काठमाडौं, १८ मंसिर । सडकमा सवारी साधनको ठक्करबाट घाइते हुँदा ठक्कर दिने साधनको धनीले घाइतेको उपचार गरिदिनुपर्छ।
यही नियमलाई पालना गर्न सार्वजनिक यातायातका धनीहरु मिलेर कोश नै खडा गरेका हुन्छन्।
निजीको भने व्यक्तिगत रुपमै खर्च व्यहोर्ने चलन छ।
तर दुर्घटना हुँदा पीडितलाई न्यायका लागि पहल गर्ने निकाय प्रहरीको गाडीले नै कसैलाई ठक्कर दियो भने त घाइतेले झन् बेलैमा उपचार पाउनुपर्ने हो।
तर कास्की प्रहरीको गाडीले ठक्कर दिएर दुई युवा भने उपचार नपाएर वितारा परेको समाचार आजको नागरिक दैनिकले छापेको छ ।
जिल्ला शिक्षा कार्यालयमा विद्यार्थीले आन्दोलन मच्चाएकाले त्यसलाई मत्थर पार्न हिँडेका प्रहरी बोकेको भ्यानको ठक्करले मोटरसाइकल चलाइरहेका हुमबहादुर गाहामगर र कमल थापामगर घाइते भएका थिए।
गाडीको ठक्करले दुवैको देब्रेखुट्टा भाँच्चिएको छ भने थापाको हात पनि भाँच्चिएको छ।
उनीहरु दुवै घाइते हुनासाथै प्रहरीले मणिपाल अस्पताल भर्ना गरेको थियो। प्रहरीले पनि खर्च नदिएको र आफूसँग पनि आर्थिक अभाव भएकाले उनीहरु उपचार नगरी ५ दिनसम्म त्यही अस्पतालको बेडमा छटपटिइरहे।
प्रहरीले मणिपाललाई अनुरोध गरेर निशुल्क उपचार मिलाउने आश्वासन दिएको थियो।
तर आश्वासन पूरा नभएपछि उनीहरु मंगलबारदेखि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल सरेका छन्।
त्यहाँ पनि बुधबारसम्म उनीहरुको अप्रेसन भएन।















प्रतिक्रिया