इलाम, १८ मंसिर । फरक क्षमता भएका व्यक्तिले सरकारले अपाङ्गता क्षेत्रमा देखिएका समस्या समाधान गरी हरेक क्षेत्रमा १० प्रतिशत आरक्षणको व्यवस्था गर्न माग गरेका छन् ।
‘दिगो विकासका लागि प्रविधि प्रतिबद्धता’ भन्ने मूल नाराका साथ बुधबार इलाममा आयोजित २३औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा उनीहरूले अब बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुनुपर्नेमा समेत जोड दिएका छन् ।
कार्यक्रममा नेपाल नेत्रहीन सङ्घ इलामका अध्यक्ष पदम सुब्बाले अहिले पनि सरकारी कार्यालयमा कुनै काम लिएर जाँदा पनि फरक क्षमता भएका व्यक्तिलाई शौचालय जान मुख्य समस्या हुने गरेको बताउनुभयो ।
सरकारी कार्यालयमा अपाङ्गका कुरा सुन्ने र बुझ्ने कर्मचारी हुँदैनन्, प्रत्येक कार्यालयमा एक साङ्केतिक भाषा बोल्ने कर्मचारीको व्यवस्था गर्न सके मात्र फरक क्षमता भएका व्यक्तिले कार्यालयमा आउँदा सेवा पाउने सुब्बाले बताउनुभयो ।
सभासद् सुजता परियारले आगामी बन्ने संविधानमा अपाङ्गता भएका व्यक्तिहरूको समस्या समाधान हुने गरी सम्बोधन गरिने बताउनुभयो ।
राष्ट्रिय अपाङ्ग महासङ्घ जिल्ला च्याप्टर इलामका अध्यक्ष प्रकाश थापाको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभाका सभासद् केशव थापा, जिल्लास्थित राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल, महिला बालबालिका कार्यालयकी प्रमुख मेरिना श्रेष्ठलगायतले अपाङ्गता भएका व्यक्तिलाई राज्यले विशेष व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।















प्रतिक्रिया