहाँले भन्नुभयो ।
कार्यक्रममा बोल्दै नेपालले सरकार गठनको हल्लालाई बेमौसमी बाजाको संकेत गर्नुभयो । ‘सरकारमा नभएका दलहरुलाई सरकारमा जाने रहर हो भने बेग्लै कुरा होइन भने अहिले सरकार गठन र विघटनको मुद्धामा अल्झिने समय छैन,’ उहाँले भन्नुभयो, ‘पहिला संविधान जारी गर्ने हो त्यसपछि अरु सोचौला ।’
माघ ८ गते सम्ममा संविधानको साझा मस्यौदा नै नआउने हो कि भन्ने चिन्ता व्यक्त गर्दै नेपालले त्यो बेलासम्म साझा मस्यौदा मात्र ल्याउन सके पनि ठूलो उपलव्धी हुने बताउनुभयो । त्यसैगरी उहाँले तत्कालै स्थानीय निकायका निर्वाचन घोषणा गर्न प्रधानमन्त्रीसँग आग्रह पनि गर्नुभयो ।
स्थानीय निकायको निर्वाचन नहुदाँ विकास निर्माणको काम व्यक्तिको पकेटमा गएको भन्दै निर्वाचन घोषणा गर्न नसकेर प्रधानमन्त्रीले नलायकी काम गरेको आरोप लगाउनुभयो ।















प्रतिक्रिया